बागलुङ- जिल्लाको बडिगाड गाउँपालिका ग्वाीचौर र गुल्मीको पौंदी अमराई लगायत आसपास पौंदी क्षेत्रका स्थानीयले न्वागी खाएका छन् । हरेक वर्ष मंसिर महिनामा विशेष दिन जुराएर पौंदेलीले न्वागी खाने गर्छन् । यो वर्ष मंसिर ३ गते सोमबार पौंदी क्षेत्रका स्थानीयले नयाँ अन्न चढाएर खानका लागि फुकुवा गरेका छन् । सोमबार बिहान ९ः३७ मिनेटको शुभसाईटमा उनीहरुले न्वागी खाएर नयाँ धानको फुकुवा गरेका हुन् ।
पौँदेलीहरुले धार्मिक विधि विधान अनुसार विष्णु भगवानलाई चढाएपछी न्वागी ग्रहण गरेर न्वागी पर्वको शुभारम्भ गर्ने गर्छन् । न्वागी खाने पौंदेलीहरुको शदियौँ देखी चलिआएको धार्मिक एवं साँस्कृतिक परम्परा हो । न्वागी मेला पौंदेलीहरुको मौलिक चाड हो । बागलुङको साविक ग्वालीचौर गाविस र गुल्मी मुसीकोट नगरपालिका अन्तर्गत पर्ने पौंदी अमराई, नेटा, ईस्मा पौंदी क्षेत्रमा पर्छन् । पौंदी क्षेत्रमा न्वागी मेला मनाउने दुई वटा कारण रहेको स्थानीय पौंदी न्वागी बडिगाड—५ ग्वालीचौरका कृष्ण घिमिरले बताए ।
‘१५५० मा स—साना टुक्रे राज्यहरु हुँदै गर्दा बागलुङको ग्वालीचौर ईस्मा राज्य अन्तगर्त पथ्र्यों, गुल्मीको नेटा, पौदीअमराई, ईस्मा र ग्वालीचौरमा ८० घरहरु थिए,त्यसलाई ईस्मा राज्यले पौंदी क्षेत्र भनेर घोषणा गरेका थियो,’ घिमिरेले भने,‘ग्वालीचौरमा धेरै धान खेति हुने भएका कारण नयाँ अन्न खानका लागि अनुसासन कायम गर्न भगवानलाई चढाएर मात्र खाने प्रचलन ल्याईएको हो भन्ने छ । कात्तिकमा धानबाली भित्र्याए पनि मंसिर लागेर न्वागी चढाएर मात्रै खाने चलन छ ।’ न्वागी खाँदा नयाँ चामललाई दही भिजाएर केरा, तिल, चिनीसंग घोलेर पाहुनालाई खुवाउने र आफुले खाने अनि नयाँ चाममलको भात पकाएर पाहुनालाई खुवाएपछि बल्ल वर्षभरिका लागि नयाँ अन्न खानका लागि खुला हुने उनी बताउँछन् ।
‘त्यती बेलाको समयमा धानबाली मुख्य थियो, त्यसकारण अन्नमा पनि अनुशासन कायम गर्न यस्तो गरिएको भन्ने भनाई छ । यसलाई तथ्यमा पुष्टी गर्न सकिएको छैन,’ उनले भने । पौंदेलीहरुले न्वागीलाई दशैं तिहार भन्दा ठूलो चाडको रुपमा मनाउँछन् । पौंदी क्षेत्रबाट विदेश गएकाहरु दशैं तिहारमा नभई न्वागीमा घर आउने गर्छन् । न्वागीलाई धुमधामका साथ मनाउने अर्को पनि कारण छ । घिमिरे भन्छन्,‘त्यतीखेरको समयमा जुम्ला राज्यले पौंदी क्षेत्रलाई कब्जा गर्नका लागि आएको पौजलाई पर्वत राज्यसंग मिलेर ईस्मा राज्यले पराजित गरेको खुशीमा पनि न्वागीलाई धुमधामका साथ मनाउने प्रचलन बसेको हो भनिन्छ ।’ हरेक वर्ष पौंदेलीहरुले न्वागीको अवसरमा साता दिनसम्म विविध कार्यक्रमको आयोजना गर्ने गर्छन् । न्वागी मेला र पौंदी क्षेत्रको आफ्नै विशेष सम्बन्ध रहेको स्थानीय कलाधर घिमिरे बताउँछन् । ‘न्वागी र हामी पौंदी क्षेत्रकाहरुको आफ्नै खालको सम्बन्ध छ,’ उनले भने,‘न्वागी यहाँको पहिचान पनि हो । त्यसैले हरेक वर्ष उत्सवको रुपमा यसलाई मनाउने गथ्र्यौं यो वर्ष कोरोना महामारीका कारण मेला गर्ने र आफन्तलाई बोलाउने गर्न सकिएन ।’
