हल गोरु पाल्ने किसानलाई नगरपालिकाको प्रोत्साहन

  • ब‌ैशाख १४, २०८१

बागलुङ -    कृषिमा आधुनिकरण र बढ्दो यान्त्रिकरण सँगै गोरु पाल्ने चलन हराउँदै गएको बेला जिल्लाको बागलुङ नगरपालिकाले भने हल गोरु पाल्ने किसानका लागि प्रोत्साहन स्वरुप अनुदानको कार्यक्रम संचालन ल्याएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष देखी लागु हुने गरी हल गोरु पाल्ने किसानलाई अनुदानको कार्यक्रम संचालन गरेको हो ।  रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोग मार्फत नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिने कार्यक्रम ल्याएको हो । नगरपालिकाले ‘गोरु प्रर्वद्धन कार्यक्रम’ अन्तरगत एक हल गोरु पाल्ने किसानका लागि अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको हो । जसका लागि प्रस्तावित कार्यविधि समेत तयार भएको र सोही अनुसार अनुदान प्रदान गरिने नगरपालिकाका पशु शाखाका प्रमुख मित्रलाल सापकोटाले बताए । 
चालु आर्थिक वर्षमा ४ लाख रुपैयाँ विनियोजन
    ‘गोरु प्रर्वद्धन कार्यक्रम’ अन्तरगत किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट प्रोत्साहन रकम हल गोरु पाल्ने किसानलाई प्रदान गरिने छ । ‘पछिल्लो समयमा कृषिमा आधुनिकरण र यान्त्रिकरण बढ्दै गएको छ । परम्परागत प्रणालीलाई निरन्तरता र प्रोत्साहन गर्नका निम्ती यो कार्यक्रम संचालन गरेका हौं पशु शाखा प्रमुख सापकोटाले भने,—‘यस वर्ष हल गोरु पाल्ने किसानलाईलाई मात्र अनुदान प्रदान गर्नेछौं । आउँदा वर्षमा यसलाई केही परिमार्जन गरेर गोरु पाल्ने जो कोही किसानलाई पनि अनुदान प्रदान गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । सोही अनुसार बजेट व्यवस्थापन गर्न लागेका छौं ।’ गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहन स्वरुप अनुदान उपलव्ध गराउन लागिएको उनले बताए । नगरपालिकाका अनुसार यस वर्ष १ सय ९ गोरु पाल्ने किसानले अनुदानका निम्ती निवेदन पेश गरेका छन । प्राप्त भएका निवदेनका आधारमा किसानको गोठमै पुगेर एक पटक अनुगमन गरी सोही अनुसार छनौट गरेर अनुदान प्रदान गरिने सापकोटाले बताए । 
गोरु पाल्ने संस्कृति संरक्षणका निम्ती प्रोत्साहनको कार्यक्रम
कृषिमा आधुनिक हुँदै गएको र मिेिन टेलर हलोका कारण स्थानीय स्रोत साधनको प्रयोग नै हराउँदै गएको हुँदा यसको संरक्षणका निम्ती पनि हल गोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदानको कार्यक्रम संचालन गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन । ‘कृषिमा आधुनिकरण र यान्त्रिकरण सँगै गोरु पाल्ने संस्कृति घट्दै गयो, स्थानिय बस्तुको खोजी भन्दा पनि आधुनिकरणको खोजीमा बढि ध्यान भयो, यसको न्युनिकरणका निम्ती पनि नगरपालिकाले ‘गोरु प्रर्वद्धन कार्यक्रम संचालन गरेको हो नगरप्रमुख श्रेष्ठले भने,—‘किसानको गोठमा गोरु हुँदा बालीका लागि आवश्यक मलमूत्र पनि पुग्ने, गोरुले जोत्दा उत्पादनमा पनि बृद्धि हुने हुँदा यसलाई  पाल्न प्रोत्साहन गर्नुपरेको हो ।’ मिनी टेलरको प्रयोगले किसानको धेरै पैसा विदेशिने भएकाले गोरु पाल्दा त्यो रोकिने श्रेष्ठको विश्वास रहेको छ । उनले मिनी टिलर वितरणले गोरु पाल्ने किसान निरुत्साहित भएको महसुस गरेकाले अनुदान कार्यक्रम ल्याएको बताए । गोरुको प्रयोगले ढिला होला तर अनुत्पादक नहुने किसानहरु बताउँछन । गोरुले जोत्दा स्थानिय उत्पादन हलो जुवा प्रयोग हुने बाँझो जग्गा राम्रो सँग जोतिने र माटोमा अम्लिएपनको पनि कम आउने गरेको पाईन्छ । 
एक हल गोरुका लागि १० हजार रुपैयाँ अनुदान
नगरपालिकाले प्रस्तावित कार्यविधिमा एक हल गोरु पाल्ने किसानका लागि १० हजार रुपैयाँ दिने उल्लेख गरिएको छ । यो कार्यक्रममा यस वर्ष रकम थोरै र किसानको निवेदन धेरै परेका कारण अनुगमन र मुल्याङकन गरेर मात्र किसानलाई प्रदान गरिने छ । नगरपालिकाले गोरु पाल्ने किसानको तथ्याङ्कलाई तयार पारेर कार्यक्रमलाई आउँदा वर्षमा पनि निरन्तरता दिनका कम्तीमा १० लाख रुपैयाँ विनियोजनको प्रस्ताव गर्ने शाखा प्रमुख सापकोटाले बताए । बागलुङका बेसी र समथर फाँटमा मिनी टेलरको प्रयोग बढ्दो रहेता पनि लेकको खेतबारीमा भने गोरुले जोत्ने प्रचलन कायम नै रहेको छ । गोरु प्रर्वद्धन कार्यक्रम जिल्लाको जैमिनी नगरपालिकाले पनि संचालन गरेको छ । 
 

प्रतिक्रिया