नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजलाई लक्षित गर्दै अस्ट्रेलियाको क्यानबेरामा बसोबास गर्दै आएका बिक्रम शर्माले नयाँ तिज गीत ‘परदेशीको तिज’ सार्वजनिक गरेका छन्। परदेशमा रहेका नेपालीहरूको तिज, परिवार र जन्मभूमिप्रतिको सम्झना तथा भावनालाई समेटिएको यो गीत बिक्रमका लागि व्यक्तिगत रूपमा समेत विशेष बनेको छ।
यस गीतमार्फत बिक्रमकी आमा सरु पौडेलले पहिलोपटक औपचारिक रूपमा आफ्नो स्वर रेकर्ड गराएकी छन्। आमाले गाउँघरमा गुनगुनाउने लोकभाका र मिठा लयहरू सुन्दै आफूमा लोकसङ्गीतप्रतिको रुचि जागेको र त्यहीँबाट आफ्नो साङ्गीतिक यात्राको आधार बनेको बिक्रम बताउँछन्। त्यसैले आमाको स्वरमा एउटा गीत रेकर्ड गराउने उनको लामो समयदेखिको चाहना थियो। ‘परदेशीको तिज’ मार्फत उक्त चाहना पूरा भएको उनले बताएका छन्।
गीतमा सरु पौडेल, बिक्रम शर्मा र अन्जिता विश्वकर्माको स्वर रहेको छ। गीतका शब्द कपिल पन्थि ले लेखेका हुन् भने सङ्गीत संयोजन तथा हुक लाइन युनिस अधिकारीको रहेको छ।
गीतको म्युजिक भिडियोको सम्पूर्ण छायांकन अस्ट्रेलियाको राजधानी क्यानबेरामै गरिएको हो। भिडियोमार्फत एन्जिला थपलियाले म्युजिक भिडियोमा औपचारिक डेब्यु गरेकी छन्। भिडियोमा एन्जिलासँगै रोशन रेग्मी र सरु पौडेलको अभिनय देख्न सकिन्छ।
भिडियोलाई रोशन रेग्मीले निर्देशन गरेका हुन् भने यसको कथा तथा अवधारणा बिक्रम शर्माको रहेको छ। भिड़ियो छायांकन सरोज अर्याल र इडिट अमृत चापगाईं को रहको छ, अस्ट्रेलियामा रहेका नेपाली कलाकार तथा सिर्जनशील व्यक्तिहरूको सहकार्यमा तयार पारिएको भिडियोले परदेशको जीवनसँगै तिजको मौलिक भावना, परिवारप्रतिको माया र नेपाली संस्कृतिसँगको आत्मीय सम्बन्धलाई प्रस्तुत गर्ने प्रयास गरेको छ।
आफ्नी आमाको स्वरलाई पहिलोपटक गीतमार्फत श्रोतामाझ ल्याउन पाउनु आफ्नो साङ्गीतिक यात्राको निकै भावुक र विशेष क्षण भएको बिक्रम बताउँछन्। आमाकै गुनगुनाहटबाट लोकसङ्गीतप्रतिको माया सिकेका उनले अहिले आमाकै स्वरलाई औपचारिक गीतका रूपमा सार्वजनिक गर्न पाउँदा एउटा पुरानो सपना पूरा भएको अनुभूति भएको बताएका छन्।
‘परदेशीको तिज’ बिक्रम शर्मा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।