कालिगण्डकीको महिमा जगाउन  शालग्राम महोत्सव 

  • ब‌ैशाख १२, २०८०

बागलुङ - बागलुङमा शालग्राम महोत्सव सुरु भएको छ । सोमबारदेखि बागलुङ नगरपालिका—४ कुँडुले फेदीमा रहेको शालग्राम संग्रहालयमा महोत्सव सुरु भएको हो । धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको शालग्राम पत्थरको संरक्षण र यसको महत्व बुझाउन महोत्सव आयोजना गरिएको हो । कुँडुले फेदीमा रहेको श्रीधराचार्य शालग्राम संग्रहालय तिरुपती बालाजीधाममा अगामी बैशाख १५ गतेसम्म महोत्सव चल्नेछ । महोत्सवको सोमबार कालिगण्डकी नदिबाट सुभारम्भ गरिएको थियो ।
 महोत्सवको सुभारम्भ गर्दै गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले धार्मिक रुपमा महत्वपूर्ण शालिग्राम शिला र कालिगण्डकी बचाउन सबै लाग्नुपर्ने बताईन् । ‘हिन्दु धर्ममा शालग्रामको निकै ठूलो महत्व छ, विश्वमै एक मात्र शालग्राम पाईने नदी कालिगण्डकीको पनि उत्तिकै महत्व छ,’ उनले भनिन्,‘कालिगण्डकी र शालग्राम बचाउने र यसको प्रचार प्रसार गरी विश्वभरबाट पर्यटक भित्र्याउन सकियो भने यहाँको समृद्धि सम्भव छ ।’ उनले शालिग्राम जोगाउन संग्रहालय निर्माण गरिएकाले त्यसको प्रचार प्रसारका लागि महोत्सव महत्वपूर्ण हुने बताईन् । 
कार्यक्रममा बागलुङ नगर उपप्रमुख राजु खड्काले धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्नु सबैको दायित्व भएको बतााए । ‘धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउँदै त्यसबाट लाभ र लिने र त्यसको संरक्षण प्रवद्र्धन गर्नुपर्ने हामी सबैको कर्तव्य हो,’ उनले भने,‘सबैको सत्प्रयास र सत्कर्मबाट कालिगण्डकी माथिको दोहन र शालग्रामको विनास जोगाउन सकिन्छ ।’ 
महोत्सवमा साहित्य संगित र साधनाबाट कृष्ण गण्डकी र शालग्रामको महिमा र महत्व बुझाईने महोत्सव मुल आयोजक समितिका संयोजक एवं  श्रीधराचार्य शालग्राम संग्रहालयका अध्यक्ष स्वामी श्री ऋषिप्रपन्नाचार्यले जानकारी दिए । कालिगण्डकी नदीमा मात्र पाइने तथा हिन्दु धर्मावलम्बीहरुले अति पुज्य मान्ने शालग्रामको संरक्षण गर्ने उदेश्यले निर्माण गरिएको संग्रहालय थप प्रचारप्रसार, वैदिक संस्कार संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको उनको भनाई छ । महोत्सवमा विषेश त साहित्यक विद्या मार्फत कालिगण्डकी र शालिग्रामको महिमा र महत्वको बारेमा बुझाईने छ । 
महोत्सवको पहिलो दिन वैशाख ११ गते आज कालीगण्डकी र शालग्राम गौरवगाथा विषयक कविगोष्ठी संचालन भएको छ । दोस्रो दिन वैशाख १२ गते कालीगण्डकी र शालग्राम कथाव्याथा विषयक रत्यौली सहित आध्यात्मिक प्रवचन, १३ गते कालीगण्डकी र शालग्राम महिमा विषयक आध्यात्मिक भजन झाँक्री नृत्य सहित आध्यात्मिक प्रवचन, १४ गते कालीगण्डकी र शालग्राम विषयक आध्यात्मिक दोहोरी र हाँस्यकलाकार दाह्रीबाको प्रस्तुती, र १५ गते प्रवचन, पुरस्कार, सम्मानसहित समापन गरिने स्वामी ऋषी प्रपन्नाचार्यले बताए । 
बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीमा षडाचार्य स्वामी श्रीधराचार्यले २०४० सालमा स्थापना गरि सञ्चालित रंगवेंकटेश मुक्तिनारायण मन्दीर जिर्ण भएकोले नेपाली वास्तुशैलीमा श्रीराम नाम अंकित गण्डकी शीलाद्वारा स्वदेशी सामग्री प्रयोग गरिएको विशाल कलात्मक मन्दीर एवं हालै निर्माण गरिएको अलौकिक शालग्राम संग्रहालयको प्रवद्र्धन गर्न महामहोत्सव आयोजना गरिएको हो । संग्रहालयमा गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनीकक्ष बनाइएको छ । एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भू–बनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना तयार गरिएको छ । 
संग्रहालयमा मठमन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् । मुस्ताङमा पर्ने दामोदरकुण्ड कालीगण्डकी नदीको उद्गमस्थल हो । भौगोलिक नक्साअनुसारकै नमूना तयार पार्न नेपाली सेनाले सघाएको थियो । गण्डकी सभ्यता देखाउने नक्साङ्कनलाई सिसाले घेरिएको छ । त्रिशूल आकारमा रहेको सुरुङको बाँयापट्टि धार्मिक महत्वका एक लाख २५ हजार शालिग्राम राखिएको छ । चौध वर्ष लगाएर संकलन गरिएका शालिग्राम सङ्ग्रहालयमा राखिएको अध्यक्ष प्रपन्नाचार्यको भनाइ छ । संग्राहलयमा मन्दिरका संस्थापक स्वामी श्रीधराचार्यको स्मृतिकक्ष पनि बनाइएको छ ।
समुद्री अवशेषहरुलाई पनि नमूनाका रूपमा देखाइएको छ । पाठपूजा, हवनजस्ता धार्मिक कार्यमा प्रयोग हुने परम्परागत सामग्री एवं उपकरण पनि संग्रह गरिएको छ । सुरुङको दायाँपट्टि ११२ जना अट्ने प्रदर्शनीकक्ष निर्माण गरिएको छ । शालिग्राम सिलाको महत्वसँगै दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मका नदी, मठ मन्दिरका नक्सा तथा शालिग्राम र गण्डकीको महत्व र महिमामा केन्द्रीत वृत्तिचित्र समेत राख्ने तयारी गरिएको छ । 
 

प्रतिक्रिया