जिल्लाको सुदुर गाउँ, तमानखोला । तमानखोलाको तमान गाउँ । हेर्दा पनि आकर्षक देखिन्छ । टम्म मिलेको तमानगाउँको बस्तीले त्यहाँ पुग्नेहरुको मन लोभ्याउँछ । तर तमान गाउँको बस्ती मात्रै यहाँको परिचय होईन । अब यहाँको परिचयमा नयाँ आयामहरु थपिन थालेको छ । तमान गाउँका महिला दिदी बहिनी मिलेर गाउँमै ढाका उद्योग स्थापना गरी अहिले सामुहिक ढाका बुनाईमा व्यस्त हुन थालेका छन् । ढाकाबाट बनेका आकर्षक कपडाहरुले पनि यो गाउँलाई अब पहिचान दिलाउने देखिन्छ । गाउँमा केही छैन, बसेर पनि के गर्ने भनेर वैदेशिक रोजगारी ताक्ने युवायुवतीहरुका लागि महिला दिदी बहिनीको मेहतन गतिलो उदाहरण बन्दै गएको छ ।
तमानखोला गाउँपालिका—३ का महिलाहरुले सामुहिक ढाका बुनाई गरेर आत्मनिर्भर हुन थालेका हुन् । स्थानीय कल्याण आमा समुहको भवनमा दिदी बहिनीहरुको ढाका उद्योग छ । त्यहाँ उनीहरुले ढाकाबाट विभीन्न कपडाहरु उत्पादन गर्ने गर्छन् । सधैं घरको काममा अल्झिने महिलाहरु विस्तारै आर्थिक आर्जन गर्ने बाटोमा लागेका छन् । बिहान बेलुका घरको काम गरेर दिनभर ढाका उद्योगमा जम्मा भएर उनीहरुले ढाकाका सामग्रीहरु बनाउन गरेका छन् । जसले गर्दा उनीहरुको दैनिकी नै फेरिएको छ । संगम म्याग्दीसंगको सहकार्यमा घरेलु तथा साना उद्योग कार्यालय बागलुङ मार्फत ढाका बुनाई तालिम लिएका उनीहरुले त्यसलाई व्यवसायिक बनाउन तम्सिएका हुन् ।
तालिममा सहभागी २० जनामध्ये १४ जनाले अहिले उद्योगमा आवद्ध भएर काम गरिरहेका छन् । अधिकाँस युवा उमेर समुहका महिलाहरु ढाका बुनाई उद्योगमा आवद्ध भएको कल्याण आमा समुहकी अध्यक्ष तनिसा घर्तीमगर बताउँछिन् । ‘संगम म्याग्दी मार्फत २० जनाले तालिम लिएका थियौं, अहिले १४ जनाले यो उद्योगलाई अगाडि बढाएका छौं,’ उनले भनिन्,‘राम्रो हुँदै गयो भने राम्रो आम्दानी होला भन्ने विश्वास छ ।’ ११ वटा तानमा दैनिक महिलाहरुले ढाकाबाट कपडा बुनिरहेका हुन्छन् । तानमा काम नभएका महिलाले ढाका मिलाउने काम गर्छन् । हातमा सिप भएपछि धेरै सजिलो हुँदै गएको उनको भनाई छ ।
‘हातमा सिप हुनु नै सबैभन्दा ठूलो कुरा रहेछ, हातमा सिप भयो भने त भोकै मर्नुपर्छ जस्तो लाग्दैन रहेछ,’ उनी भन्छिन्,‘अहिले त यही कामबाट दुईचार पैसा देख्न पाईएको छ । बजारको व्यवस्थापन गर्ने कार्यमा सहयोग भयो भने हामीले अझै राम्रो गर्न सक्छौं भन्ने लागेको छ ।’ उद्योग सञ्चालन गरेको छोटा समयमै विभीन्न ठाउँबाट ढाकाका कपडाहरुको माग आउने थालेपछि उनीहरु थप उत्साहित भएका छन् । स्थानीय महिलाहरुले ६०÷६० हजार लगानी गरेर सञ्चालनमा ल्याएको उद्योगले अब विस्तारै नाफा दिने उनीहरुको विश्वास छ ।
