आलु मिठो ताराखोलाको ..... गायक बसन्त थापाको गित साँचीक्कै सावित भएको थियो ।त्यो गित सँग बागलुङको ताराखाेलाका आलु देशभर नै प्रख्यात छ । मिठो स्वादका कारण बागलुङको आलुले दिन दुई गुणा रात चौगुणा ख्याति कमाइरहेको छ । कृषि क्षेत्रका सम्भावना र उत्पादनका आधारमा नेपाल सरकारको सुरुवात गरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लामा ६ वटा आलु जोन समेत रहेका छन् ।
जिल्लाको ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका गल्कोट नगरपालिका–१० पाण्डवखानीको रमुवालाई आलु जोन कार्यक्रम अन्तर्गत समेत समावेश गरेको छ । किसानहरुले विशेष गरी जेष्ठ, असार महिनामा आलु खन्ने गर्छन् । लामो समयसम्म पानी परिरहनु, चिस्यान केन्द्र नहुनु, व्यवसायीहरु आलु बेच्न हतारिनुका कारण यो वर्ष आलु जोनको विशेष गरी ताराखोलाका आलु कुहिएका छन् ।
ताराखोला गाउँपालिकाको आलु किसानलाई आलु व्यापारीले आलु नफल्दै पेश्की तथा अग्रिम भुक्तानी समेत गर्ने गरेका छन् । ताराखोला गाउँपालिकाकी आलु कृषक सुस्मिता रोकाका अनुसार खनिसकिएका आलु भण्डार गर्ने चिस्यान केन्द्र नहुँदा खनिएका आलु कुहिएको बताइन् । लामो समय पानी परेको र आलु व्यवसायीले आलु बेच्न हतार गर्दा हतारहतारमा आलु खनिएका कारण पनि आलुमा कुहिने समस्या देखिएको रोकाले बताइन् ।
भन्छिन् ‘ पहिलो कुरा त यो वर्ष लामो समयसम्म पनि बर्खा लाग्यो, बर्खा नसकिएसम्म खन्ने कुरै भएन । व्यवसायीहरुले आलु नफल्दै पेश्की तथा अग्रिम भुक्तानी समेत गर्नुहुन्छ । आलु खन्न ढिला पनि भैसकेको थियो । बर्खा सकिनै लाग्दा व्यवसायीहरु आत्तिनु पनि स्वाभाविक नै हो । चिसो राम्रोसंग ओभाउन नपाउदै आलु खन्दा खनिएको आलुमध्ये केही आलु कुहियो ।’
गाउँपालिकाकै कृषक मनप्रसाद घर्तिले केहि आलु खनेको केहि समयमै कुहिएको र केहि आलु व्यवसायीले लगेपछि आलु कुहिएको जानकारी आफुले पाएको उनले बताए । ‘ केहि आलु पहिले नै खनेपछि कुहेको थियो । केहि आलु व्यवसायीले आलु खरिद गरिसकेपछि कुहिएको भनेर जानकारी दिन भएको थियो ।’ ताराखोलाको सबैजसो कृषकले आलु उत्पादन गर्छन् । कृषकहरुले आलु भण्डारण गर्न समेत समस्या छ ।
आलु भण्डारण गर्न नपाउनु पनि आलु कुहिनुको अर्को कारण रहेको रोकाले बताइन् । भन्छिन् ‘ एउटै घरमा ७०–८० मुरी आलु उत्पादन हुन्छ । ७०–८० मुरी आलु भण्डारण गर्ने भनेको घरमै हो । घरमा खाने सुत्ने ठाउँमा समेत आलु नै राख्नुपर्ने बाध्यता छ । त्यहाँ पनि अटेन भने आलुलाई खप्टाएर राख्नु पर्छ, जसका कारण आलु कुहिन्छ ।’
पहिलेका वर्षहरुमा असिनापानीले आलुको बोटमै क्षति पु¥याउँदा डढुवा रोग लाग्ने समस्या समेत देखा परेका थियो । जिल्लामा अहिले उन्नत जातको आलु भन्दा पनि स्थानीय जातको आलुलाई विशेष महत्वको साथ उत्पादन गरिने गरिन्छ । अहिले आलु जोन क्षेत्र भित्र लहरे र पोके जातका आलुलाई विशेष प्राथमिकता साथ उत्पादन गर्ने गरिन्छ । आलुको जोन हुनका लागि कम्तीमा ५०० हेक्टरमा आलुखेती गरेको हुनुपर्छ व्यवस्था रहेको छ । सुजित पौडेल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइका सूचना अधिकारी सुजित पौडेलका अनुसार आलु कुहिने समस्या देखिएको हो ।
ताराखोला गाउँपालिकामा बर्खे आलु लगाउने र सोही समयमा ठुलो पानी समेत पर्ने भएकाले आलु कुहिने समस्या रहेको बताउँछन् । आलु कुहिएको भए पनि उत्पादन भने नघटेको पौडेलले बताए ।
यता, ताराखोला गाउँपालिकाले प्रधानमन्त्री कृषि परियोजनासंग समन्वय गरी चिस्यान केन्द्र निर्माण गर्ने प्रकृया अगाडि बढेको बताएका छन् । बर्खामा हतार–हतारमा आलु खनिएको र समयमै आलु व्यापारीसंग नपुग्दा पनि आलुमा केही समस्या देखिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले जानकारी दिए ।
उनले भने ‘ अहिलेको बर्खाले आलु ढुवानीमा पनि समस्या देखियो, ढुवानीसंगसंगै बर्खाले केही आलु पनि कुहायो । यहाँका आलु कृषकहरुलाई चिस्यान केन्द्र आवश्यकता छ । किसानको आवश्यकता हेरेर प्रधानमन्त्री कृषि परियोजनासंग समन्वय गर िचिस्यान केन्द्र निर्माण गर्ने प्रकृया अगाडि बढाएका छौँ । चिस्यान केन्द्र निर्माणका लागि आह्वान गरिसकेका छौँ । कृषकले निवेदन दिएपछि चिस्यान केन्द्र निर्माणको प्रकृया सुरु हुन्छ ।’