वैदेशिक रोजगारीका समस्यामा सहजीकरणको माध्ययम बन्दै सामी

  • असार १७, २०८०

बागलुङ । अहिलेको तथ्याङ्क हेर्दा—नेपालमा हरेक वर्ष साढे चार लाख युवाहरु श्रम बजारमा उपलब्ध हुन्छन् । तर नेपालमा रोजगारीको अवसर प्राप्त नहुँदा अधिकांश युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन् । नेपालमा रोजगारी पाइएन काम गर्न कहाँ जाने भन्दा सबैको मुखबाट सजिलै आउने जवाफ हो विदेश । तर विदेश भन्न सजिलो त्यहाँ काम गर्न भने सजिलो कत्ति पनि छैन । अदक्ष कामदार विदेश जाने गरेका कारण विदेशको ठाउँमा सबैभन्दा बढी दुःख पाउनेहरुमा नेपाली पर्छन् । नेपालमा विदेश पठाउने एउटा राम्रो व्यवसाय बनेको छ । युवाहरुलाई विदेशमा राम्रो कमाइको प्रलोभन देखाएर ठगी धन्दा चलाउनेहरुलाई राम्रो अवसर पनि भएको छ । सकभर विदेश नजऔं जानै परे सुरक्षित तवरले विदेश जाऔं भन्ने नाराका साथ वैदेशिक रोजगारसम्बन्धी समस्याहरु समाधानका लागि  बागलुङमा सुरक्षित आप्रवासी श्रोत केन्द्र (सामी) कार्यक्रम चलिरहेको छ । 
जिल्लामा चार स्थानिय तहमा यो कार्यक्रम संचालन भएको छ । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकामा यो कार्यक्रम संचालनमा हो । जिल्लामा पनि बैदेशिक रोजगारीमा धेरै युवा जाने गरेका कारण यो कार्यक्रम संचालन गरिएको हो । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) ले वैदेशिक रोजगारसम्बन्धी सचेतना जगाउनुका साथै वैदेशिक रोजगारीमा ठगिएकाहरुको समस्यामा काम गर्ने गरेको छ । नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुसार स्थानिय तह सँग समन्वय गरी संचालित छ । कार्यक्रमको विषयमा शुक्रबार बागलुङमा पत्रकार अन्तरक्रिया गरिएको छ ।  
कार्यक्रममा वैदेशिक रोजगारीको नाममा ठगिका ४१ वटा मुद्धा मध्ये १२ वटा मुद्धा सल्टाइएको कार्यक्रम अधिकृत मिन प्रसाद उपाध्यायले जानकारी दिए ।  त्यसबाट १ करोड ३ लाख ७१ हजार रुपैयाँ पीडितलाई फिर्ता गराउन सफल भएको छ । विदेशमा गएर सम्पर्क बिहीन, कागजात नभएका उद्धार सम्बन्धी १२ मुद्धा मध्ये ५ वटा मुद्धा सल्टाइएको छ । ५ जना व्यक्तिको परिवारमा पुर्नमिलन गरिएको उनको भनाई छ ।

