☰

कुकुर होस्टेलको मेन्यु : बिहान दूध–भात, बेलुका मासु–भात

  • कार्तिक २३, २०८३

नारायण रिजाल- बागलुङ !  बिहान दूध र भात, बेलुका मासु सहितको खाना । कहिले खसीको मासु, कहिले राँगो त अधिकांश दिन कुखुराको यो कुनै महँगो होटलको मेन्यु होइन, बागलुङ नगरपालिकाले सञ्चालन गरेको कुकर सेल्टर अर्थात ‘ डग होस्टेलमा आश्रय लिइरहेका कुकुरको दैनिक खानाको तालिका हो । 

    बागलुङ नगरपालिका–३ मा रहेको कुकुर होस्टेलमा आश्रय लिएका कुकुरले बिहान दूध र भात खान पाउँछन् भने बेलुका मासु सहितको खाना ।   होस्टेलमा कुकुरको खानामा कमी हुन नदिन दैनिक तीनदेखि पाँच केजीसम्म मासु उपलब्ध गराउने गरिएको छ ।
कुकुरको खानपानदेखि स्वास्थ्य र सरसफाइसम्मको जिम्मेवारी रविबहादुर क्षेत्रीले सम्हाल्दै आएका छन् । उनको बिहानदेखि बेलुकासम्मको दैनिकी नै कुकुरको स्याहारसुसारमा बित्ने गरेको छ।  बिहान उठेदेखि कुकुरलाई खाना खुवाउने, उनीहरूको अवस्था नियाल्ने, सरसफाइ गर्ने र आवश्यकता अनुसार औषधोपचार तथा हेरचाह गर्ने काममा उनी व्यस्त हुन्छन् । ‘दैनिक उनिहरुलाई खाना खुवाउने उनिहरुको अवस्था हेर्ने कुनै कुकुर विरामी भएको भए पशु चिकित्सलाई र पशु प्राविधिकलाई बोलाएर उपचार गराउने काम गर्दै आएको छु क्षेत्रीले भने,– ‘कुकुरको स्याहार सुसार गर्ने  मेरो दैनिकी बनेको छ ।’ कुकुर सेल्टर हाउस अर्थात् ‘डग होस्टेल’, जहाँ सडकमा अलपत्र परेका ३० वटा सामुदायिक कुकुरलाई सुरक्षित आश्रय दिइएको छ ।
होस्टेलमा रहेका कुकुर विशेष गरी समाजमा दुःख दिएका कुकुरलाई त्यहाँ आश्रय दिइएको छ । उनिहरु त्यहाँ पुगेपनि पहिले भन्दा शान्त बन्दै गएको क्षेत्री बताउँछन । 

होस्टेलमै मनाइयो कुकुर तिहार
आईतबार कुकुर तिहारको दिन यही होस्टेलमा सामूहिक रूपमा कुकुरको पूजा गरेर कुकुर तिहार मनाइएको छ ।  घरघरमा कुकुरलाई माला र टीका लगाएर मीठा परिकार खुवाउने परम्परालाई नगरपालिकाले होस्टेलमै सामूहिक रूपमा मनाएको हो ।  होस्टेलमा रहेका कुकुरलाई माला लगाएर, टीका लगाई खानेकुरा दिएर तिहार मनाइएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।  नगरपालिकासँगै कुकुरका लागि आवश्यक खाद्यन्न लिएर लियो अफ बागलुङ कालिकाको टिम पनि गएको थियो । उनिहरुले चामल, मासु र विस्कुटहरु होस्टेलमा लगेर प्रदान गरेका थिए भने कुकुरलाई फुल माला र टिका लगाएर पुजा गरेका थिए । 
नगरप्रमुख श्रेष्ठले आफ्नो जन्मदिन पनि यही होस्टेलमा पुगेर मनाएका थिए । उनले अन्यत्र खर्च गरिने रकम कुकुर संरक्षणमा लगाउने अभियान समेत सुरु गरेका थिए ।  नगरपालिकाले नियमित बजेटमार्फत होस्टेल सञ्चालन गर्दै आएको छ । 
१ करोडको लागतमा कुकुर होस्टेल
सडकमा छाडिएका कुकुरका कारण नागरिकलाई जोखिम बढ्दै गएपछि बागलुङ नगरपालिकाले दुई वर्षको प्रयासपछि कुकुर होस्टेल निर्माण गरेको हो । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश सरकारको साझेदारीमा एक करोड रुपैयाँ लागतमा होस्टेल निर्माण गरिएको हो । होस्टेल निर्माणमा नगरपालिकाको ३५ लाख र गण्डकी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयबाट ६५ लाख रुपैयाँ लगानी रहेको थियो । 
सडकमा रहेका कुकुरको टोकाइबाट सर्वसाधारण घाइते हुने तथा रेबिजजस्ता संक्रामक रोगको जोखिम बढेपछि सामुदायिक कुकुरको व्यवस्थापनका लागि यो कार्यक्रम ल्याइएको नगरप्रमुख श्रेष्ठले बताए ।

