बागलुङ,- तथ्याङ्कले भन्छ—नेपालमा हरेक वर्ष साढे चार लाख युवाहरु श्रम बजारमा उपलब्ध हुन्छन् । तर नेपालमा रोजगारीको अवसर प्राप्त नहुँदा अधिकांश युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन् । नेपालमा रोजगारी पाइएन काम गर्न कहाँ जाने भन्दा सबैको मुखबाट सजिलै आउने जवाफ हो विदेश । तर विदेश भन्न सजिलो त्यहाँ काम गर्न भने सजिलो कत्ति पनि छैन । अदक्ष कामदार विदेश जाने गरेका कारण विदेशको ठाउँमा सबैभन्दा बढी दुःख पाउनेहरुमा नेपाली पर्छन् । नेपालमा विदेश पठाउने एउटा राम्रो व्यवसाय बनेको छ । युवाहरुलाई विदेशमा राम्रो कमाइको प्रलोभन देखाएर ठगी धन्दा चलाउनेहरुलाई राम्रो अवसर पनि भएको छ । सकभर विदेश नजऔं जानै परे सुरक्षित तवरले विदेश जाऔं भन्ने नाराका साथ वैदेशिक रोजगारसम्बन्धी समस्याहरु समाधानका लागि सामी परियोजना चलिरहेको छ ।
बागलुङ सहित देशभरका ३९ जिल्लामा यो परियोजना सञ्चालनमा रहेको छ । वैदेशिक रोजगारीमा धेरै युवा गएका जिल्लाहरुमा यो कार्यक्रम सुरु गरिएको हो । सुरक्षित आप्रवासन परियोजना (सामी) ले वैदेशिक रोजगारसम्बन्धी सचेतना जगाउनुका साथै वैदेशिक रोजगारीमा ठगिएकाहरुको समस्यामा काम गर्ने गरेको छ । नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपाल तथा भिमापोखरा युवा क्लब (विवाईसी) बागलुङले सञ्चालन गरिरहेको परियोजनाको विषयमा मंगलबार बागलुङमा पत्रकार अन्तरक्रिया गरिएको छ । अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारीको नाममा ठगिएका दर्जनौं युवाहरुको तीन करोड ९ लाख ४५ हजार ६८ आर्थिक सहायता दिलाउन सहजीकरण गरिएको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मीले बताए ।
वैदेशिक रोजगारमा जाने युवालाई राहदानी लिनु भन्दा पहिला विदेशमा जाँदा अपनाउनुपर्ने कुरा सिकाएर मात्र जानको लागि सल्लाह सुझाव परामर्श दिने काम गरिरहेको सामी परियोजनाले जनाएको छ । ‘हामीले मूख्यतया, सूचना, न्याय, सीपमा पहुँचसंगसंगै मनोसामाजिक परामर्श र वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्छौं,’ उनले भने,‘बाध्यताले वैदेशिक रोजगारमा जानु परेका नेपालीलाई सुरक्षित र सीपयुक्त बनेर जान प्रेरित गर्ने र ठगिनबाट जोगाउने परियोजनाको मुख्य लक्ष्य हो ।’ वैदेशिक रोजगारीका लागि गएका बागलुङका युवाहरुको विभिन्न कारण मृत्यु भई शव नेपाल ल्याउन नसकेका अवस्थामा आफूहरुले शव बागलुङ ल्याउन भूमिका खेलेको उनको भनाइ छ । ‘यो वर्ष वैदेशिक रोजगारीमा गएर मृत्यु भएका १६ वटा शव नेपाल झिकाउन सहजीकरण गरेका छौं,’ उनले भने,‘दुई वटाको प्रक्रिया जारी छ । वैदेशिक रोजगारीमा ठगीमा परेकाहरुलाई कानुनी उपचारका लागि पनि सघाउँछौं ।’
जिल्ला प्रशासन कार्यालयमा डेस्क स्थापना गरेर सेवा दिईरहेको सामी परियोजनाबाट व्यक्तिगत परामर्श चार हजार पाँच सय ६५ जनाले पाएका छन् । समुदायमा आधारित कार्यक्रमहरुबाट तीन हजार एक सय १९ जनामा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी आधारभूत सूचना पुगेको विवाईसी बागलुङका सामी परियोजना अधिकृत मिनबहादुर उपाध्यायले बताए । केन्द्रले यस आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जान चाहाने तीन महिला सहित १३१ जनालाई सीममूलक तालिम समेत प्रदान गरेको छ । यस वर्ष ५१ जना (३ जना पुरुष तथा ४८ जना महिला) लाई व्यक्तिगत रुपमा र ४११ जनालाई मनोपरामर्श सेवा प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा जाँदा एजेन्टलाई दिएको रकमको कुनै कागजपत्र नहुने र कागजपत्र भए पनि अन्य विभिन्न प्रयोजन भएर लेखिएको हुँदा ठगीका मुद्दाहरुमा प्रमाण जुटाउन समस्या हुने गरेको सामी परियोजनाका नविन शिशिर विकले बताए ।
जिल्लाबाट वैदेशिक रोजगारमा ५ हजार भन्दा बढी जाने जिल्लामा सुरक्षित आप्रवासन परियोजना लागू भएको छ । कम्पनीले काम नदिएको खान बस्न नदिएको करार सम्झौता भन्दा तलब कम दिने काम गरेको अवधिको तलब नपाएको स्वदेश फर्कन नपाएकालाई समेत यसले सहजीकरण गर्दै आएको छ । नेपाल सरकार र स्विस सरकारबीच भएको द्विपक्ष्ीाय सम्झौता र सामी÷ हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा स्थानीय पालिकाको सञ्चालन तथा विवाईसीको व्यवस्थापनमा जिल्लाको ४ वटा पालिकामा परियोजना लागु भई सामी परियोजना सञ्चालन भइरहेको छ । स्थानीय तहको बजेट निश्चित शीर्षकमा सम्बन्धित तहबाटै खर्च हँुदै आएको छ । बागलुङ जिल्लाका १० वटा स्थानीय तहमध्ये बागलुङ नगरपालिका काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र जैमिनी नगरपालिकामा २०७६ मंसिर देखिदेखि सामी परियोजना लागू भएको छ ।
अहिले पनि नेपालबाट वैदेशिक रोजगारीमा जाने ७४.५ प्रतिशत व्यक्तिहरु अदक्ष कामदारको रुपमा विदेश जाने गरेका छन् । उनीहरुले जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यता रहेको छ भने काम अनुसारको तलब नपाउने समस्या रहेको छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा २६ प्रतिशत योगदान गरेको रेमिट्यान्सकै कारण नेपालका ५६ प्रतिशत परिवार चल्ने गरेको तथ्याङ्क रहेको छ । सामी परियोजनाले पाँच प्रकारका सीपमूलक तालिम पनि प्रदान गर्दै आएको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सामी परियोजनालाई आगामी दिनमा अझ व्यवस्थीत गरेर अगाडि बढाउने बताए । वैदेशिक रोजगारी र यसबाट उत्पन्न समस्याहरुको समाधानका लागि परियोजना प्रभावकारी देखिएको उनको भनाई थियो ।