‘क्लिन बागलुङ’का लागि ‘जिरो वेष्ट’अभियान

  • असोज २, २०८१

नारायण रिजाल- बागलुङ,!  बागलुङ नगरपालिकाले सदरमुकाम बागलुङ बजार र आसपासका क्षेत्रलाई सफा र सुन्दर बनाउनका निम्ती ‘जिरो वेस्ट’ अर्थात सबै फोहोरको उचित सदुपयोग गर्ने अभियान संचालन गर्न थालेको छ । नगरपालिकाले बजार क्षेत्रलाई सफा र सुन्दर अर्थात ‘क्लिन बागलुङ बनाउनका निम्ती यो अभियान संचालन गर्ने भएको छ । अभियान संचालन गर्नुपुर्व विगत डेढ दशकदेखी फोहोर फाल्नका लागि प्रयोग गरिएको स्थान बागलुङ नगरपालिका—१ काठेखोला छेउको खुदुर्केेमा रहेको डम्पिङ साईटलाई थप व्यवस्थापन गरेको छ ।  पुरानो फोहोरलाई अयन्त्रै व्यवस्थापन गरी नयाँ फोहोरलाई बर्गिकरण गरेर यसको उचित सदुपयोगका गर्न काम अगाडी बढाएको छ । नयाँ फोहोर व्यवस्थापनका निम्ती डम्पिङ साइड क्षेत्रमा केही संरचना निर्माण गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन ।
फोहोरको बर्गिकरण गरिने
     नगरपालिकाले चालु वर्ष १ करोड रुपैयाँ खर्चेर पुरानो फोहोर व्यवस्थापन गर्नुका साथै बर्गिकरण गरी ‘जिरो वेस्ट’ परियोजना संचालनमाको काम आगडी बढाएको छ । ‘जिरो वेस्ट’का लागि नगरपालिकाले तीन खण्ड बनाएर कुहिने, नकुहिने र सीसाजन्य लगायतका खतरा फोहोरको व्यवस्थापन गर्न लागेको नगरप्रमुख श्रेष्ठले बताए । ‘बागलुङ नगरलाई ‘क्लिन’ बागलुङको रुपमा चिनाउनका निम्ती फोहोरको बर्गिकरण गरी व्यवस्थापनमा लागेका छौं नगरप्रमुख श्रेष्ठले भने,—‘कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउने, नकुहिने फोहोर संकलन गरेर बिक्री गर्ने व्यवस्थापन मिलाइएको छ ।  अस्पताल जन्य फोहोर, सीसा समेतलाई शून्य बनाउने कोरियाली प्रविधिको मेसिन भित्राएर यसको व्यवस्थापन गर्नेछौं । पहिलो चरणमा घरघरबाट नै यो अभियान संचालन हुनेछ । पानीबाट बचाएमा दुर्गन्ध कम हुने भएकोले नगरपालिकाले तीनवटै फोहोर संकलन गर्ने स्थानमा पनि भूइँ ढलान गरेर जस्तापताले छाउने तयारी थालेको छ । ’
प्रत्येक घरमा रातो निलो र हरियो बाल्टीको व्यवस्थापन
    नगरपालिकाले हरेक घरमा ३ वटा बाल्टी वितरण गर्ने र कुहिने, नकुहिने साथै सीसाजन्य वस्तु त्यसमा संकलन गरिनेछ । संकलन गरेका तीन थरी फोहोरलाई छुट्टाछुट्टै गाडीले संकलन गरेर व्यवस्थापन पनि नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।  त्यसका लागि नगरपालिकाले वितरण गर्ने रातो, निलो र हरियो बाल्टी जस्तै फोहोर संकलन गर्ने गाडी पनि तीन रंगको बनाएको छ । नगरवासीले तिन बाल्टी मध्ये एक किन्नुपर्नेछ भने २ वटा नगरपालिकाले निशुल्क प्रदान गर्नेछ । यसरी संकलन गरिएको फोहोरलाई डम्पिङ साईडमा पनि बर्गिकरणको स्थान बनाईएको छ भने त्यसका लागि पुरानो ठेक्का प्रबृत्ति हटाई नगरपालिकाले नै कर्मचारी खटाउने बताईएको छ । 
फोहोर व्यवस्थापनका निम्ती कोरियाको वातावरण विभागको ‘एएलके इसीओ’ कम्पनीसँग पनि नगरपालिकाले प्रारम्भिक सम्झौता गरिसकेको छ । मेसिनमा फोहोर जलाउँदा मासिक २० देखि ३० युनिट बिजुली मात्रै खर्च हुने र धुँवारहित हुने बताइएको छ । उक्त कम्पनीले फोहोर व्यवस्थापन गर्ने मेसिन नगरपालिकालाई बिक्री गर्दा ३ वर्ष निशुल्क सर्भिस दिने नगरपालिकाले जनाएको छ । 
कोरियन प्रविधिको प्रयोग गरिने
फोहोरलाई प्रसोधन गर्ने मेसिन संचालनका निम्ती प्राविधिकले फिल्डमै सहयोग गर्ने र नगरपालिकाका कर्मचारीलाई सवै काम हस्तान्तरण गर्नेछन । दैनिक १ टन प्लाष्टिक जन्य वस्तु जलाउने मेसिन ६० लाख र मासिक ३ टन सम्मको फोहोर जलाउने मेसिन १ करोड १७ लाख रुपैयाँसम्म लाग्ने कम्पनीका प्रतिनिधिले बताएका छन् । २०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म खुदुर्के क्षेत्रमा फोहोर फाल्दै आएको थियो ।  अहिले उक्त फोहोराको डंगुर पनि खाली गराइएको हो । 
पुरानो फोहोर व्यवस्थापन, माटो राखेर पार्क निर्माण गरिने 
कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फाल्दा यहाँको १० रोपनी जग्गा भरिएको थियो । कुहिने फोहोर कम्पोष्ट मल बनाउने र नकुहिने प्लाष्टिक जन्यलाई पुन प्रयोगमा पठाउने र अन्य फोहोरको बढीमा ३ प्रतिशत खरानी बन्ने विधिले जलाउने भएको हो । हाल थुपारिएको फोहोरमाथी माटो राखेपछि दुबो रोपेर हरियाली पार्क बनाउने योजना पनि नगरपालिकाको रहेको छ  ।  बागलुङ नगरपालिकाले डम्पिङ साईडको व्यवस्थापन गरेपछि कालिगण्डकी करिडोर हुँदै यात्रा गर्ने यात्रुलाई दुर्गन्धले छुने छैन । केही समय पहिले दक्षिण बागलुङका नागरिक सदरमुकाम आउँदा डम्पिङ साईड नजिकै नाक थुन्नुपर्ने बाध्यता थियो त्यो अहिले हटेको छ । यसका साथै खुर्दुर्केबासीलाई पनि फोहोरको झिंगाले सताउन छाडेको स्थानिय हरिबहादुर केसी बताउँछन । अहिले दुर्गन्ध पनि कम भएको र झिंगा पनि कम लाग्न थालेको ले यसको अझै छिट्टै नै दिर्घकालिन समाधान हुने विश्वास व्यक्त गरेको उनि बताउँछन । नगरपालिकाले बजार क्षेत्रको फोहोर व्यवस्थापन गरेर यसलाई नमुना फोहोर संकलन केन्द्रको रुपमा विकास गर्ने योजना बनाएको छ ।
 

प्रतिक्रिया