न्वागी मेला बडिगाडको पनि ईतिहाँस र पहिचानसंग जोडिएको उनको भनाई छ । ‘न्वागी मेला भनेर धेरै ठाउँमा ग्वालीचौर परिचित छ,’ उनले भने,‘यसको थप प्रचार प्रसार गर्ने र न्वागीसंगै यहाँका विभीन्न क्षेत्रको बारेमा जानकारी गराएर पर्यटन प्रवद्र्धन र विकास गर्न सके यसबाट बडिगाड गाउँपालिकाले निकै ठूलो लाभ लिन सक्छ ।’ न्वागीको अवसरमा विगतमा विविध सांस्कृतिक र खेलकुदका कार्यक्रम सहित बडिगाड महोत्सव समेत आयोजना गर्ने गरिएको छ ।
न्वागी कहिलेबाट मनाउन सुरु गरिएको हो भन्ने एकिन र लिखित इतिहास नभएको पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष गुणनिधि घिमिरेले बताए । किम्बदन्तीको भरमा परम्परागत रुपमा चल्दै आएको छ, लिखित इतिहास छैन । परम्परागत संस्कार संस्कृतिको संरक्षणका लागि गाउँपालिकाले प्रयास थालेको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताईन् । ‘हामीले परम्पराहरु जोगाउनका लागि भनेर केही प्रयासहरु गरेका छौं, यसबारेमा ब्रोसरहरु तयार गर्ने काम गर्ने योजनमा छौं,’ उनले भनिन्,‘स्थानीय पाठ्यक्रममा यी विषयहरु समावेश गरेको विद्यालयमा पठन पाठन सुरु गरेका छौं ।’
न्वागीलाई पौंदेलीहरुको पहिचानको रुपमा लिन्छन । जर्डन धानको चामललाई, दही, केरा, सिलाम, चिनी, मह लगायतका वस्तुलाई मिसाएर तयार पारिएको न्वागीलाई पौदीबासीहरुले विधिवत रुपमा शुभसाइत जुराएर आ–आफ्ना नातागोता, इष्टमित्र र आफन्तजनहरु बोलाएर न्वागी खान्छन् । पौंदीमा खेत नहुने र घरमा नयाँ धान नपाउनेहरुलाई पनि न्वागी खुवाउने गरिन्छ । यसलाई साँस्कृतिक भाईचाराको चाडको रुपमा पनि लिईन्छ । पौँदेलीहरुले न्वागी पर्वलाई सानो दशैको रुपमा मनाउने गर्छन् ।
गुल्मी छत्रकोटमा पण्डित, पुरोहित पुजारी र भलाद्मी भेला भएर गरेको निर्णयानुसार धान काट्ने र न्वागी खाने दिन समय र कुन दिशातर्फ पर्कने भन्ने समय तय हुन्छ । न्वागी नखाएसम्म नयाँ धानको चामल नखाने, बेचबिखन नगर्ने, ऐंचोपैंचो लिनेदिने काम हुन्न । बागलुङको ग्वालिचौर र गुल्मी जिल्लाको नेटा, अमराईबासीहरुले न्वागीलाई विशेष रुपमा मनाउने गरेको बडिगाड—५ का वडाध्यक्ष विष्णु आचार्यले बताए ।
पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजना खारबजारमा पाँच दिनसम्म चल्ने मेलामा खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । मेलामा खुल्ला पुरुष भलिवल सहित खुल्ला लोक भजन, पौंदि न्वागी डान्स च्याम्पियन, खुल्ला समुहगत रेकर्ड डान्स, सोरठी भैलो, नौमति बाजा लगाएतका प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको प्रचार प्रसार संयोजक रामप्रसाद घिमिरले बताए ।
कार्यक्रममा वृहत कृषि मेला प्रदर्शनी, कराँते प्रदर्शनी लगाएत लाखेनाच, घाटुनाच तथा हेम्फैनाचको समेत प्रदर्शनी हुने आयोजकले जनाएको छ । पौंदिवासीहरुको पहिचान, न्वागी मेलाको संरक्षण र सम्मान भन्ने नारासहित आयोजना हुन लागेको मेलामा प्रकाश दूतराज, राज गुरुङ, खुमन अधिकारी, दिलु सलामी, शान्तिरानी परियार, कालिका रोका, इश्वर सिंह, उज्वल गिरी, तारा थापा लगाएतका कलाकारहरुको प्रस्तुती रहने भएको छ। सोमबारबाट सुरु भएको मेलाको मंगलबार उद्घाटन गरिने बताईएको छ ।
खानका लागि तयार पारिएको न्वागी : फाईल तश्विर