बागलुङ । देशभर भइरहेको भारी वर्षा तथा प्रतिकूल मौसमका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बागलुङ क्षेत्र नं. १ मा भोली असोज १० गते हुने भनिएको क्षेत्रीय तथा प्रदेश अधिवेशन एक दिन पछि सरेको छ।
पछिल्लो मौसमको अवस्था, लगातार भइरहेको वर्षा तथा प्रतिकूल मौसमका कारण आवतजावतमा पर्न सक्ने समस्या र सम्भावित जोखिमलाई मध्यनजर गर्दै बागलुङ क्षेत्र नं.१ को क्षेत्रीय तथा प्रदेश अधिवेशन असोज ११ गते सम्पन्न गर्ने निर्णय गरिएको जनाइएको छ।
नेपाल मौसम विज्ञान विभागले पछिल्ला दिनमा देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण सडक तथा यातायातमा अवरोध, पहिरो तथा स्थानीय खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
नेपाली कांग्रेसले पनि भारी वर्षाका कारण अधिवेशन प्रक्रियामा कठिनाइ उत्पन्न भएको भन्दै मौसमको अवस्था हेरी आवश्यक समन्वयमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको क्षेत्रीय सभापती चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिए ।
समयको प्रतिकुलका कारण बागलुङ क्षेत्र नं १ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, वडा सभापति तथा क्रियाशील सदस्यहरूलाई असोज ११ गते हुने अधिवेशनमा तोकिएको मिति, स्थान र समयमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ।
साथै, प्रतिकूल मौसमका कारण यात्रा गर्नुपर्ने प्रतिनिधिहरूले मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, पहिरो तथा बाढीको जोखिम भएका स्थानमा सावधानी अपनाउन र सम्बन्धित निकायको सुरक्षा सुझाव पालना गर्न क्षेत्रीय समितिले आग्रह गरेको छ ।