☰

सरकारले भन्यो– पत्रकार धरपकड प्रहरीले गरेको हो, सरकारबाट अनुमति थिएन

  • कार्तिक १८, २०८३

काठमाडौं । सरकारले समाचार कक्षभित्रै प्रवेश गरेर भएको धरपकड प्रहरीले आन्तरिक अनुसन्धानका लागि मात्रै भएको स्पष्टीकरण दिएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीले प्रकाशित भएका समाचारहरू कसरी भए भन्नेबारे बुझ्नका लागि मात्रै उक्त कार्य गरेको जिकिर गरे ।

‘प्रहरीको आन्तरिक कतिपय सूचना चुहावट भएको भनि उदाहरणका लागि प्रधानमन्त्री आईजीपीको राजीनामा माग्यो वा कारबाही गर्न लाग्यो भन्ने हुँदै नभएको भ्रामक सूचना कहाँबाट आयो, त्यसको तथ्यजाँच नगरी कसरी भयो भनेर प्रहरीले जाँचबुझ गर्नका लागि मात्रै कसैसँग सल्लाह गरेको भन्ने प्रहरीको आन्तरिक कुरा मात्रै हो,’ प्रवक्ता पोखरेलले भने ।


सिंहदरबारमा मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले सरकारसँग पूर्ण अनुमति लिएर उक्त कार्य प्रहरीबाट नभएको जिकिर गरे ।

‘सरकारसँग पूर्ण अनुमति लिएर वा के गरेर गरेको होइन । त्यसमा सरकार वा प्रधानमन्त्रीज्यूलाई केही थाहा थिएन । प्रहरीले आफ्नो आन्तरिक सूचना चुहावट भएको भएर सोधपुछका लागि गरेको हो,’ उनले भने ।


प्रधानमन्त्रीज्यूलाई यसको जानकारी आउनासाथ कोही पनि पत्रकारलाई सोधपुछ गर्नेगरी हिरासतमा नराख्न निर्देशन दिएको समेत उनले बताए ।

‘कसैलाई गिरफ्तार गरेको वा नियन्त्रणमा लिएको भने होइन,’ उनले भने ।

प्रतिक्रिया