‘हामीले आफैले रकम हालेर यो उद्योग चलाएका हौं, विभीन्न ठाउँहरुबाट कपडाको माग पनि आउने गरेको छ त्यसले गर्दा हामीलाई काम गर्नका लागि झन् हैसला मिलेको छु,’ उनी भन्छिन् । आमा समुहको भवनमा नै उद्योग सञ्चालन भएकाले घरभाडा तिर्नु परेको छैन । ‘दिदी बहिनीहरुकै लागि निर्माण गरिएको भवन हो, त्यसलै उद्योग सञ्चालन गर्दा भवनको भाडा तिर्न परेको छैन,’ उनी भन्छिन्,‘अहिले काम गर उत्पादन ठिकठिकै छ । पछि राम्रो हुँदै जान विश्वास गरेका छौं ।’ उद्योग ढाकाबाट सल, टोपी, गलबन्दी, इस्टकोट, झोला, खादा लगायतका कपडाहरु बनाउँदै आएका छन् । उत्पादित सामानको बजारीकरणमा सहयोग पाए आफुहरुले धेरै उत्पादन गर्न सक्ने जुनुमाया घर्ती बताउँछिन् ।
‘अहिले त हामीले यही गाउँघरमै विक्री वितरण गर्दै आएका छौं, यसका बजार विस्तारका लागि सहयोग भए हामीले अझ राम्रो उत्पादन गर्न सक्थ्यौं जस्तो लाग्छ,’ उनी भन्छिन्,‘यो उद्योगलाई स्थापित गर्नका लागि मुख्य समस्या बजारको देखिन्छ ।’ अहिलेसम्म प्रशिक्षण र केही समान खर्च जुटाई सकेको र उत्पादनले राम्रो बजार पाएमा केही समयमै आफुहरु नाफामा जानसक्ने बताईन् । उद्योग सञ्ञ्चालन भएको धेरै पनि भएको छैन, तालिम खर्च र लगानीको केही अंश त हामीले उठाएका छौं, राम्रो बजार पायौं भने नाफामा चाँडै पुग्न सकिन्छ भन्ने लागेको छ,’ उनले थपिन् । कपडा निर्माण गर्न चाहिने धाका तथा अन्य सामानहरु बुर्तिबाङ, पोखरा तथा काठमाण्डौबाट ल्याउने गरेका छन् ।
एउटा सल बुन्नको लागि २ देखि ३ दिनसम्म लाग्ने गर्छ । अरु कपडाहरु बुन्नका लागि १ दिनदेखि हप्ता दिनसम्म लाग्ने उनीहरु बताउँछन् । एउटा गलबन्दीको मूल्य एक हजारदेखि १५ सयसम्म पर्ने गर्छ भने एउटा सलको १२ सय देखि २ हजार पाँच सयसम्म पर्ने गर्छ । स्थानीय महिलाहरु उत्साहका साथ ढाका बुनाईमा तल्लिन भएकाले त्यसको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा बताउँछन् । ‘दिदी बहिनीहरुले निकै राम्रो मेहनत गर्नुभएको छ, त्यसको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्नेछ,’ उनले भने,‘यसले महिलाहरुको आर्थिक सवलीकरणमा ठूलो मद्दत पुग्ने विश्वास छ ।’ सीप सिकेर गाउँमै स्वरोजगार बन्न चाहानेहरुलाई गाउँपालिकाबाट सदैव सहयोग रहने उनको भनाई छ ।
बागलुङको तमानखोलामा वेवारिसे शव फेला
बागलुङको तमानखोलामा एक वेवारिसे शव फेला परेको छ । तमानखोला गाउँपालिका केन्द्र नजिकै एक जना पुरुषको शव फेला परेको हो । ईलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार शुक्रबार साँझ खोलामा वेवारिसे अवस्थामा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरी टोली त्यहाँ पुगेर घटना बारे अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले बताए । वेबारिसे शव गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।