बागलुङ- जिल्ला बाल सञ्जाल बागलुङको अध्यक्षमा रश्मी श्रीष चयन भएकी छन । बिहीबार बागलुङ बजारमा आयोजित जिल्ला बाल सञ्जाल पुनर्गठन कार्यक्रमबाट जैमिनी नगरपालिका–१०, राङखानीस्थित राङखानी माध्यमिक विद्यालयका श्रीष सर्वसम्मत अध्यक्षमा चयन भएको अध्यक्ष मण्डलका सदस्य रचना आचार्यले जानकारी दिईन ।
सञ्जालको उपाध्यक्षमा निसीखोला गाउँपालिका–३ स्थित प्रभा माध्यमिक विद्यालयका फूलमाया सुनार, सचिवमा गलकोट नगरपालिका–९ स्थित भैरव माध्यमिक विद्यालयका समिर गौतम चयन भएका छन । समितिको सहसचिवमा अञ्जली केसी, कोषाध्यक्षमा आयुष्मा थापा चयन भएका छन । सदस्यहरूमा शर्मिला वर्मा, सुदर्शन चालिसे, दिपिना नाइसा मगर, कृषा भुषाल, हंसिका महत, अनुसा कँडेल, सुवास्ना केसी, संयोग पन्त, रेश्मा रसाइली र उषा पौडेल रहेका छन ।
एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा भएको पुनर्गठन कार्यक्रममा जिल्लाका १० स्थानीय तहबाट पाँच–पाँच जनाका दरले प्रतिनिधिमूलक रूपमा बालबालिकाको सहभागिता रहेको थियो। जिल्ला बाल सञ्जालको कार्यकाल दुई वर्षको हुनेछ। यसअघि सञ्जालको अध्यक्षमा संस्कार गौतम रहेका थिए ।
जिल्ला बाल सञ्जालले स्थानीय तहमा बालमैत्री विकासका लागि बहस, पैरवी तथा बालबालिकाको सहभागिता अभिवृद्धि गर्नुका साथै बालअधिकारको संरक्षण र प्रचारप्रसारका क्षेत्रमा काम गर्नेछ।
कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बालबालिकाको क्षेत्रमा अझै राज्यले लगानी नसेको बताए । उनले बालबालिका भोलिको कर्णधार मात्र नभएर बर्तमान समयमा समाज रुपान्तरणका सारथी पनि भएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बालबालिकाको अधिकारलाई कसैले पनि कुन्ठीत गर्न नहुने बताएका थिए । बालबालिकाको हक अधिकार र जिल्ला बालसञ्जालको बारेमा एकिकृत कार्यालयका प्रमख पारसिंह थापाले जानकारी गराएका थिए ।