राष्ट्रपति पौडेल पञ्चायत विरोधी आन्दोलन गर्दा बागलुङ कारागार जेल बसे

  • फाल्गुण २६, २०७९

बागलुङ — राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले पञ्चायतविरोधी आन्दोलनमा बागलुङ कारागार बसेका थिए । नेपाल विद्यार्थी संघको जिल्ला अधिवेशन र पार्टी संगठन विस्तारका लागि आउँदा २०४६ मंसिर २६ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

नेविसंघका तत्कालीन अध्यक्ष जगदीशचन्द्र उपाध्यायको घरमा भएको छलफलकै क्रममा उपाध्यायसहित पौडेललाई पक्राउ गरेर कारागार चलान गरिएको थियो । व्यवस्थाविरोधी काम गरेको भन्दै पौडेलविरुद्ध विभिन्न मुद्दा लगाइएका थिए । उक्त मुद्दामा पौडेलसहित तनहुँका लक्ष्मी आचार्य, बागलुङका तत्कालीन पार्टी सभापति गोविन्दप्रसाद शर्मा कँडेल, रघुपति कँडेल, शेखर कँडेल, ऋषिराम कँडेल र विष्णु गिरीसमेत कारागार चलान भएका थिए ।

उनीहरूविरुद्ध संघसंस्थाविरोधी गतिविधि गरेको, राज्यविरुद्ध षड्यन्त्र गरेको तथा राजकाज मुद्दा लागेको वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले बताए । श्रेष्ठले सरकारी मुद्दाविरुद्ध उनीहरूलाई साथ दिएका थिए । पञ्चायतको धरपकडका बाबजुद पौडेलको पक्षमा उनले वकालत गरेका थिए । बहुदल घोषणापछि धेरै राजबन्दी छुट्दा पौडेल छुट्न पाएनन् । गाउँलेको मुद्दामा अदालतको सुनुवाइपछि पनि मन्त्रिपरिषद्को निर्णयले मात्रै पौडेल २०४७ वैशाख २ गते छुटेका थिए । छुटेपछि पौडेलले धौलागिरि बहुमुखी क्याम्पसमा आयोजित विजयी र्‍यालीमा सम्बोधन गरेका थिए । उनीसँगै जेल बसेका उपाध्यायले पौडेल राजनीतिक अडान र निष्ठामा प्रतिबद्ध देखेको बताए । ‘धेरैपटक लोभ देखाएर छुटाउन पनि खोजिएको थियो, तर उहाँले प्रजातन्त्र, बहुदल र कांग्रेसको निष्ठाप्रति सम्झौता गर्नुभएन,’ उपाध्यायले भने, ‘उहाँको प्रेरणाले बागलुङ कारागारका धेरै बन्दी प्रभावित थिए ।’

पौडेलसँगै कतिपय कम्युनिस्ट नेता पनि जेलमा थिए । उनीहरूलाई पनि सम्मान गर्ने र पञ्चायतविरोधी राजनीतिमा सबैको समान सहभागिताको खोजी गरेको भेटेको जेलमा सँगै बसेका अधिवक्ता बद्रीप्रसाद उपाध्यायले बताए । उनी कम्युनिस्ट संगठनमा लागेकोले पञ्चायतले पक्राउ गरेर जेल हालेको थियो । ‘पौडेल कांग्रेसमा बुद्धिजीवीमा पर्थे, उनले नहुँदो बोलेनन्, नचाहिने काम गरेनन्,’ उपाध्यायले भने, ‘दुरदृष्टि राख्ने नेता पनि रहेछन् ।’ जेलमै राजनीतिक प्रशिक्षण दिएर धेरैको मन जितेको उनले बताए । उनको प्रशिक्षणले सँधै आस्थाका बन्दीलाई सम्मान गरेको उपाध्यायको बुझाइ थियो । यो खबर कान्तिपुर दैनिकमा प्रकाश बरालले लेखेका छन । 

प्रतिक्रिया