बागलुङ बागलुङको १० वटै पालिका भित्रको स्वास्थ्य क्षेत्रको सुधारमा सम्बोधन परियोजनाको भुमिका महत्वपूर्ण रहेको बताइएको छ । मंगलबार बागलुङमा आयोजिक पत्रकार तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा फेयरमेड फाउण्डेशनको सहयोगमा संचालित संवोधन परियोजनाले जिल्लाको स्वास्थ्य सेवा सुधारका लागि सक्रिय रहेको बताइएको छ । सहभागी पत्रकारले सरकारी स्वास्थ्य संस्थाबाट नदेखेका समस्या परियोजनाको सामाजिक परिचालकले देखेको र त्यसको समाधानका लागि परियोजनाले सहयोग गरेको बताए । सहभागीले विशेष गरी दुर्गम क्षेत्रमा संवोधन परियोजनाको भुमिका अतुलनिय भएको बताएका थिए ।
परियोजनाले जिल्लाका १० वटै स्थानीय तहमा स्वास्थ्य सेवा सुधार, मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा, अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण र सीमान्तकृत समुदायको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धिका लागि काम गरेको छ ।
नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन (एनजीडिएफ) र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा सञ्चालित परियोजनाले स्वास्थ्य संस्थाको पूर्वाधार सुधारदेखि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र समुदायस्तरमा स्वास्थ्य सचेतना फैलाउने सम्मका कार्यक्रम सञ्चालन गर्दै संवोधन परियोजनका संयोजक विष्णु सुवेदीले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा परियोजनाले हालसम्म गरेका गतिविधि, उपलब्धि र आगामी योजनाबारे जानकारी गराएको हो ।
परियोजनाले समावेशी र तथ्यमा आधारित स्वास्थ्य योजना तथा कार्यान्वयनका लागि स्थानीय सरकारको क्षमता विकास, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि तथा पछाडि परेका र सीमान्तकृत समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्य राखेर काम गरेको सुवेदी बताउँछन ।
परियोजनाले उपेक्षित उष्णप्रदेशीय रोग मातृ तथा नवजात शिशु स्वास्थ्य, अपाङ्गता, लैंगिक समानता तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।
परियोजनाको महत्वपूर्ण उपलब्धिमध्ये स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड (एमएसएस) सुधार पनि रहेको छ । परियोजनाको सहयोगमा गलकोट नगरपालिका २ मा रहेको नरेठाँटी स्वास्थ्य चौकीको यूनतम सेवा मापदण्डको स्कोर चार वर्षको अवधिमा ४६ अंकबाट बढेर ९८ अंक पुगेको छ ।
यस सफल अभ्यासलाई अन्य स्थानीय तहमा विस्तार गर्दै प्रत्येक पालिकामा कम्तीमा एउटा नमुना स्वास्थ्य संस्था विकास गर्ने सहयोग गर्ने लक्ष्य परियोजनाले लिएको सुवेदीले जानकारी दिए ।
परियोजनाले जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरण मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याइएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको समन्वयमा गरिएको मर्मतले लामो समयदेखि बिग्रिएर थन्किएका लाखौँ रुपैयाँ मूल्यका उपकरण पुनः स्वास्थ्य सेवामा प्रयोग गर्न सकिने बताइएको छ ।
धौलागिरि प्रादेशिक अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) सुदृढीकरण पनि परियोजनाको अर्को महत्वपूर्ण उपलब्धि रहेको छ । यसबाट समय नपुगी तथा न्यून तौलमा जन्मिएका शिशुको उपचारमा सहजता भएको फेयरमेड फाउण्डेशन बागलुङका टिम लिडर गणेश बरुवाल बताउँछन ।
परियोजनाको सहयोगमा घरमै हुने प्रसूति न्यूनीकरण र संस्थागत प्रसूति प्रवद्र्धनका लागि स्थानीय सरकारसँगको सहकार्यमा प्रसूति प्रतीक्षा घर स्थापना तथा सञ्चालन गरिएको छ ।
यस वर्ष ढोरपाटन नगरपालिकाको लाकुरीबोट आधारभूत स्वास्थ्य केन्द्रमा गलकोट नगर अस्पताल बडिगाड आधारभुत अस्पतालमा र कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुती प्रतिक्षा घर स्थापना गरिएको हो । स्थापना गरिएको प्रसूति प्रतीक्षा घरबाट लाकुरीबोटमा १८ जना, गलकोट नगर अस्पतालमा ११३ जना र कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जनाले सेवा लिएका छन ।
