बुढ्यौलीले नछोएका तन्नेरी दुर्गाबहादुर

  • जेठ २७, २०८१

बागलुङ ।  अग्लो मान्छे स्वस्थ्य शरिर ठमठमी हिँडाई देख्दा लाग्छ उनि भर्खर ४० काटेका छन । सेतो दौरा सुरवाल कालो कोट र शिरमा ढाका टोपी यो उनले लगाउने नियमित पहिरहन हो । उमेरले निउरी परेर हिँड्ने बेलामा सिधा भएर हिँडेको देख्दा उनको उमेर ८५ वर्ष पुगी सक्यो भन्दा अझै कसैले पताउँदैन । बागलुङ नगरपालिका—१ रामरेखाका दुर्गाबहादुर आचार्य उमेरले ८५ वर्ष पुगे पनि तन्नेरी युवा झै ठमठमी हिँड्छन  र सामाजिक कार्यमा उत्तिकै सक्रिय रहेका छन । उनको शारीरिक अवस्था हेर्दा बुढ्यौलीले छोए जस्तो देखिन्न ।  
    १९९६ साल असार २९ गतेका दिन बाबा गणेश्वर आचार्य र आमा हरिकला आचार्यको कोखबाट जन्मिएका आचार्य परिवारको कान्छो छोरा हुन । चार दाजु र पाँच बैनी पछि जन्मिएका आचार्य सानै देखी सामाजिक कार्यमा सक्रिय थिए । आचार्यको परिवारमा धेरै पटक बज्रपात प¥यो जेठो दाजुको ३ वर्षकै उमेरमा मृत्यु भएको थियो माईलो दाजु १६ वर्षको उमेरमा दोस्रो विश्वयुद्धमा शहिद बन्नु प¥यो । पछि दुई जुम्ली दाजुभाई र जेठी दिदिको सानै उमेरमा मृत्यु भएको थियो यो बेला आचार्य जन्मिएका थिएन । यसरी बारम्बार परिवारमा पिडा थपियो उनको बाबुआमाको सन्तानको रुपमा पाँच दिदि एक बैनी र उनि मात्रै परिवारमा रहे । हाल दिदि बहिनीको पनि देहवसान भै सकेको छ । आचार्य उनका बाबा ५० वर्षको हुँदा परिवारमा कान्छो छोराको रुपमा जन्मिएका थिए । 