वैदेशिक रोजगारमा जाने युवालाई राहदानी लिनु भन्दा पहिला विदेशमा जाँदा अपनाउनुपर्ने कुरा सिकाएर मात्र जानको लागि सल्लाह सुझाव परामर्श दिने काम गरिरहेको सामी कार्यक्रमले  जनाएको छ । ‘हामीले मूख्यतया, सूचना, न्याय, सीपमा पहुँचसंगसंगै मनोसामाजिक परामर्श र वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्छौं,’ उनले भने,‘बाध्यताले वैदेशिक रोजगारमा जानु परेका नेपालीलाई सुरक्षित र सीपयुक्त बनेर जान प्रेरित गर्ने र ठगिनबाट जोगाउने कार्यक्रमको  मुख्य लक्ष्य हो ।’ वैदेशिक रोजगारीका लागि गएका बागलुङका युवाहरुको विभिन्न कारण मृत्यु भई शव नेपाल ल्याउन नसकेका अवस्थामा कार्यक्रम मार्फत शव आफन्त सम्म ल्याउनका निम्ती भूमिका खेलेको छ । यो वर्ष वैदेशिक रोजगारीमा गएर मृत्यु भएका १ व्यक्तिको  शव नेपाल झिकाउन सहजीकरण गरिएको थियो  । कार्यक्रम मार्फत मृत्यु तथा स्वास्थ्य उपचारमा सहजिकरण गरि १ करोड ७१ लाख ३७ हजार रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराईएको छ ।  जिल्ला प्रशासन कार्यालयमा कार्यालय स्थापना गरेर सेवा दिईरहेको सामी कार्यक्रमबाट  यस आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जान चाहाने १३ महिला सहित १०६ जनालाई सीममूलक तालिम समेत प्रदान गरिएको सामी कार्यक्रममा सूचना तथा परामर्शकर्ता गंगा शर्मा रिजालले बताईन  । वैदेशिक रोजगारीमा जाँदा एजेन्टलाई दिएको रकमको कुनै कागजपत्र नहुने र कागजपत्र भए पनि अन्य विभिन्न प्रयोजन भएर लेखिएको हुँदा ठगीका मुद्दाहरुमा प्रमाण जुटाउन समस्या हुने गरेको  रिजालले बताईन ।  कार्यक्रम मार्फत १६ समुहमा ३९५ लाई वित्तिय साक्षरता पनि दिईएको छ ।  
काम नदिएको, पारिश्रमिक नदिएको र पासपोर्ट जफत गरिएका १२ वटा घट्नामा सहजिकरण गरि ४ वटा मात्रै समाधान गरिएको छ । वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मीले फ्रि टिकट फ्रि भिषाको व्यवस्था भए पनि वैदेशिक रोजगारका क्रममा ठगिने प्रचलन कम नभएको बताए । उनले सानो सूचनाको कारण पनि नागरिक वैदेशिक रोजगारीका क्रममा ठगिनबाट जोगिन सक्ने बताए । 
कार्यक्रम मार्फत मनोपरामर्श समेत प्रदान गरिएको छ । श्रीमान विदेश गएको महिलालाई हेर्ने दृष्टीकोणका समाजमा फरक भएको लान्छाना र भेदभावका कारण पछिल्लो समयमा महिलाहरुले आत्महत्या समेत गर्ने प्रयास गरेका कारण यसको रोकथामका निम्ती सामीले राम्रो भुमिका खेलेको मनोपरामर्शकर्ता मधु शर्माले जानकारी दिईन । समाजमा राम्रो लुगा लगाउँदा हिँडडुल गर्दा पुरुषसँग बोल्दा समेत लान्छना खेप्नु पर्छ, कतिपय महिलाले कुटपिट समेत सहनु परेको छ’ उनले भनिन ‘परिवारबाटै समेत लान्छना लगाइदा र कुटपिट हुँदा सहन नसकेर आत्महत्याको प्रयास गरेका छन् ।’ यस्ता घटना हुन नदिन हामीले मनोसामाजिक परामर्श कार्यक्रमलाई नियमित संचालन गरेका छौं । 

कार्यक्रम मार्फत कम्पनीले काम नदिएको  खान बस्न नदिएको करार सम्झौता भन्दा तलब कम दिने काम गरेको अवधिको तलब नपाएको स्वदेश फर्कन नपाएकालाई समेत यसले सहजीकरण गर्दै आएको छ । 
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सामी परियोजनालाई आगामी दिनमा अझ व्यवस्थीत गरेर अगाडि बढाउने बताए । वैदेशिक रोजगारी र यसबाट उत्पन्न समस्याहरुको समाधानका लागि परियोजना प्रभावकारी देखिएको उनको भनाई थियो ।  कार्यक्रममा सामी कार्यक्रमका फोकल पर्सन भिमसेन पन्त, नेपाल पत्रकार महासंघका बागलुङका सचिव विजय राना लगायतले बोलेका थिए । 
कार्यक्रम नगरउपप्रमुख खड्काको अध्यक्षता र सामी कार्यक्रमका सामाजिक अधिकृत रामचन्द्र गौतमको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया