पार्टी फेरेर उम्मेदवारी

  • असोज २७, २०७९

बागलुङ — गत स्थानीय निर्वाचनमा गलकोट नगर प्रमुखको टिकट नपाएर कांग्रेसबाट बागी उठेकी मञ्जु शर्मा चालिसे अहिले एमालेबाट बागलुङ क्षेत्र–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् । चालिसे गत साउनमा एमाले प्रवेश गरेकी हुन् । त्यसअघि चालिसे कांग्रेस महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिकी निर्वाचित सदस्य थिइन् ।

कांग्रेसका निर्वतमान जिल्ला सचिव नवराज पौडेल जैमिनी नगर प्रमुखमा टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए । अहिले एमाले प्रवेश गरी उनी प्रदेशतर्फ क्षेत्र–१ (२) बाट चुनावी मैदानमा होमिएका छन् । एमालेले उनकै श्रीमती उषा पौडेललाई गत स्थानीय निर्वाचनमा जैमिनी उपप्रमुखको उम्मेदवार बनाएको थियो । तर, उनी कांग्रेसका हरिहर शर्मासँग पराजित भएकी थिइन् । पौडेल दम्पत्ति कांग्रेसको केन्द्रीय र प्रदेश महाधिवेशन प्रतिनिधि थिए ।

यसअघि, कांग्रेसबाट प्रत्यक्षमै चुनाव लड्ने तयारीमा रहेका प्रभु ग्रुपका अध्यक्ष एवं कांग्रेस संगठन विभाग उपप्रमुख देवीप्रकाश भट्टचन अहिले एमालेको समानुपातिक सूचीमा छन् । उनको नाम सूचीको एक नम्बरमै छ । उनले एमाले नेता–कार्यकर्तालाई प्रशीक्षणसमेत दिन थालेका छन् । ताराखोला गाउँपालिकाका निर्वतमान अध्यक्ष प्रकाश घर्तीले दिएको स्वतन्त्र उम्मेदवारीमा पनि एमालेले समर्थन गरेको छ । बागलुङमा एमालेले प्रतिनिधिसभातर्फ २ क्षेत्र रहेकामा १ र प्रदेशतर्फका ४ मध्ये २ क्षेत्रमा पार्टी फेरेर आएकालाई उम्मेदवार बनाएको छ ।

‘कांग्रेसमा विद्रोह गर्नेलाई ल्याएर टिकट दिने हाम्रो नीति नै हो,’ एमालेका एक जिल्लास्तरीय नेताले भने, ‘केही साथीले ढिला पार्टी त्यागे, नत्र उनीहरू पनि हाम्रा उम्मेदवार बन्थे ।’ हाल उम्मेदवार भएकाभन्दा माथिल्लो तहका नेतालाई समेत पार्टीमा भित्राएर टिकट दिन पहल गरेको ती नेताको भनाइ छ । स्थानीय निर्वाचनमा पनि एमालेले कांग्रेसबाट टिकट नपाएकालाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएको थियो । जसमध्ये केही स्थानमा जित हात पारे पनि मुख्य पदहरूमा भने हार व्यहोरेका थिए । कांग्रेसभित्रको किचलोमा खेलेर उम्मेदवार खोज्ने र मत बढाउने अभियानमा एमाले लागेको कांग्रेस नेताहरू टिप्पणी गर्छन् ।

‘हाम्रो कमजोरीमा खोजेर एमालेले धमाधम उम्मेदवार उठाएको छ, हामी मिल्न सकेका छैनौं,’ कांग्रेसका पूर्वजिल्ला सभापति प्रकाश शर्मा पौडेलले भने, ‘एक पटक अवसर पाएकालाई टिकट नदिने, नयाँलाई दिने नीति बनाऔं भन्दा कोही मान्न तयार भएनन् ।’ निर्वाचनमा मापदण्ड बनाएर टिकट बाँड्न नसकेको भन्दै उनले नेतृत्वको आलोचनासमेत गरे ।

क्षेत्र–१ मा एमालेका उम्मेदवार सूर्य पाठक र समानुपातिक सूचीका कृष्ण पाठक एकै घरका उम्मेदवार हुन् । उनीहरूको उम्मेदवारीले एमाले कार्यकर्तामा असन्तुष्टि व्याप्त छ । ‘जहिले पनि उनीहरूकै परिवारलाई टिकट दिँदा अरू नेता–कार्यकर्ताको दुःख हेरिएको छैन,’ एमाले जिल्ला सचिवालयका एक सदस्यले भने, ‘अहिले पार्टीमा दुःख गरेकालाई टिकट नदिएर अर्को पार्टीबाट आएकालाई दिने होड नै चलेको छ ।’ पार्टीको नीति र पद्धतिसमेत बुझ्न नभ्याएकालाई उम्मेदवार बनाउनु राम्रो नभएको ती नेताको टिप्पणी छ ।

यसबाहेक एमाले जिल्ला अध्यक्ष हिराबहादुर खत्री क्षेत्र–१ (१) र र उपाध्यक्ष लक्ष्मण पुन क्षेत्र–२ (२) बाट उम्मेदवार बनेका छन् । गठबन्धनबाट कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि सिट पाएन । गठबन्धनबाट क्षेत्र–१ मा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र क्षेत्र–२ मा माओवादीका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल उठेका छन् । प्रदेशका चारैवटा क्षेत्र पाएको कांग्रेसले जिल्ला सभापति जितबहादुर शेरचनलाई क्षेत्र–२ (१) मा, महाधिवेशन प्रतिनिधि द्रोण कुँवर क्षेत्र–२ (२) मा, निवर्तमान सभापति दीपेन्द्रबहादुर थापालाई क्षेत्र–१ (१) मा र युवा नेता डिल्लीराम सुवेदीलाई क्षेत्र–१ (२) मा उम्मेदवार बनाएको छ ।

राजमो अध्यक्ष केसी उमेरले ८० वर्ष काटे । गठबन्धनले उनको विकल्प नखोजेको भन्दै कतिपयले आलोचना पनि गरेका छन् । केसीले भने उमेरका कारण उम्मेदवार नहुन पाए हुन्थ्यो भन्ने लाग्दालाग्दै पनि राष्ट्रको आवश्यकताले उम्मेदवार बनेको दाबी गरे । यस क्षेत्रको प्रदेशतर्फ उठेका कांग्रेसका थापा ६० वर्ष र डिल्लीराम सुवेदी ३९ वर्षका हुन् । ‘उमेरलाई लिएर कसैले आलोचना पनि गरेका छन् तर हामीले तीनपुस्ताकै उम्मेदवार पायौं,’ सुवेदीले भने, ‘पाको अनुभव र युवा जोस मिलाएर निर्वाचनमा होमिएका छौं ।’  साभार प्रकाश बराल- ekantipur.com 

प्रतिक्रिया