बागलुङ -पेशाले उनि निर्माण व्यवसायी हुन । निर्माणको काम त उनको नियमित गर्दै आएको पेशा हो । उनले वर्षाै देखी गर्दै आएको आफ्नो पेशलााई त निरन्तरता दिएका छन, तर यसको साथमा व्यवसायी रुपमा नै ड्रागन फ्रुट खेतीलाई अगाडी बढाएका छन बागलुङका बिमलेश आचार्य । जिल्लाको बागलुङ नगरपालिका—१ रामरेखाका आचार्यले निर्माणको काम सँगै कृषिलाई पनि प्राथमिकतामा राखेका छन । आचार्यले बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थालेका छन् । कोरोना महामारीको बेला पलाएको बिमेलशको सोचले अहिले व्यवसायीक रुपमा नै ड्रागन फ्रुटको उत्पादन गरी यसैमा रमाउने बनाएको छ ।
‘तिन वर्ष पहिले कोरोनाको समय थियो । हाम्रो निर्माणको काम सवै ठप्प भएको थियो आचार्यले भने,— ‘निर्माणको काम रोकिएको अवस्था, आफ्नै बारी बाँझो, यसमा केही गरौं भन्ने सोच पलायो, पूर्वमन्त्री लोकेन्द्र विष्टले गरेको ड्रागन खेतीको बारेमा युबट्युबमा भिडियो हेर्ने मौका पाएको थिए । अन्य केही सफल ड्रागन व्यवसायीको प्रेरणा पनि पाए मैले यो खेतीको सुरुवात यसैगरी गरेको हँु ।’ आचार्यले आफ्नो घरवरीपरि र बागलुङ नगरपालिका—१ माझीबस्ती नजिकै खनियाघाटमा व्यवसायीक रुपमा नै ड्रागन फ्रुट खेतीको थालनी गरेका हुन । ड्रागन लगाएको १ वर्षमा नै विरुवा हुर्केर राम्रो उत्पादन दिन थालेपछि आचार्य यसैमा रमाउन थालेका हुन ।
ड्रागनको पछिल्लो समय निकै राम्रो मूल्य र बजार माग भएपछि बागलुङमा व्यावसायिक उत्पादन थालिएको आचार्यले बताउँछन । आचार्यले आफ्नो घर नजिकैको दुई रोपनी जग्गा र खनियाघाटको थप चाररोपनी जग्गामा २ हजार २ सय ड्रागन फ्रुटका विरुवा रोपेका थिए । गत वर्ष देखी नै राम्रो उत्पादन दिन सुरु भएको ड्रागन फ्रुटबाट झण्डै ७ लाख रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष अझै राम्रो उत्पादन भएको हुँदा आम्दानी बढ्ने उनले बताए । ‘अघिल्लो वर्ष भन्दा यस वर्ष राम्रो फल लाएको छ । एउटै पोलमा झण्डै २ देखी ४ केजी सम्म उत्पादन हुन्छ, आचार्यले भने,—‘ यो पाँच÷छ पटक नै टिप्न पाइने छ । आशा छ अघिल्लो वर्षमा भन्दा यस वर्ष उत्पादन राम्रो हुने छ र आम्दानी पनि ।’ ड्रागनको विक्रिका लागि बजारको समस्या नरहेको र प्रति केजी ५ सय रुपैयाँका दरले घरबाट नै विक्रि भै रहेको उनि बताउँछन ।
आचार्यले ड्रागन फ्रुट खेती विस्तारका लागि झण्डै ४५ देखी ५० लाख रुपैयाँ लगानी गरी सकेका छन । विरुवाका लागि सिमेन्टको पोल र टायरसमेत व्यवस्थापन गर्नुपर्दछ । हाल उनको बारीमा रातो र सेतो गरी दुई प्रजातीका फल उत्पादन हुँदै आउका छन । बिमलेश निर्माणको काम भन्दा पनि अहिले ड्रागन फ्रुटको बारीमा रमाउन मन लाग्ने बताउँछन ।
बहुगुणी फलफूलका रुपमा रहेको ड्रागन फ्रुटको खेतीका लागि बिमलेशका बाबु महेन्द्र आचार्य सहित परिवारका अन्य सदस्यले पनि नियमित सघाउँदै आएका छन । बिमलेश निर्माणको काममा व्यस्त रहँदा पनि बाबुले नियमित रुपमा हेरचाह गर्दै आएका छन । यो खेती सुरुको लगानी बढि हुने बाबु महेन्द्र आचार्य बताउँछन । ‘विरुवा रोपेपछि पोल र सुरक्षाका लागि गरिने तारबारका कारण सुरुआती लगानी त धेरैनै हुँदो रैछ, तर लगाएको एक वर्षमा नै उत्पादन दिन सुरु भयो, बाबु महेन्द्रले भने,—‘यसका लागि यहाँको हावा पानी निकै राम्रो हुँदो रैछ अघिल्ला वर्षमा भन्दा यस वर्ष राम्रो उत्पादन भएको छ, मुख्य मलजल राम्रो भए उत्पादन पनि राम्रो हुने रैछ ।’ उनले खर्च घट्दै गए पनि विस्तारै यसले आम्दानी दिन लागेको बताए । आचार्य परिवारले खनियाघाटमा गरिएको ड्रागन खेतीको हेरचाहका लागि एउटा परिवार नै राखेर उनिहरुलाई रोजगारी समेत दिएको छ ।
दक्षिण पूर्वी एसियाका देश भियतनाम, फिलिपिन्स, थाइल्यान्डलगायत हुँदै अहिले यो फल नेपालमा भित्रिएको छ । बागलुङमा व्यवसायी रुपमा नै यो खेती गर्ने आचार्य सम्भवत पहिलो हुन । ड्रागन फल गर्मी र सुक्खा हावापानीमा हुने सिउडी प्रजातिको फलफूल हो । यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सरबिरुद्ध प्रतिरोधात्मक गुण हुन्छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला, छत तथा करेसामा पनि लगाउन सकिने कृषि प्राविधिकहरु बताउँछन ।