नारायण रिजाल,बागलुङ - नाम दुर्गा सापकोटा, उमेर भर्खर २२ वर्ष, शिक्षा कक्षा १२ सम्म अध्ययन । सम्पतीको नाममा एक हल मेलो लाग्ने पाखो बारी, घरकै मुल अभिभावकको जिम्मेवारी परिवारको जेठो सदस्य बाबु कान नसुन्ने, नबोल्ने, आमा, राम्रो सँग हिडडुल गर्न नसक्ने, दुई भाईको पनि एउटै समस्या खुट्टामाले राम्रो सँग हिडडुल गर्न सक्दैन, न भाईहरुलाई पढाउन सकिन न आफुले पढन आन्दानीको श्रोत केही छैन ।
यो व्यक्तिगत विवरण जिल्लाको बागलुङ नगरपालिका–११ रायडाँडा,ओखलेकी दुर्गा सापकोटाको हो । जसको काँधमा सानै उमेरमा ठूलो जिम्मेवारी आइपरेको छ । समाजमा रहेर एउटा परिवारले गर्नुपर्ने सबै कर्तव्य उनैले नै गरेकी छन । पाका अभिभावकको भूमिका निर्वाह गरिरहेकी छिन । हिम्मतवाली भएर परिवार धानेकी छन ।
परिवारका चार जना नै अपाङ्ग एक जनाको भर
लाउलाउ खाउखाउ र रमाईलो गर्ने उमेरमा परिवारको स्याहार सुसारमा व्यस्त छिन दुर्गा, पाँच जनाको परिवारमा ४ जना नै अपाङ्ग भए पछि दुर्गाको काँधमा ठुलो जिम्मेवारी रहेको छ । जिल्ला सदरमुकाम देखी टाढा रहेको गाउँमा आफ्ना बाबु आमा र भाईको स्याहार सुसार गर्नुपर्ने बाध्यताले दुर्गाको उच्च शिक्षा अध्ययन गर्ने सपना तुहिएको छ । ‘सानै देखी नै आमाको यो समस्या भोग्दै आएकी छु । बाबा पनि नबोल्ने र नसुन्ने हुनुभयो । भाईहरुको खुट्टाको समस्याले केही गर्न सक्दैनन्, सिताले बिलौना गर्दै भनिन् – परिवारका सवै सदस्यमा यस्तो समस्या भए पछि सवै जिम्मेवारी मेरै काँधमा छ आफ्ना आफन्त र छरछिमेकी केसैले हाम्रो वास्ता गर्दैनन् । न राम्रो सँग पढन पाए न परिवारको मायाँमै हुर्किन ।’ धेरै पढ्ने जागिर खाने र बाबा आमा भाईहरुलाई सुखमा राख्ने उनको सपना केबल सपनामा मात्र सिमित रहयो ।
लालन पालन तथा परिवारको खर्च दुर्गाको काँधमा
आफु जान्ने र बुझन्े भए पछि अपाङ्ग बाबुआमा सँग मेलापात गर्दै कक्षा १२ सम्म पढे पनि थप उच्च शिक्षा पढनका लागि घरको अवस्था दयनिय रहेको उनको भनाई छ । उनि बाहेक बाबा, आमा, र दुई भाई जन्मजात अपाङ्ग छने भने आमालाई पाठेघरको क्यान्सर समेत भएको छ । अपाङ्ग बाबु आमा उस्तै दाजुभाई उनिहरुको लालन पालन तथा परिवारको खर्च सबै दुर्गाले नै जोहो गर्नुपर्छ ।
दुर्गाको बाबा ५१ वर्षका जगन्नाथ जैसी बौद्धीक अपाङ्गता छन । उनि बोल्न र सुन्न समेत सक्दैनन् आमा ५९ वर्षका सिता जैसी, भाई प्रेम सापकोटा र प्रदिप सापकोटा खुट्टाको अपाङ्गता छन । उनिहरु राम्रो सँग हिडडुल गर्न सक्दैनन कसैको साहराले मात्र एक ठाउँबाट अर्को ठाउँमा लैजानुपर्छ ।
सानै उमेर देखी बाबु आमालाई साहरा
