मेरी आमाको बोल्ने तस्वीर

  • साउन २२, २०८१

शकुन्तला शर्मा-  आज मन  अमिलो  भएको छ। धेरै समय अगाडिबाट उत्साहका साथ थालनी गरेको काम बिचैमा अलपत्र पर्यो।   सोचे जस्तो परिणाम आउन सकेन । साथिभाइ , इष्ट्मित्र , आफन्त  सबैलाई   नजिकबाट चिन्ने र बुझ्ने मौका  मिल्यो  भन्नुपर्यो ।हुन त सफलता / असफलता मानिसको जीवनका उत्तिकै  महत्वपूर्ण  दुइवटा पाटा हुन ।" को  बिरानो को आफ्नो चिन्दैछु " भन्ने ऋषि अधिकारीको गित याद आइरहेछ। यो मन पनि धेरै यति बिशाल बनेकोछ कि सबैका क्रियाकलाप    सचित्र अटाएका छन ।

कुनै  असाध्यै मिठा र कुनै  नमिठा र अप्रीय पनि छन्। यो मनको  पत्रपत्रमा  सबैका तस्बिर खिचिएकाछन। दुखी मन लिएर  गरुङ्गो पाइला सहित घरको भर्र्याङ्   उक्लिदै थिए , नानी आयौ ? आमाको आवाज आयो। पुर्लुक्क  उहातिर हेरे र तुरुन्तै नजर झारे। किन कि उचो हेर्ने हिम्मत ममा थिएन ।अनि आमाले सम्झाउनुभयो, " ल किन पिर गरेकी  घोडा चढ्ने ब्यक्ति लडिन्छ। परिक्षामा सहभागी भएपछि उतिर्ण/ अनुर्तिण दुबै खालको प्रतिफललाइ स्वीकार गर्न सक्नु नै असल मानिसको गुण हो।कहिले सफलता कहिले असफलता त मानिसको जीवन हो।सबै कुराको भरिपूर्ण त भगवानलाई पनि थिएन ।

आफू सधैं सत्य र न्यायको बाटोमा हिड्नुपर्छ । आफुले गरेका कर्मले आफैले नै कसैका अगाडि नजर झुकाउन नपरोस बस्।सहज असहज परिस्थिति  त सबै आइहाल्छन नि । तिनको सामना गरि सकारात्मक ढंगले अगाडि बढ्नु नै मानव जिबनको औचित्य हो। तिमी कमजोर हुनु भनेको मैले दिएको शिक्षा र सस्कारमा खोट हुनु हो।त्यसैले हिम्मत नहार।एउटा अवसर छुट्यो त अर्को आउँछ।"  मनै त हो ,आमाका कुराले केही हल्का भयो ।सधैं झैं आफ्नो दैनिकी सुचारु गरे।       

दिनहरु बित्दै गए। आमाले सधैं सम्झाइरहनु हुन्थ्यो। मानिस  सुखमा मात्तिने र दुखमा आत्तिने  कहिल्यै गर्नुहुदैन।जिबनलाइ एकनासको रफ्तारमा हिडाउनुपर्छ।आफुले गर्न मिल्ने र सक्नेजती गर्दै जाने हो र आफ्नो नियन्त्रणमा नभएको परिस्थितिलाई स्वीकार गर्दै अगाडी बढ्नुपर्छ।आमाका  ती अमृत बचनलाइ शिरोधार्य गरि जिबनको रथ धकेलिरहेकी छु। जीवन चक्र न हो ।कभी  खुशी कभी गम भने झै  एकदिन  खुशिले गदगद थिए ।  मन फुरुङ  भएकोथियो।"यति धेरै माया दियौं बाच्ने रहर   बढ्न  थाल्यो " भन्ने गित गुनगुनाउदै घरको भर्याङ उक्लिदै थिए। ओहो आज त निकै खुशी देखिन्छौ त , आमाको आवाज आयो।आमासँग ढुक्कसङ आँखा मिलाएर खुशी साटे। मेरो प्रसन्नतामा आमा पनि निकै खुशि हुनुभयो । अनि मेरो टाउकामा हात राख्दै सदा खुशि रह भनि आशीर्वाद दिनुभयो। म फुरुङ्ग हुदै आफ्नो दैनिकीमा लागे। यसरी  हरेक दिन घरबाट बाहिर निस्कदा आमाले भर्याङ्बाटै बिदा गर्दै तिमिले आटेताकेको पुगोस् भनी   आशीर्वाद दिनुहुन्छ र बाहिरको काम सकेर घर फर्किदा आमा म आए भन्दै भर्याङ चढ्छु , आमा  मन्द मुस्कानमा मलाई स्वागत गर्नुहुन्छ। कहिलेकाही अलि धेरै दिन घर बाहिर रहन्छु र घरमा प्रवेश गरेपछि भर्याङ्मा अलि बेर उभिन्छु र आमा आज अलि धेरै दिनमा आए है भनेर सुनाउछु । आमाको मुहारमा उस्तै मुस्कान हुन्छ र मलाई स्वागत गर्नुहुन्छ । विगत छ बर्षदेखिको मेरो दिनचर्या यस्तै चलिरहेछ।         