No photo description available.
१३ वर्षको उमेरमा विहे गरे, जेठीकै आग्रहमा कान्छी ल्याए
दुर्गाबहादुरले बाबा आमाको चाहना अनुसार १३ वर्षको उमेरमा नन्दकुमारी सँग विहे गरे । विहे सँगै परिवारमा झनै जिम्मेवारी थपियो । रामरेखाको स्थायी बासिन्दाको रुपमा रहेका आचार्य परिवारको निरहेघाटमा खेत र गोठ गर्नुपथ्यो । सानै देखी घरको काम सँगै समाजिक कार्यमा सक्रिय आचार्यको परिवारमा जेठा छोराको जन्मभएपछि गाईगोठमा काम गर्ने कठिनाई भयो । जब गाईगोठमा काम गर्न कठिनाई हुँदै गयो जेठी श्रीमतीको आग्रहमै २९ वर्षको उमेरमा कान्छी श्रीमती बालकुमारीलाई विवाह गरे त्यस पश्चात घरमा काम गर्नका निम्ती सहज भएको उनी बताउँछन । जब आचार्यले परिवार समाजलाई बुझदै गए अपसोच २५ वर्षकै उमेरमा आफ्ना जन्मदिने बाबु आमा गुमाउनु प¥यो । पहिले आमा गुमाएका आचार्यले आमाको काजक्रियाबाट उम्किएको लगत्तै बाबुलाई गुमाउनु प¥यो । लामो समय सम्म बाबा आमाको साथ पाउन पाएनन उनले । यसले परिवारमा झनै जिम्मेवारी थपियो । तर उनिमा परिवार प्रतिको जिम्मेवारी बढ्दै गएपनि सामाजिक कार्यप्रतिको सक्रियता कहिलै घटेन । आचार्यको परिवारमा अहिले १ श्रीमती २ छोरा र ३ छोरी छन भने हाल उनका छोरा छोरीका गरी ८ पनाती र ६ पनातीनी रहेका छन । जेठी श्रीमतीको भने ७३ वर्षको उमेरमा देहसवान भएको थियो ।  
पार्टीमा धुलो फालेर पढ्न लेख्न सिकियो
    गुरुकुलको पढाईले लेखपढ गर्न सिकेका दुर्गाबहादुर काठको पाटीमा धुलो फालेर लेख्ने गरेको कुरा सुनाउँछन । ‘अहिले त धेरै कुराको विकसित भएको छ । त्यो देख्न यही आँखाले देख्न पाईएको छ । उनले भने,‘गुरुकुलमा लेख्ने खरिपाटी पनि थिएन ।, धुलो फालेर निगालोको कलम बनाएर लेख्ने पढ्ने गरेर सामान्य कुरा जानियो । त्यो बेला नेपाली र संस्कृत मात्र पढाईन्थ्यो यहाँ कुनै तह हुनेथिएन । त्यो बेलाको कुरा सम्झदाँ त अहिले धेरै परिवर्तन देख्न पाएको छु ।’ उनले घिरौला, आलुको पाट निचारेर कलमको मसी बनाएको कुरा सम्झन्छन । 
आचार्य सानै देखी सामाजिक कार्यमा निकै सक्रिय थिए । उनलाई समाजले हरेक कुरामा आग्रसर गराउँथ्यो र नेतृत्व दिनका लागि तयार पनि थियो । अपसोच २०३८ सालको निर्वाचनमा तत्कालिन कालिका गाउँपञ्चायत वडा नं. १ को वडा अध्यक्षमा निर्वाचित भए । २०३९ साल देखी २०४३ सम्म वडा अध्यक्ष भएर गाउँपञ्चायत चलाए । वडा तहमा राम्रो काम गरेको भनि उनलाई  २०४१ सालमा तत्कालिन राजा विरेन्द्र मार्फत विभुषित पनि गरियो । त्यस पश्चात झनै सामाजिक कार्यमा सक्रिय हुन जाँगर पलायो । ‘उ बेला पनि दुई पक्षिय निर्वाचन हुन्थ्यो ॐकार गौचन एक पक्ष र  तेजेन्द्र बहादुर खड्का अर्को पक्ष, म तेजेन्द्रबहादुर पक्षको भएर वडा अध्यक्ष लड्ेको थिए चुनाव पनि जिते चार वर्ष काम पनि गरे । उनिहरु त मुलधारको राजनितिमा आए तर म राजनितिमा आईन सामाजिक काममा निरन्तर सक्रिय रहे । 
आचार्यले पछि बागलुङको बाङगेचौर, माझि वस्ती, र निरहेघाट वरीपरिको बृक्षारोपण गर्ने अभियान संचालन गरे । गाई वस्तु चरण गर्ने खाली चौर र पाखो गरी २७ हेक्टर क्षेत्रफल रहेको सार्वजनिक जमिनमा तत्कालिन अञ्चलाधिश ऋतुवर्ण तुम्बाहम्फेको प्रमुख आतिथ्यतामा बृक्षारोपण गरे  । अहिले यो क्षेत्र हराबरा छ  पछि उनकै नेतृत्वमा २०६३ सालमा रामरेखा सामुदायिक वनको विकास गरियो । अहिले बाङ्गेचौर खेलमैदान वरीपरि आचार्यकै पालामा रोपिएका रुखहरु रहेका छन ।
दर्जन बढि संस्थामा नेतृत्व 
    आचार्य हाल सामुदायिक सेवा केन्द्र रामरेखाको अध्यक्ष, बालविकास केन्द्रको अध्यक्ष, रामरेखा मेलमिलाप केन्द्रको संयोजक, रामरेखा आधारभुत विद्यालयको सल्लाहकार रहेका छन भने दर्जन भन्दा बढि संघ संस्थाका नेतृत्व गरेको अनुभव उनिमा छन । उनि अहिले पनि दर्जन बढि संघ संस्थामा सल्लाहकारको रुपमा रहेका छन । २०६३ साल देखी हाल सम्म रामरेखा सामुदायिक सेवा केन्द्रमा निरन्तर अध्यक्षको रुपमा काम गदै आएका छन । उनि विभिन्न समयमा विभिन्न संघ संस्थाबाट सम्मानित भएका सम्मान पत्र उनको घरको भित्ताभरी सजाएका छन । 