परियोजनाको सहयोगमा मातृ तथा नवजात शिशु स्वास्थ्यसम्बन्धी कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीलाई तालिम, अनसाइट कोचिङ तथा स्वास्थ्य स्वयंसेविका मार्फत घरभेट कार्यक्रम सञ्चालन गरिएको छ । परियोजनाले गर्भवती जाँच र प्रसुती पश्चातको जाँचको सेवासम्बन्धी सचेतनाका लागि पनि घरभेट कार्यक्रम संचालन गरेको बरुवालले जानकारी दिए ।
समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि, लैंगिक हिंसा न्यूनीकरण, बालविवाह रोकथाम, सरसफाइ तथा सामाजिक सुरक्षाका विषयमा परियोजनाले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
परियोजनाका अनुसार विभिन्न संघसंस्थासँगको सहकार्यमा मातृ तथा नवजात शिशु स्वास्थ्य, बालविवाह, सरसफाइ र सामाजिक सुरक्षा सेवासम्बन्धी ६४ वटा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । यसबाट १ हजार ९४८ जना लाभान्वित भएका छन ्।
परियोजनाले धामीझाँक्री तथा पुरातन हानिकारक अभ्यासविरुद्ध ३० वटा कार्यक्रम सञ्चालन गरी ८९० जनालाई सचेत बनाइएको छ । बालविवाह, लैंगिक हिंसा तथा अन्य सामाजिक विकृतिविरुद्ध १४३ वटा कार्यक्रम मार्फत ४ हजार १९२ जनासम्म सचेतना पु¥याइएको बताइएको छ ।
परियोजनाले अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सेवामा पहुँचसँगै सामाजिक तथा आर्थिक पुनस्र्थापनालाई पनि प्राथमिकता दिएको परियोजनाका अनुगमन तथा प्राविधिक अधिकृत सुजन पौडेलले जानकारी दिए । पौडेलका अनुसार अपाङ्गता भएका व्यक्तिहरुसँग २२ वटा कार्यक्रम मार्फत वैशाखी, ट्वाइलेट चेयरलगायतका सहायता सामग्री वितरण गरिएको छ । त्यस्तै, अपाङ्गता भएका व्यक्तिका संघसंस्था तथा पालिकास्तरीय अपाङ्गता समन्वय समितिसँग आठवटा पैरवी तथा छलफल कार्यक्रम गरिएको उनले बताए ।
तमानखोला गाउँपालिकाका चार जना अपाङ्गता भएका व्यक्तिलाई बीउ पुँजी सहयोग गरिएको छ। गाउँपालिकाको समन्वयमा मुडा बुन्ने तालिम सञ्चालन भएपछि उनीहरू आफ्नै व्यवसायमार्फत आयआर्जनमा संलग्न गराउन सफल भएको पौडेलले बताए ।
परियोजनाले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाको पूर्वाधार तथा सेवा सुदृढीकरणका लागि समेत सहयोग गरेको छ । बरेङ, काठेखोला र बागलुङ नगरपालिकाका स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा सुधारका लागि सहयोग गरिएको छ । धौलागिरि अस्पतालमा एमएमडीपी केन्द्रको सेवा गुणस्तर सुधार तथा पाँचवटा पालिकाका स्वास्थ्य संस्थामा बायोमेडिकल उपकरण मर्मत सम्भारमा समेत सहयोग गरिएको पौडेलले बताए ।
बुर्तिबाङ अस्पताल, धौलागिरि अस्पताल, गलकोट नगर अस्पताल लगायतका स्वास्थ्य संस्थामा आवश्यक उपकरण तथा सामग्री उपलब्ध गराउन सहयोग गरिएको परियोजनाले बताएको छ ।
परियोजनाले २०२५ जुलाईदेखि २०२६ जुनसम्मको अवधिमा १ करोड ९० लाख ७७ हजार ४३९ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको छ । जसमध्ये स्थानीय तहलाई समावेशी तथा तथ्यमा आधारित स्वास्थ्य योजना र कार्यान्वयनमा सक्षम बनाउन १७ लाख १२ हजार ५८६ रुपैयाँ खर्च गरिएको नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशनका कार्यक्रम व्यवस्थापक तथा फोकल पर्सन ममिता पुनले जानकारी दिईन ।
स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा ४९ लाख ३२ हजार ४७७ रुपैयाँ र पछाडि परेका तथा सीमान्तकृत समुदायमा स्वास्थ्य तथा सामाजिक सचेतना र सेवाको उपयोग बढाउन १ करोड ५ लाख ९४ हजार ७२२ रुपैयाँ खर्च भएको छ । प्रशासनिक तथा कार्यालय खर्चतर्फ १८ लाख ३७ हजार ६५४ रुपैयाँ खर्च भएको पुनले जानकारी दिईन ।
परियोजनाले आगामी दिनमा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड सुधार, बर्थिङ सेन्टर तथा मातृ–नवजात स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता विकास तथा उपेक्षित उष्णप्रदेशीय रोगको पहिचान र व्यवस्थापनलाई प्राथमिकतामा कार्यक्रम संयोजक सुवेदीले जानकारी दिए । परियोजनाले अपाङ्गता भएका व्यक्ति, एनटीडी प्रभावित व्यक्ति तथा अति विपन्न परिवारको जीविकोपार्जन प्रवद्र्धन र विपद् तथा संकटमा परेका परिवारलाई आवश्यकताका आधारमा राहत तथा सहायता उपलब्ध गराउने कार्यक्रमलाई पनि निरन्तरता दिने जनाएको छ । कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चारकर्मीबाट परियोजनाका उपलब्धि, चुनौती र आगामी योजनाबारे सुझाव प्रदान गरेका थिए ।