यी कुराहरु सुन्दा यहाहरुलाइ जिज्ञासा लाग्ला आमालाइ त भान्सामा , बैठक कोठामा , पढ्ने कोठामा ,  सुत्ने कोठामा वा साबुन सेम्फु खोज्नुपर्दा बाथरुममा भेट्नुपर्ने होइन र ? खाली भर्याङमा मात्रै भेटेको कुरा गर्नुहुन्छ त । तपाईंहरुको जिज्ञासा मनासिब छ।  हाम्रो ममतामयी आमा ब्रम्हालिन हुनुभएको छ बर्ष भयो। उहाको एउटा तस्बिरलाई फ्रेममा राखेर मैले भर्याङको भित्तामा झुण्डाएकिछु। घरबाट बाहिर निस्कदा र  गृह प्रवेश गर्दा देख्नेगरी यो तस्बिर राखेकी छु। जति नै  पटक घरबाट बाहिर निस्कछु  आमा म बाहिर हिडे भनेर बिदा हुन्छु र बाहिरबाट घरमा आएपछि आमा म आए भन्दै भर्याङ उक्लिन्छु।     

हाम्री आमालाइ सबै कुरा एकदमै सफा र राम्रो चाहिन्थ्यो । कोठाचोटा , भान्सा , पिडि , आगन , शौचालय , गोठ सबैतिर निकै बढारकुडार गर्नुहुन्थ्यो। पुराना भएका गुन्द्रीले छिट्टै नै बिदा पाउथे।परालका झुत्रा झर्न थालेपछि कि गोठमा थन्किन्थे कि बारीमा पोलिएर मलको काम गर्थे । त्यतिबेला भान्सामा कुर्सी टेबुलको सट्टा काठका पिर्का हुन्थे। पिर्कामा  बसेर खाना खाइन्थ्यो।हरेक दिन ती पिर्का बाहिर निकालेर पानीले धुनुपर्थ्यो। दुधका बाल्टी , तताउने कराही , महि पार्ने ठेका , घ्यु राख्ने ठेकी / बट्टा  , नुन / खुर्सानी / बेसारका बट्टा सबै सधै सुकिला राख्नुपर्थ्यो हाम्री आमालाइ। पुजा कोठामा राखिएका करुवा/ आम्खोरा , अबिर / केशरी र जौतिलका बट्टाहरु समेत सधै सफा र उज्याला बनाउनुहुन्थ्यो। लुगा धुने कुरामा पुरै सफा गरी ननिखारेको भनि हामिले हप्किदप्कि खानुपर्थ्यो। बच्चाबच्चीका कपडा त अझै सचेत भएर धुन सिकाउनुहुन्थ्यो। नुहाउने , लुगा धुने र घरको लिपपोत गर्ने काममा आमालाइ सधै जागर चल्थ्यो।हाम्री आमाका दस सन्तान हामी सबै सकुशल छौं ।हामी बच्चा छदा घर नजिकै नहरमा पानी  बगेको हुन्थ्यो। आमाले हामिलाइ हात ,खुट्टा ,मुख धुन पठाउनुहुन्थ्यो र जसका हात ,खुट्टा ,मुख राम्रा हुन्छन् उ राजा हुन्छ भन्नुहुन्थ्यो। हामी दौडेर कुलामा जान्थेउ र राजा बन्ने रहरमा सफा भएर फर्किन्थेउ। एउटा डिग्री लिएर कक्षामा बिध्यार्थीलाई प्रोत्साहित गरेर पढाउने  शिक्षकको  भन्दा कम थिएन हाम्री आमाको कला।         

कृषि कर्ममा निर्भर रहेको हाम्रो  परिवारमा   दिउँसो  स्कुलको पढाइ र साझबिहान    सबैका लागि  न्यायोचित ढंगले कामको बाडफाड हुन्थ्यो ।सानालाई  सानै काम  र अलि ठुलालाई  ठुलै काम  हुन्थे ।  खेतीपातीको काममा घरकै मानवीय स्रोत र सिपले मात्र भ्याउदैनथ्यो।  त्यसैले छरछिमेकबाट ज्यालादारीको रूपमा खेताला  बोलाउने चलन थियो।  २ दिन/ ४ दिन/ १० दिन जति दिनको काम छ त्यो सकेपछि एकैपटक धेरै दिनको ज्याला दिनुपर्यो भने हाम्री आमाले कामदारका श्रीमान श्रीमती दुबै जनालाइ सङै राखेर दिनुहुन्थ्यो। दुबै जनालाइ सङै राखेर दिएको पैसाले घरमा चाहिने कुरामा मात्र खर्च हुन्छ। घर खर्चमा  मितब्ययिता हुन्छ । घरको खाद्यान्न  किन्ने काम  र छोराछोरीको   किताब कापी प्राथमिकतामा पर्छ ।परिवारमा मेलमिलाप हुन्छ भन्ने आमाको धारणा थियो। 

