उस्तै छ ढोरपाटनका बाढि पिडितको पिडा

  • मङ्सिर २२, २०७८

बागलुङ-  ढोरपाटन नगरपालिकाको भूजिखोलाको किनारमा बसिरहेकी छलिमाया सुनार बर्खाको समयमा बत्ति गयो भने पोहोरको कालोरातलाई सम्झन्छिन् । ‘बर्खा लाग्दा जाडै भएपनि बरु आगो तापेर बस्ने थियौँ, बर्खाको समयमा पानी पर्यो र बत्ति गयो भने सारै डर लाग्छ ।’ छलिमाया भन्छिन् ‘पोहोरको बाढीले घर, पसल सबै लग्यो, अझै पनि हामी ज्यानमारा खोलाकै तिरमै बसिरहेका छौँ ।’ 
ढोरपाटन नगरपालिकामा गत वर्षको भदौ १७ गते राती गएको बाढीको कारण धेरैको ज्यान गयो, कयौँ बेपत्ता हुनुका साथै करोडौँ रकम बराबरको क्षति भयो । बाढीले ढोरपाटन नगरपालिका–९ का २१ र गलकोट नगरपालिका–४ का एक जनाको ज्यान लियो । एक सय ४२ घर तथा १२ सवारी साधनमा क्षति पुग्यो, ३८ व्यक्ति बेपत्ता भएकोमा २२ जनाको मात्र शव फेला पर्यो, १६ जना अझै बेपत्ता छन् । बेपत्ताहरुको अझै पनि खोजी जारी छ । भूजिखोलाका बाढीपीडितले हाल सम्म पनि सरकारी राहत पाउन सकेका छैनन् । गाउँमा कोही नयाँ व्यक्ति गए भने पनि राहत दिने मानिसकि भन्ने उनीहरुलाई लाग्छ । भूजिखोलाले दिएको चोटमा अझ सम्म सरकारले राहत दिन नसकेको उनीहरुको गुनासो छ । 
ढोरपाटन नगरपालिकाकी मंगली सुनारको पनि पीडा उस्तै छ । केहि होला भनेर गाउँमै फेन्सी पसल गरेकी उनको पनि फेन्सी पसल बाढीले बगायो । उनले पनि हाल सम्म कुनै सरकारी राहत नपाएको बताईन । ‘पहिले एकपटक दुई हजार पाँच सय, एक पटक तीन हजार रुपैँया पाएकी थिए । त्यसपछि कुनै पनि राहत पाएकी छैन ।’ मंगली भन्छिन् ‘ससुरा हुने बेला सम्म राहत मिलेको थियो, ससुरा ढोर गएपछि केहि पनि पाएको छैन ।’
बाढी लगत्तै देश तथा विदेशमा रहेका नेपालीहरुले पीडितहरुलाई राहत रकम संकलन गरेका थिए । देश तथा विदेशमा रहेको नेपालीहरुले संकलन गरेको करिब २ करोड ४६ लाख रुपैँया ढोरपाटन नगरपालिकालाई हस्तान्तरण गरेका थिए । सो रकम एकद्धार प्रणाली मार्फत ढोरपाटन नगरपालिकाले हस्तान्तरण गरेका जानकारी दिएको छ । नगरपालिकाले ९७ परिवारलाई दुई लाखका दरले नगद र जस्तापाता प्रदान गरेको थियो । सो रकममा पनि नगरपालिकाले धेरै रकम दिएको भन्ने देखाएर थोरै रकम हातमा थमाएको स्थानिय लक्ष्मण बिकले बताए । बिक भन्छन् ‘सरकारले घोषणा गरेको चार लाख हाल सम्म पाएका छैनौँ, देशविदेशमा रहेकाले संकलन गरेर हस्तान्तरण गरेको दुई लाख त पायौँ, तर हामीलाई दुई लाख दिएको भनेर हस्ताक्षर गराईयो, पाउन केहि व्यक्तिहरुले एकदुई हजार कम पायौँ ।’ रकम कम भएको विषयमा नगरपालिकाकी उपमेयर करमति पुनलाई ध्यानाकर्षण समेत गराएको उनले बताए । ढोरपाटन नगरपालिकाकी उपमेयर करमति पुनले भने नियोजित रुपमा यस्तो गरिएको हुन सक्ने शंका व्यक्त गरिन । चारजना व्यक्ति आफुसंग रकम कम भएर आएको उनले बताईन । उपमेयर पुन भन्छिन् ‘हामीले सबैलाई दिदा राम्रोसंग गनेरै दिएका थियौँ, कतै होटल भित्र छिरेर कम छ भनेर देखाउनु भयोकी कतै नगरपालिकालाई नराम्रो बनाउन कम छ भन्नु भयो की ? ’ ‘रकम दिएपछि उहाँहरुले ठाउँमै रुजु गर्नु पर्दथ्यो, तर, उहाँहरुले हस्ताक्षर गर्नुभयो, केहि समयपछि पैसा कम भयो भनेर आउनु भयो ।’ 
ढोरपाटन नगरपालिकाका एक सय २६ घर सहित जिल्ला भरका करिब छ सय ३२ घर पुर्ननिर्माण गर्नुपर्ने सूचिमा छन् । जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार पिडितले रकम पाउनका लागी गण्डकी प्रदेशले ३० प्रतिशत र नगरपालिकाले १५ प्रतिशत र गाउँपालिकाले १० प्रतिशत रकम जम्मा गर्नुपर्ने कार्यबिधीमा उल्लेख छ । सो रकम पालिकाले जम्मा नगर्दा पीडितको हातमा नपरेको प्रशासन कार्यालयको भनाई छ । पुर्ननिर्माण गर्नु पर्ने घरहरुको संख्या धेरै भएकाले पालिकाबाट १५ प्रतिशत रकम जम्मा गर्न नसकिएको नगरपालिकाले बताएको छ । ‘पहिले हामीले थोरै क्षति भएका पिडितले पनि घर बनाउन र सबैलाई शहज होस भन्ने हाम्रो सोच थियो, ३० घरभन्दा धेरै पूर्ण क्षति भएकै छैनन्, तर वडाले सबैलाई पूर्ण क्षति भनेर कागज बनायो । अहिले सो कुराले बोझ बनाएको छ ।’ कार्यबिधी अनुरुपको १५ प्रतिशत पालिकाले केहि समयमा जिल्ला प्रशासन कार्यालयमा जम्मा गरिने मेयर नेपालीले बताए । 


 

प्रतिक्रिया