एक सयवटा कुकुर राख्न सकिने क्षमता 
होस्टेलमा एक सयवटा कुकुर राख्न सकिने क्षमता भए पनि हाल ३० वटा कुकुरलाई आश्रय दिइएको छ । उनीहरूको नियमित खानपान, औषधोपचार र हेरचाहको व्यवस्था नगरपालिकाले मिलाएको छ ।
नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले सडकमा रहेका कुकुरलाई नियन्त्रणमा लिएर होस्टेलमा ल्याउने र रेबिजविरुद्धको खोप लगाउने काम गर्दै आएको छ । घरपालुवा तथा सामुदायिक कुकुरलाई समेत रेबिजविरुद्धको खोप उपलब्ध गराउने गरिएको छ ।

खोप लगाएका घरपालुवा कुकुरलाई रातो र सामुदायिक कुकुरलाई निलो पेटी लगाएर पहिचान गर्ने व्यवस्था गरिएको छ । नगरपालिकामा दर्ता भएका कुकुरलाई आवश्यक खोप तथा औषधि निःशुल्क उपलब्ध गराइनेछ । कुकुरको मृत्यु भएमा शव व्यवस्थापन समेत नगरपालिकाले गर्ने पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी ििदए । सापकोटाका अनुसार होस्टेलमा कुकुरको व्यवस्थापनका निम्ती निकै चुनौती पनि रहेको छ । विभिन्न क्षेत्रबाट ल्याइएका कुकुरलाई मिलाउन समय लाग्ने र झगडा गरेर उनिहरु घाइते हुने हुँदा त्यसको होस्टेल ल्याएको  केही दिन छुट्टा छ्टै राखिने गरिएको छ । 
सडकमा कुकुरको जोखिम कम
सामुदायिक कुकुरका कारण विशेषगरी बिहान र रातको समयमा पैदलयात्रा गर्न जोखिम हुने गरेको स्थानीय बताउँछन् । होस्टेल सञ्चालनपछि सडकमा कुकुरको जोखिम कम हुँदै गएको वडा अध्यक्ष सोनी केसी लक्ष्मण बताउँछन । उनले बजार क्षेत्रमा बाइकमा हिड्दा होस वा पैदल यात्रा गर्दा हुने कुकुरको आक्रमणले हैरानी परेका सर्वसाधारणलाई होस्टेलमा कुकुरको व्यवस्थापन गर्न लागेपनि भय त्रास कम भएको बताए । 
‘बिहानै र रातको समयमा सडकमा हिँड्दा जोखिम थियो । कुकुर व्यवस्थापनले पैदलयात्रीलाई सहज भएको छ,’ उनले भने, ‘होस्टेलमा राखेका कुकुरलाई व्यवस्थापन गरौँ उनको खानपानमा ख्याल गर्ने गरौँ । थप आवश्यक पुर्वाधार निर्माण गरी अन्य दुःख दिएका कुकुरलाई पनि यही राख्ने काम गरौं । 
कुकुर होस्टेल हेर्नका अन्य पालिकाबाट पनि आउने गर्छन 
नगरपालिकाले होस्टेलमा राखिएका कुकुरलाई नियमित खोप लगाएर स्वस्थ बनाएपछि घरमा पाल्न इच्छुक व्यक्तिलाई उपलब्ध गराउने नीति पनि बनाएको छ ।  बागलुङ नगरपालिकाले संचालन गरेको यो कुकुर सेल्टर हासउमा अहिले देशका विभिन्न पालिकाले पनि आफ्नो पालिकामा संचालन गर्नका निम्ती भ्रमण गर्ने पनि बढ्दै गएका छन । यहाँको सिको गरेर स्याङ्जा, अर्घखाची, हेटौडा लगायतका ठाउँबाट होस्टेल संचालनको प्रक्रिया बुझ्न आउने गरेको पशु प्राविधिक सापकोटा बताउँछन । यसरी बागलुङको डग होस्टेल सडकमा बेवारिसे बनेका कुकुरका लागि आश्रयस्थल मात्र बनेको छैन, पशुप्रति मानवीय व्यवहार र जिम्मेवारीको अभ्यास गर्ने थलोसमेत बनेको छ ।

प्रतिक्रिया