दुर्गाका दुई भाईलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगायतका सवै अस्पतालमा लगिन खुट्टामा रड पनि राखिन तर निको भएन अहिले दुवै भाईको खुट्टमा समस्या छ । यहाँको विद्यालयमा पढाउन आर्थिक अवस्था नभएपछि जेठो भाई प्रेम, पोखरा र कान्छो भाई प्रदिप चितवन रहेको संकृत वेद विद्याश्रममा अध्ययन गर्छन । लट्ठिको साहराले हिँडडुल गर्न सक्ने उनिहरुले सामान्य कर्मकाण्डीको काम गर्न सक्ने भए पछि केही राहत मिल्ने आशामा दुर्गा रहेकीछन । म जान्ने भए पछि परिवारमा यो समस्या भोग्दै आएकी छु, गाउँमै दुःख गर्नेहो । वर्ष भरी खान पुग्ने अन्न उब्जीने खेतबारी छैन दुर्गाले भनिन्,–‘अर्काको जग्गामा अधिया कमाएर परिवार पाल्दै आएको छु, बाबालाई संकेत नगरे सम्म बुझ्नु हुँदैन आमाको दुबै खुट्टा बाङ्गो छ, पाठेघरको क्यान्सर छ पैसा नहुँदा उपचार गर्न सकिएको छैन ।
उनले अपाङ्गता परिचय पत्र बनाउन पर्छ भन्ने समेत थाहा नभएको बताईन । ‘अपाङ्गता भएका व्यक्तिले सरकारले केही पैसा दिँदो रहेछ । अहिले वडा अध्यक्ष भने पछि बल्ल थाहा भयो । आमालाई पाठेघरमा क्यान्सर हुँदा समेत आफू टुलु–टुलु हेरेर बस्न बाध्य भएको उनको दुखेसो छ ।
परिचय पत्र खुसीले गदगद
साउन २९ गते पहिलोपटक परिवारका चारै जनाले बागलुङ नगरपालिकाले वडामै सञ्चालन गरेको घुम्ती शिविरमा अपाङ्गता परिचय पत्र पाएका छन । भौगोलिक रुपमा विकटताका कारण परिवारका चार सदस्यलाई लिएर वडा कार्यालय आएकी सापकोटाले घुम्ति शिविरमा परिवारका सदस्यको परिचय पत्र पाउदा हर्षका आँसुनै खसालेकी थिईन ।
नियमित आर्थिक सहायता पाउने आश
सरकारबाट केही आर्थिक सहायता मिल्छ रे भन्ने सुनेको भएरै अपाङ्गता परिचयपत्र बनाउन आएको बताईन । हामीलाई वडा अध्यक्ष ज्ञानेन्द्र दाईले थाहा दिनुभयो र यहै आयौं सापकाटाले भनिन् परिचय पत्र बनेको छ अब राहत पनि आउलान नी ? परिचय पत्रका आधारमा राज्यले दिने आर्थिक सहायताले औषधी उपचारमा सहयोग हुँने छ, म अत्यन्तै खुसी छु ।’
चार जना मध्ये आमा सिता जैशीले ‘क’ वर्गको अपाङ्गता परिचय पत्र पाएकी छन भने अन्य तीन जनाले ‘ख’ वर्गको अपाङ्गता परिचय पत्र पाएको बागलुङ नगरपालिकाका सामाजिक विकास अधिकृत सरस्वती रेग्मीले जानकारी दिईन । राज्यले ‘क’ वर्गको अपाङ्गता परिचय पत्र भएकालाई मासिक चार हजार र ‘ख’ वर्गको अपाङ्गता परिचय पत्र भएकालाई मासिक दुई हजार प्राप्त गर्नेछन् । दुर्गाको परिवारले परिचय पत्र पाए सँगै केही राहत मिलेको बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम बताउँछन । गौतमका अनुसार वडा भित्रको पनि केही दुर्गम ठाउँ भएको र त्यहाँबाट नगरपालिका जानका निम्ती यातायातको सहजता नभएका कारण दुर्गाको परिवारको परिचयपत्र बन्न नसकेको हो । हालै बागलुङ नगरपालिकाले संचालन गरेको सेवा प्रवाह घुम्ती शिविर मार्फत सापकोटाको परिवार मात्र हैन यस क्षेत्रका २८ परिवारका अपाङ्कता भएका व्यक्तिको परिचय पत्र बनाउनुका साथै नविकरण गरेका छन ।
बागलुङ नगरपालिको हरेक वडामा घुम्ती शिविर मार्फत वडामै योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण, स्वास्थ्य शिविर बैंकको खाता संचालन, वित्तिय साक्षरता लगायतको सेवा प्रदान गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।