नेपाली कांग्रेसको १५औँ महाधिवेशन चलिरहदा बागलुङमा पनि संस्थापन इतर समुहले भने आफ्नो सम्पर्क कार्यालय संचालन गरेको छ । महाधिवेशनको गाउँ तथा नगर अधिवेशन चलिरहेका बेला पूर्वसभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री शशांक कोइराला पक्षधर नेताहरूले बागलुङमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरेर छुट्टै महाधिवेशनको तयारीका लागि आफ्नो सक्रियता बढाएका हुन् ।
बागलुङ नगरपालिका–२ बाघचोकमा बिहीबार स्थापना गरिएको महाधिवेशन सम्पर्क कार्यालय उद्घाटनमा कांग्रेसका पूर्वसभापतिहरू मणिभद्र शर्मा कँडेल, दीपेन्द्र थापा र जितबहादुर शेरचन लगायत नेताको उपस्थिति थियो । गत ३ र ४ गतेको वडा तहमा सहभागी भएर कुनै पद नपाएका केही नेताहरुपनि सम्पर्क कार्यालयमा उपस्थित भएको सहभागी एक नेताले बताए । उनले आफुहरुलाई संस्थापन पक्षले कुनै वास्ता नगरेपछि यता आएको भन्दै संस्थापन पक्षसँग असन्तुष्टी नेतालाई समेटर लैजाने बताए । कार्यक्रममा जिल्लाका अन्य केही नेताहरुको उपस्थितिमा कार्यालय स्थापना भएपछि जिल्लाको कांग्रेस राजनीतिमा नयाँ शक्ति समीकरणको संकेत देखिएको छ ।
सम्पर्क कार्यालय उद्घाटन गर्दै कांग्रेस नेता तथा पूर्वसभापति मणिभद्र शर्मा कँडेलले नियमित महाधिवेशनको विकल्प नभएको बताए । पार्टीभित्र देखिएको असमझदारी अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउन नियमित महाधिवेशन आवश्यक रहेको बताए ।
“रुख चिन्ह अदालतमा रहेकाले पार्टीलाई एकताबद्ध बनाउन नियमित महाधिवेशनको पक्षमा उभिएका हौँ”, उनले भने। संस्थापन इतरपक्षका बागलुङका संयोजक सागर छन्त्यालले वडा र पालिका तहदेखि नै महाधिवेशन केन्द्रित गतिविधि तीव्र बनाइएको बताए । स्थानीय तहदेखि जिम्मेवारी बाँडफाँट गरी संगठन विस्तार र महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको जानकारी दिए ।
कांग्रेसको १५औँ महाधिवेशनका लागि वडा तथा पालिका तहका अधिवेशन अघि बढिरहेका बेला बागलुङमा संस्थापन इतर पक्षले औपचारिक रूपमै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो । जिल्लामा संस्थापन पक्षको भने यतिबेला पालिका तहको अधिवेशन सम्पन्न भएको छ । काँग्रेस संस्थापन इतर पक्षले यही असोज १५ गतेबाट वडा तहको अधिवेशन आह्रवान गरेको छ ।