बागलुङ- आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तय भएको छ । सत्ता गठबन्धन दलहरु यतिबेला सिट बाँडफाँडको चाजो पाँजो मिलाउँदै छन । सिट बाँडफाँट कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ११० वटा कुन दलले लिने भन्नेमा सहमति जुटिसकेको छ । उक्त सहमतीमा बागलुङका दुई क्षेत्र नै काँग्रेसको भागमा नपर्ने भएको छ ।
क्षेत्र नं. १ राष्ट्रिय जनमोर्चा र क्षेत्र नं. २ नेकपा माओवादी केन्द्रको भागमा पर्ने गरी सहमति निकट गठबन्धन पुगेको छ । दुई क्षेत्रमै काँग्रेसले नपाउने भए पछि कार्यकर्ताको चर्को असन्तुष्टी आएको छ । काँग्रेस बागलुङका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्चाल मार्फत काँग्रेसको राम्रो पकट हुँदा हुँदै पनि एउटा पनि सिट नपाउनु यो कार्यकर्ताका लागि सहिय नहुने भन्दै विरोध गरेका छन । सामाजिक सञ्चाल मार्फत केन्द्रीय तहका नेतालाई दबाब सिर्जना गर्नुका साथै खबरदारी समेत गरेका छन ।
क्षेत्र नं. १ मा राजमो अध्यक्ष चित्रबहादुर केसी र क्षेत्र नं. २ मा वर्तमान सांसद एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल नै उठने भए पछि काँग्रेसको भाग खोसिएको छ ।
गठबन्धनका दलबीच प्रारम्भिक चरणको छलफलमा प्युठान मात्रै जनमोर्चाका लागि छुट्याइएको थियो । तथापि, उक्त दलको दाबी दुई सिटमा रहँदै आएको थियो । जनमोर्चा अध्यक्ष केसीलाई राष्ट्रिय सभामा ल्याउने गरी चर्चा पनि भएको थियो । सत्तारुढ दलमा भइरहेको छलफलमा केसीले प्रत्यक्षमा उठ्ने इच्छा व्यक्त गरेपछि उनका लागि सिट छुट्याउनु परेको हो । केसीको राजाई बागलुङ १ नै भयो । काँग्रेसको भाग खोसियो । बागलुङ १ मा जनमोर्चा र २ मा माओवादी केन्द्रले पाउने भएको छ । यस अघि क्षेत्र नं. १ काँग्रेसको भागमा पर्ने भनि चर्चा चलेको थियो । तर केसी नै निर्वाचन लड्ने भए पछि त्यो पनि खोसिएको छ । क्षेत्र नं. २ भने गठबन्धनमा माओवादीकै चर्चा चलेको थियो । यद्धपी मन्त्री पौडेलको घर क्षेत्र नं. १ मा पर्ने भएका कारण दुईमा जादैन्न की भन्ने केहीको विश्लेषण थियो । माओवादीको संगठन क्षेत्र नं. २ मा नै बालियो भएका कारण पौडेल पनि उतै बाट उठने अवस्थामा पुगेका छन ।
बागलुङ १ जनमोर्चा दुई माओवादीका लागि छुट्याइएसँगै कांग्रेस कार्यकर्ताले असन्तुष्टि जनाएका हुन । अघिल्लोपटक माओवादी केन्द्रले जितेको आधारमा बागलुङ २ छोड्न कांग्रेसका नेता कार्यकर्ता तयार भएता पनि क्षेत्र नम्बर १ पनि अर्को दललाई सुम्पिदा कांग्रेसमा नैराश्यता छ । जुन क्षेत्र भए पनि काँग्रेसका भागमा एउटा हुनुपर्ने कार्यकर्ताको माग छ ।