May be an image of 7 people, temple and text
सामाजिक काम भनेपछि उमंग आउँछ 
सामाजिक काममा भनेपछि उमंग आउने दुर्गा बहादुर हरेक विहान बागलुङ कालिका पुग्छन । भजन किर्तनमा पनि सक्रिय रहेका उनि यसलाई निरन्तरता दिएका छन । राष्ट्रिय लोक भजन चुड्का संरक्षण समितिको सल्लाहकार नै रहेर यसको संरक्षणमा जुटेका छन ।  म बाँचुञ्जेल सामाजिक काममा नै सक्रिय रहने हो । यो काम भनेपछि शरिरमा छुट्टै उमंग आउँछ उनले भने जहिले सम्म सक्छु त्यस बेला सम्म सामाजिक काममा नै सक्रिय रह्नछु ।’
उ बेलामा बागलुङ बजार पुरानो बजार क्षेत्र मा रहेको आचार्यको भनाई छ । हालको बागलुङ बजार क्षेत्र खेतको रुपमा रहेको र पछि घरहरु बनेको आचार्य बताउँछन । ‘अहिलेको नारायण चौतारी नेताहरुले भाषण गर्ने थलोको रुपमा रहेको थियो । पहिलेको बजार त पुरानो बजार मात्रै हो आचार्यले भने,—‘अहिलेको लोकतान्त्रीको चोक त पछि बजार बनेको हो रामरेखा क्षेत्रमा पनि जम्मा १९ वटा घर मात्र थिए । पछि विस्तारै विकास हुँदै गयो राम्रो धान फल्ने खेतमा अहिले घरै घर बनेका छन ।’ उनले आफ्नै आँखा अगाडी धेरै छिटो बागलुङ बजारको विकास भएको बताए । 
देशका हरेक आन्दोलनमा सहभागी भए 
आफनौ चौसारी पनि गरिसकेको आचार्यले नेपालमा भएका विभिन्न आन्दोलनलाई प्रत्यक्ष रुपमा नियाले भने परिवर्तनका निम्ती सक्रिय पनि भए ।  प्रजातन्त्रको स्थायित्वका लागि नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न आन्दोलन÷संघर्षका साथै २०१४ सालमा भद्र अवज्ञा आन्दोलन, २०४६ को आन्दोलन हुँदै २०६२।०६३ सालको जनआन्दोलनमा देशको परिवर्तनका लागि उनि सक्रिय नै भए आन्दोलनमा होमिए । देशमा विभिन्न आन्दोलनबाट प्राप्ती उपलब्धीलाई उनले जनता भन्दा पनि नेता मुखी भएको बताउँछन । आन्दोलन धेरै भए तर उनिमा परिवर्तन भएन नेताको मात्र परिवर्तन भयो यसमा कसले सुन्ने आचार्यले भने । 
    आचार्य जिल्लामा कुनै राजनितिक दलको सक्रिय राजनिति नगरेपनि उनि नेपाली काँग्रेस प्रति आस्थावान हुन । उनि नेपाली काँग्रेसको केन्द्रीय जेष्ठ नागरिक सदस्य पनि भएका थिए । हालै मात्र नेपाली काँग्रेस बागलुङले उनलाई सम्मान पनि गरेको थियो । 
    तन्नेरी हुँदा बल पर्ने अनेक काम गर्दा पनि केही नभएको सम्झँदै आचार्य हिजोआज भने घरको कुनै पनि काममा सक्रिय नभएर सामाजिक काममा नै सक्रिय भएको बताउँछन । ‘अब त बूढो भइएछ, घरको कुनै काम गर्न सक्दिनँ। सामाजिक कार्यमै अझै केही गर्न सक्छु जस्तो लाग्छ र निरन्तर लागेको छु आचार्यले भने,—‘८५ वर्षका भए पनि स्वस्थ्य छु । घरमा दिनभर टोलाएर समय काट्नुभन्दा सामाजिक काममा नै सक्रिय हुन्छ । उनले आफ्नो शरिरलाई थप जाँगरिलो राख्नका निम्ती सधै समामाजिक काममा सक्रिय भएको बताउँछन । आचार्य विगत ४० वर्ष देखी शाहकारी छन । अहिले सम्म सामान्य रुघाखोकी बाहेक अन्य रोगले नछोएको उनको भनाई छ । 
अहिलेका नया पुस्तालाई सामाजिक कामको चिन्ता छैन 
आचार्यले नयाँ पुस्ताले पुरानो पुस्ता बाट केही कुरा सिक्न जरुरी रहेको बताए । उनले अहिलेको युवाहरु सामाजिक कार्यमा सक्रिय हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । अहिलेका युवाहरु मोबाईलमा झुम्ने बाहेक अरु काम गर्न सक्ने देख्दिन आचार्यले भने,—‘नयाँ पुस्ता पनि समाजप्रति उत्तरदायी बन्न जरुरी रहेको छ । यस प्रति आम अभिभावकले पनि चासो दिनुपर्दछ । सधै मोबाईल फोनमा नै झुम्दा समाज प्रतिको उत्तरदायित्व हराउँदै जान्छ ।  उनले आफुले सक्ने उमेर सम्म सामाजिक काममा नै सक्रिय जिवन विताउने बताउँछन । 

No photo description available.

प्रतिक्रिया