आमाको यो व्यवहारिक कला अहिले आएर विष्लेषण गर्दा लैगिक रुपमा विभेद रहेको हाम्रो समाजमा अहिले पनि त्यत्तिकै महत्वपुर्ण लाग्छ। परिवारका सबै सदस्य मिल्नुपर्छ। घरमा हुनुभएका आमाबाबा / सासुससुरा बृदबृद्दालाइ सम्मान गर्नुपर्छ।गर्भवती महिला र साना दुघे बच्चालाइ खाना र सरसफाइमा विशेष ध्यान दिनुपर्छ जस्ता कुराहरु सबैजना सग गरेको हामि बच्चा हुदादेखि नै सुन्दै आएका हौ। जतिजति सम्झियो आमाका यी सबै कुराहरु अत्यन्त्तै जिबन उपयोगी रहेछन भनेर भन्ने लाग्छ।         

हाम्रो पिताजी सामाजिक काममा बढी समय बिताउनुहुन्थ्यो।तत्कालीन अबस्थामा गाउको प्रधानपन्च हुनाले पनि घरायसी कामको ब्यबस्थापन , हामिहरुको पढाइलाई मध्यनजर गर्दै समयमा खाना खुवाउनुपर्ने बाध्यता , हाम्रो लुगाफाटो ,  गोठका बस्तुभाउ , कृषि कर्मको चाजोपाजो सबै आमाले नै बढि गर्नुहुन्थ्यो । त्यसको अलावा घरमा आउने पाहुनापाछाको खानपिन र सत्कार पनि थप जिम्मेवारी थिदैथियो। तत्कालीन अबस्थामा गाउको प्रधानपन्च नै सबैथोक हुनुपर्थ्यो। कुलोपानी, साघसधियार , दाउराघास , बाटोघाटो लगायतका विषयमा परेका झैझगडा मिलाउनका लागि आगनमा कचहरी नै चल्ने गर्थ्यो। यसको अलावा जनसरोकारसग जोडिएका समस्या लिएर आउने ब्यक्तिहरुको पनि उपस्थिति भैरहन्थ्यो। घरमा घोडचढिदेखि सबै खालका मानिसहरुको आवतजावत चलिरहन्थ्यो।

पर्बतको सदरमुकाम कुस्मा र पर्बतको दक्षिण भेकको बीचमा पर्ने फलेवासमा हाम्रो घर हुनाले पनि सदरमुकाम आउने र काम सकेर फर्किने बुवाका साथीहरू बुवासङ थप  सरसल्लाह गर्नका लागि पनि आउने गर्नुहुन्थ्यो ।त्यसताका त्यतीसारो होटलहरुमा बस्ने चलन थिएन । अतिथि सत्कारलाई ठुलो धर्म मानिने हाम्रो परिवारको सस्कार पनि थियो।  ससानो काममा सघाउने त हामी पनि गर्थ्यौ। तर पनि आमाको रेखदेख र खटनपटन सहितको नजर सबैतिर पुगेकै हुन्थ्यो। विस्तारै ठुलो दाजुले आमा बुवाको जिम्बेबारीलाइ थप सपोर्ट गर्दैजानुभयो। दस जना सन्तान जन्मेहुर्किएको हाम्रो परिवारमा ठुलो दाजुको प्रभाव हामि सबैमा पर्दैगयो र क्रमशः आग्याकारी सन्तानको रुपमा उमेर अनुसारको जिम्वेवारी लिदै गयौ।       