झण्डै ४५ प्रतिशत मतदाता काँग्रेसका रहेको यस जिल्लामा एउटा पनि प्रतिनिधि सभामा प्रत्यक्षका लागि नपाउनु काँग्रेसको मतको सम्मान हुन नसकेको काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं युवा नेता डिल्लीराम सुवेदीले बताउँछन । जनताको जनमत र कार्यकर्ताको इच्छा भन्दा बाहिर गएर गरिएको निर्णय जनमतको विपरित भएको उनको भनाई छ । ‘जनमतको हिसाबले बागलुङमा पहिलो पार्टी काँग्रेस हो झण्डै ४१ हजार मत रहेको पार्टीका लागि यो निर्णय न्यायोचित हैन । सुवेदीले भने,–‘दश हजारको मतको वरीपरि रहेको दलले भाग पाउने ठुलो दलले नपाउने यसले जनताको विचारको पनि ठिक ढंगले प्रतिनिधित्व हुन सक्दैन । यसले काँग्रेसको आत्मसम्मानमा चोट पुग्छ । यो निर्णय पुन विचार हुन जरुरी रहेको छ ।’ उनले आधिकारीक निर्णय बाहिर नआएको हुँदा बागलुङका लागि पुन विचार हुनेमा सवै नेता कार्यकर्ता विश्वस्त रहेको बताए ।
काँग्रेस बागलुङले प्रतिनिधि सभा र प्रदेश सभा ६०÷४० का दरले भागवण्डा गर्नुपर्ने गरी संस्थागत निर्णय नै गरेको थियो । जिल्ला कार्यसमितिको बैठकले अघिल्लो स्थानिय तहमा झै संघ र प्रदेशमा पनि भागवण्डा बाड्नुपर्ने भन्दै केन्द्रीय समितिमा निर्णय नै गरेर पठाएको थियो । तर त्यो निर्णय कार्यान्वय हुने पक्षमा भने देखिएको छैन । एउटा प्रतिनिधि सभा र ३ वटा प्रदेश सभा काँग्रेसका भागमा पर्नुपर्ने जिल्ला सचिव हरिहर शर्मा बताउँछन । ‘अघिल्लो स्थानिय तहको निर्वाचनमा पालिका र वडा काँग्रेसले ६० प्रतिशत लिएको र सोही अनुसार प्रतिनिधि सभा र प्रदेश सभामा पनि हुनुपर्ने शर्मा बताउँछन ।
‘दुई मध्ये १ प्रतिनिधि सभा क्षेत्र काँग्रेसले पाउनुपर्छ । संघ पाएकोमा एउटा र संघ नपाएको क्षेत्रमा दुई वटै प्रदेश सभा क्षेत्रमा काँग्रेसका उम्मेदवार हुनुपर्छ जिल्ला सचिव शर्माले भने,–‘गठबन्धनमा तालमेलको बाध्यताले संघ पाउने अवस्था नरहेमा यदि चार वटै प्रदेश काँग्रेसले पायो भने कार्यकर्ता समाल्न सकिएला नत्र कठिनाई पर्ने देखिएको छ । उनले काँग्रेसका लागि सम्मानजक भागवण्डा हुन जरुर रहेको र यसमा पार्टीका शिर्ष नेताले ख्याल गर्नुपर्ने बताए ।
बागलुङमा अघिल्लो निर्वाचनमा नेकपा एमाले माओबादी केन्द्र राजमोले गठबन्धन गरेका थिए । क्षेत्र नं. १ मा एमालेका उम्मेदवार विजयी भएका थिए भने क्षेत्र नं. २ मा माओवादी केन्द्रका प्रदेश तर्फ एमालेले क्षेत्र नं. १ (क) लिएको थियो भने राममोले (ख) लिएको थियो क्षेत्र नं. २ मा माओवादी केन्द्र ले (क) र राजमोले (ख) लिएको थियो ।
स्थानिय तहको निर्वाचनमा बागलुङका ६ वटा पालिका काँग्रेसको नेतृत्वमा छन भने ७ वटामा उपप्रमुख पनि काँग्रेसकै निर्वाचित भएका छन । बागलुङका १० स्थानिय तह मध्ये काँग्रेसले ६ वटा, राजमोले २ वटा, माओबादी केन्द्रले १ वटा र नेकपा एमालेले १ वटा प्रमुख जितेका थियो ।