बागलुङ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भएसँगै गाउँ तथा नगर तहको नेतृत्व चयनको माहोल तातेको छ । असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न भएपछि असोज ७ गते हुने गाउँ–नगर अधिवेशनका लागि नेताहरूले आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् ।
बागलुङ सदरमुकाम समेत रहेको बागलुङ नगरपालिकाको सभापतिका लागि वर्तमान उपसभापति नारायण पौडेल र सचिव आशिक राजभण्डारीले दाबी प्रस्तुत गरेका छन् । पौडेलले सामाजिक सञ्जाल मार्फत नगर सभापतिमा आफ्नो उम्मेदवारीको दाबी सार्वजनिक गरेका छन् भने राजभण्डारीले पनि आफू नगर सभापतिको आकांक्षी रहेको बताएका छन ।
पौडेलले नेपाली काँग्रेसलाई नगर तहमा थप बलियो र सुदृढ पार्टीका रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् । पार्टी संगठनलाई थप व्यवस्थित गर्दै नेता तथा कार्यकर्ताबीचको समन्वय र सक्रियता बढाउन आफूले नेतृत्वमा दाबी गरेको उनको भनाइ छ । वर्तमान नगर उपसभापतिका रूपमा जिम्मेवारी निर्वाह गरिसकेकाले अब सभापतिको जिम्मेवारी सम्हाल्ने आफ्नो स्वाभाविक दाबी रहेको पौडेलको तर्क छ ।
त्यस्तै, राजभण्डारीले नगर सचिवका रूपमा काम गर्दाको अनुभवलाई आधार बनाएर संगठन सुदृढीकरणका लागि सभापतिमा दाबी गरेको बताएका छन् । नगर तहमा पार्टी संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउन आफूले नेतृत्वमा दाबी गरेको उनको भनाइ छ ।
यसपटक पालिका सभापतिलाई नै महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुने व्यवस्था गरिएकाले गाउँ–नगर तहको नेतृत्व चयनलाई विशेष चासोका साथ हेरिएको छ। यही कारण पनि पालिका सभापतिको प्रतिस्पर्धा महाधिवेशनको आगामी समीकरणसँग जोडिएर हेर्न थालिएको छ ।
नगर सभापतिका लागि दुई जनाले दाबी प्रस्तुत गरिसके पनि जिल्ला तहका नेताहरू भने सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा छन् । नगर कार्यसमितिको नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न छलफल भइरहेको एक जिल्ला तहका नेताले बताए ।
“आकांक्षी दुई जना मात्रै होइनन्, अरू साथीहरूको पनि छ । हामी सकभर सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गर्छौँ । सहमति हुन नसके लोकतान्त्रिक प्रक्रिया छँदै छ, त्यसैअनुसार निर्वाचनमा जान्छौँ,” ती नेताले भने ।
यसपटक विगतको जस्तो गुट–उपगुटको प्रभाव कम हुने देखिएकाले पनि सर्वसम्मत नेतृत्व चयनको सम्भावना रहेको उनको भनाइ रहेको छ ।
नेपाली काँग्रेसको संस्थापन र इतर पक्षले छुट्टाछुट्टै महाधिवेशनको मिति घोषणा गरे पनि बागलुङका अधिकाशं नेताहरु हाल भै रहेको अधिवेशनमा भाग लिएका छन । गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएका केही नेताहरू पनि यसपटकको महाधिवेशन प्रक्रियामा सहभागी भएका छन् ।
नगर तहको अधिवेशनको माहोल तातिरहेका बेला बागलुङ नगरपालिका–११ रायडाँडामा भने मंगलबार मात्र वडा अधिवेशन हुँदै छ । केही सदस्यताको विवादका कारण तोकिएको समयमा अधिवेशन हुन नसकेपछि उक्त वडाको अधिवेशन मंगलबारका लागि तय गरिएको थियो ।
नेपाली काँग्रेसको संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । त्यसअघि वडा, गाउँ–नगर, प्रदेश सभा निर्वाचन क्षेत्र तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अधिवेशन सम्पन्न गर्ने तयारीमा नेता तथा कार्यकर्ता जुटेका छन । संस्थापन इतर इतर पक्षले भने १५ असोजदेखि वडा अधिवेशन सुरु गरेर २१, २२ र २३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।