हाम्रो ठुलो परीवार त्यसमा पनि हामी  छोरीहरु धेरै भएको परिवार ।बिबाह हुने लाइनमा रहेका छोरीहरुलाइ   राखेर  आमाले   सम्झाउनुहुन्थ्यो।  बिबाह भनेको छोरीको लागि पुनर्जन्म हो।एउटा परीवारमा जन्मेर  हुर्केर त्यहिको सस्कारबाट दिक्षित भएकी छोरी फेरि अर्को परीवारमा घुलमिल हुनुपर्छ ।त्यो परिवारका सबै सदस्यको माया पाउनुपर्ने हुन्छ । आफ्नो इच्छा , चाहना , पढाइ , नोकरी  , आफ्नो करीयर त्यो त छदैछ ।त्यसको साथै श्रीमान र परिवारप्रतिको दायित्व पनि अत्यन्तै महत्वपुर्ण कुरा हो। त्यसैले घरमा राम्रोसँग घुलमिल हुनका लागी  बिबाह गरेर घरमा गएपछि सबै कुरा सासू आमालाइ सोधेर चल्नुपर्छ । उहाका लागी नया लाग्ने तर आबस्यक कुरा छ भने  एक्लै भएको बेलामा राम्रोसँग सम्झाउनुपर्छ। सासू आमाका लागी आफ्नो बुहारी भनेको आफ्नो छोराको खुशी हो।परीवारको  गौरव हो। उहासङै आफुलाइ परेका सजिला असजिला सबै कुरा राम्रोसँग भन्नुपर्छ ।आमा भनेको घरको मियो हो ।परीवारको केन्द्र हो। परीवारमा सबैजना सङ नम्र भएर बोल्नुपर्छ ।ढाट्ने झुटो बोल्ने काम कहिल्यै गर्नुहुदैन। मानिस कोहि पनि सबै कुरामा निपुण हुन सकिदैन तर सिक्ने जिज्ञासा सधैं हुनुपर्छ ।म गर्छु , म सक्छु  भन्ने हिम्मत , साहस  र आत्मबल सधैं हुनुपर्छ । आमाले सिकाएका यस्ता ब्यबहारिक कुराहरू अझै पनि मानसपटलमा ताजै छन।        

एउटा विद्वानले भनेका छन " पुस्तकालयका ठुला ठुला पुस्तकका ठेली पढ्न छोडेर मैले मेरी आमालाइ पढे  र  जिबनको सार बुझे "। वास्तवमा  सबै आमाहरु त्यही श्रेणीमा पर्छन् होला । हाम्री आमाका सुन्दर उपहार हामी  दसै जना छोराछोरी र हामिसङ जोडिन आएका परिवारका  थप सदस्य प्रीयजनहरु   र आमाको सुन्दर फुलबारीका  प्यारा बच्चाबच्चीहरु  सबैको नजरमा हाम्री  आमा महान हुनुहुन्छ । 

No photo description available.हामी मध्ये  कसले कति ग्रहण गर्न सक्छौं त्यो त बेग्लै कुरा हो तर  आमाको सरसफाइको पक्ष , ब्यबस्थापकिय पक्ष र परिवारमा मेलमिलाप गर्ने/ गराउने देखी सामाजिक दायित्व सम्मका सबै कुराहरू  अत्यन्तै अनुकरणीय लाग्छन। जीवन जिउने कलासङ जोडिएका र ब्यबहारिक लाग्छन। यिनै जन्मदाता र शक्तिदाता आमा  भगवानको प्यारो हुदा पनि जीवन चल्नैपर्ने  र चलाउनैपर्ने रहेछ।  यो मृत्यु भन्ने चिज पनि कति कठोर र निर्दयी छ भने न एकपटक झुर्लुक्क देख्न पाउने  , न एकपटक  फोनमा बोल्न पाउने। त्यसैले आमाको तस्बिरसङ मेरो सामीप्यता बढेकोछ।  तस्बिर सङै बोल्ने बानी परेकोछ।मेरो खुशीमा आमा खुशी देखिनुहुन्छ र म दुखी हुदा सम्झाएको , साहस  र शक्ति दिएको अनुभुती हुन्छ। कतै त्यो फोटोमा फोहोर लाग्ला कि भनेर सधै सचेत रहन्छु।  जतनसाथ निकालेर  धुलो पुछ्ने गर्छु।  घरका कुनाकाप्चासम्म कुचो डुलाएर माकुराको जालो लाग्न दिनु हुदैन है भन्दै घर  सधै सफा राख्ने आमाको फोटो फ्रेममा कतै माकुराको जालो त लाग्दैन , म चिन्तित हुन्छु र छिटो छिटो त्यो अनमोल फोटो फ्रेम सफा गर्छु। अरु सबैका लागि त्यो फोटो फ्रेम एउटा निर्जीव चिज हुन सक्छ ।तर मेरा लागि त्यो अमर  छ।जिबन्त छ । मेरो सुखदुखको साथी बनेकोछ।मेरो जिबनको मार्गदर्शक बनेकोछ। भर्याङको कुनामा  उभिएर नै किन नहोस्  म घर बाहिर निस्कदा आशीर्वाद बर्साएकोछ भने घरमा प्रवेश गर्दा स्वागत गरेकोछ , त्यो हो  मेरी आमाको बोल्ने तस्बिर । अस्तु

प्रतिक्रिया