बागलुङ- मुलुकमा संघियता आए सँगै राज्य पुर्नसंरचना भएको पनि झण्डै ६ वर्ष पुग्यो । राज्य पुर्नसंरचना भए सँगै सिंहदरबारको अधिकार स्थानिय तहको माध्यमबाट गाउँगाउँमा पुग्यो । स्थानिय सरकारले वडा तहबाट नागरिकलाई सेवा प्रदान गरिरहेका छन । आफ्नै वडामा धेरै अधिकार जनताले उपभोग गर्दै आएका छन तर जिल्लाको तमानखोला गाउँपालिका वडा नं. २ का जनता भने सेवा लिनकै लागि वडा नं. १ मा जानुपर्ने बाध्यता रहेको छ । राज्य पुर्नसंरचनाको सुरुवाती देखी नै वडा नं. १ र २ को वडा कार्यालय एकै ठाउँबाट संचालन गरिएको छ । गाउँपालिकाको केन्द्र रहेको वडा नं. –१ बोङगादोभान बजारबाट वडा नं. २ को कार्यालय संचालन गरिएको छ । वडा फरक भए पनि कार्यालय एकै स्थान र एउटै घरबाट संचालनमा ल्याईएको छ ।
वडा नं. २ का आम नागरिकलाई बजार झर्नका निम्ती पायक पर्ने भनि सुरुवात देखी नै वडा नं. १ मा वडा कार्यालय राखिएको बताईएता पनि यस वडाका नागरिकको भने वडा भित्रका सवै बस्तीलाई पायक पर्ने ठाउँ नभएको बताउँछन । एउटा वडाको कार्यालय अर्को वडामा राखेर नागरिकको सेवा प्रति स्थानिय सरकार उत्तरदायी नबनेको वडा बासीको गुनासो रहेको छ ।
सवैलाई पायक पर्ने स्थानमा कार्यालय छैन
साविकको बोङ्गादोभान गाविसको वडा नं. ६ देखी ९ सम्मका क्षेत्र समेटिएर बनाईएको यस वडामा हालको जनसंख्या २ हजार ४६० छ भने ४९.५८ वर्ग किमि यस वडाको क्षेत्रफल रहेको छ । तर आफ्नो वडा बाट पाउने सेवा लिनका निम्ती यहाँका स्थानिय भने अर्को वडामा पुग्नुपर्ने बाध्यता रहेको छ । “वडा कार्यालयको केन्द्र राख्दा सवैलाई पायक पर्ने स्थानमा राखिएको छैन ।, तमानखोला गाउँपालिका–२ लारीबाङका स्थानिय गंगा सागर घर्ति भन्छन,–‘भुगोल नमिलेका कारण वडा नं. १ मा पर्ने बोङ्गादोभान जानुपर्ने बाध्यता रहेको छ । यहाँका जनता सेवा लिनकै निम्ती दैनिक डेढ घण्टा हिड्नुपर्ने छ । आम नागरिकको सेवामा पहुँच पुग्ने गरी वडा कार्यालय राख्नुपर्नेमा सवैले जोड दिएका छौं तर जनताको माग सुनुवाई हुन सकेको छैन ।” घर्तिका अनुसार अहिलेको वडाको केन्द्रविन्दुका हिसाबले खोलेसोबाङ अथवा नाकवाङ रहेता पनि भयरबंगा र बुंगाखानीका सर्वसाधारणलाई पायक नपर्ने हुँदा बोङ्गादोभान नै झर्नुपर्ने बाध्यता रहेको छ ।
भुगोलले साथ दिएको छैन
साविकको बोङ्गादोभान गाविस हाल दुई वटा वडामा रहेको र यसलाई पुर्नसंरचना गरेर तिनवटा वडा बनाएमा मात्र सवै जनतालाई पायक पर्ने वडा अध्यक्ष नारायण सुनारको भनाई छ । “भुगोलले साथ नदिएकै कारण विगत देखी नै वडा नं. २ को कार्यालय वडा नं. १ मा राखिएको रहेछ वडा अध्यक्ष सुनारले भने,–‘यसलाई पुन संरचना गरेर तिन वटा वडा बनाएर सोही अनुसार केन्द्र राख्दा सवै क्षेत्रमा पायक पर्ने थियो । उ बेला साविकको वडाको हिसाबले गर्दा अहिलेको संरचना अनुसार भुगोल मिलेको छैन जनताले सास्ती खेप्नुपरेको छ । अध्यक्ष सुनारले आफु वडा नं. २ को वडा अध्यक्ष हुँदा पनि वडा नं. १ मा बसेर कार्यालय संचालन र सेवा प्रवाह गर्नुपर्दा अपठ्यारो महशुस भएको बताउँछन । उनले २०७४ सालमा नै वडा विभाजन गर्दा भुगोल नहेरी साविकको वडाको हिसाबले गर्दा अहिले आम जनतालाई अपठ्यारो परेको बताए । “हिजो यहाँको भुगोले हेरिएन बुर्तिबाङ बजारमा बसेर वडा विभाजन गरियो अहिले जनताले सेवा सर्वसुलभ पाउन सकेका छैनन । सवै बजार क्षेत्रमै केन्द्रीत भएका कारण विगत देखी नै वडा नं. १ मा वडा कार्यालय छ हामी यसलाई केन्द्र बनाएर सार्ने गरी तयारी थालेका छौं । अबको अन्तिम विकल्प भनेकै साविकको बोङ्गादोभानलाई ३ वटा वडा बनाउनु बाहेक केही छैन सुनारले भने,” ।
यो विषयमा छलफल भएको छ
गाउँपालिकाले पनि यो विषयमा बारम्बार छलफल चलाएको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर बताउँछन । उनले विगत देखी नै जनताको गुनासो आएता पनि भुगोलले साथ नदिएका कारण वडा नं. १ को कार्यालय वडा नं. २ बाट संचालनमा आएको बताए । बुढाले कार्यपालिकामा नै यस विषयमा छलफल भएको र भुगोल मिलाएर साविकको बोङ्गादोभान गाविसलाई तिनवटा वडा बनाउने विषयमा जनताको माग आएको हुँदा यसमा छलफल गरिएको बताए । राज्य पुर्नसंरचना गर्दा सम्बन्धीत क्षेत्रको भुगोल नहेरी कुनै एक स्थानमा बसेर विभाजन गर्दा यस क्षेत्रमा मात्र हैन अन्य स्थानमा पनि जनतालाई पायक पर्ने स्थानमा वडा र गाउँ नगरपालिकाका केन्द्र रहेका छैनन् ।