बागलुङ- नेपाली काँग्रेस बागलुङले आगामी असोज ३ देखी सुरु हुने काँग्रेसको १५औं महाधिवेशनको तयारीमा जुटेको छ । असोज ३ र ४ गते हुने वडा तहको अधिवेशनको तयारीका लागि नेपाली काँग्रेस बागलुङको जिल्ला तहको बैठक सम्पन्न भएको छ । कार्यबहाक सभापती तारानाथ पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले पहिलो चरणको वडा तहको अधिवेशन अगामी असोज ३ गते जिल्लाका ८५ वटै वडामा सम्पन्न गर्ने निर्णय गरेको काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए । असोज ३ गतेबाट सुरु भएको महाधिवेशनको कार्यतालिका असोज तेस्रो साता सम्म रहेको छ । गत पुसमा भएको विशेष महाधिवेसनबाट सभापति बनेका गगनकुमार थपाले एक वर्षभित्रै नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व निर्माण गर्ने अभियान स्वरुप यो तयारी भएको हो ।
असोज ३ र ४ गते वडा अधिवेसन भइ औपचारिक शुरुवात हुने भएपछि कांग्रेसले ७७ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । जस अनुसार बागलुङमा अधिवक्ता शालिग्राम भट्टराईलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ । उनको नेतृत्वमा बुधबार औपचारिक रुपमा काम शुरु भएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए ।
महाधिवेसन तयारीका लागि बुधबार कांग्रेसले केन्द्रीय सदस्यहरु, पूर्व सभापतिहरु, पदाधिकारी र संघिय तथा प्रदेश सांसदको सहभागितामा औपचारिक बैठक बसेर विभिन्न निर्णय गरेको छ ।
बैठकमा केन्द्रीय सदस्य चम्पादेवी खड्का, जगदिशचन्द्र उपाध्याय, टेकराज पौडेल र भिम श्रीसले पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्नका निम्ती आम सवै काँग्र्रेसजनमा आग्रह गरेका छन । त्यसैगरी पूर्व सभापती प्रकाश शर्मा पौडेलले विशेष महाधिवेशन पश्चात बढेको काँग्रेस भित्रको तिक्ततालाई सम्बोधन गरेर सवैलाई एकै ठाउँमा बनाएर महाधिवेशन गर्नुपर्नेमा जोड दिए । उनले काँग्रेसको रुख र चारतारे झण्डाको महिमालाई कुनै पनि नेता तथा कार्यकर्ताले भुल्न नुहुने भन्दै महाधिवेशनमा सवै तहबाट सहयोग गर्न अपिल गरेका छन ।
बैठकमा प्रतिनिधि सभा सदस्य रेणुका काउचा मगर, प्रदेश सभा सदस्य एवं महाधिवेशन प्रतिनिधि, डिल्लीराम सुवेदी, द्रोर्ण कुमार कुँवर, डिलमाया पौवी, काँग्रेस गण्डकी प्रदेश सदस्य इन्द्रराज शर्मा लगायतले पार्टीको कन्द्रिय सर्कूलर अनुसार सवै तहमा समयमा नै अधिवेशन सम्पन्न गर्नुपर्ने बताएका थिए । उनिहरुले सम्पुर्ण कार्यकर्तालाई महाधिवेसनमा सहभागि बन्न अपिल गरेको छ ।
त्यस्तै अधिवेशनमा उमेदवारहरुले तडकभडक नगर्ने, प्रचार सामाग्रीहरुको प्रर्दशन नगर्ने र शान्तिपुर्ण रुपमा अधिवेसन गर्ने निर्णय भएको सचिव शर्माले जानकारी दिए ।
बैठकमा सभापति जितबहादुर शेरचन सहभागि भएका थिएनन् । उनी कृष्णप्रसाद सिटौला पक्षका हुन् । निर्वतमान सभापति शेरबहादुर देउवा पक्षले अझै छुट्टै मितिमा नियमित महाधिवेसन गर्ने तालिका निकाले पनि देउवा पक्षका अधिकांसले गगन समूहलाई नै स्विकार गरेर लागेका छन् । सभापति थापाले तत्कालिन केन्द्रीय समितिका सबै सदस्यलाई मनोनित गर्ने निर्णय लिएपछि तत्कालिन कावा सभापति पूर्णबहादुर खड्का सहित नेताहरु सानेपास्थित केन्द्रीय कार्यालय पुगेर असोज ३ गतेकै अधिवेसनमा सहभागि बन्न लागेका छन् ।
बागलुङको बैठकमा पूर्व सभापति मध्ये दिपेन्द्रबहादुर थापा र मणीभद्र शर्मा सहभागि थिएनन् । पूर्व केन्द्रीय सदस्य किरणराज पौडेल पनि बैठकमा सहभागी थिएनन भने जिल्ला पदाधिकारी उपसभापती सागर छन्त्याल, सचिव गण्डकी थापा अधिकारी र कोषाध्यक्ष श्रीधर कंडेल पनि बैठकमा सहभागी नभएको काँग्रेसका एक नेताले जानकारी दिए ।
पूर्व सभापति हरिप्रसाद श्रेष्ठ र प्रकाश पौडेलले बैठकमा सहभागि भएर महाधिवेशनलाई सौहार्द बनाउन पहल गर्ने बताए ।
केन्द्रीय तहमा नेता शेखर कोइराला पक्षले तटस्थ बस्ने बताएको छ । यद्यपी फरक समूह कुनै हालतमा नआएपनि थापाले महाधिवेसन भने रोक्ने छैनन् । पार्टीको विधान अनुसार ४ वर्षको कार्यकाल सकिएर थपिएको १ वर्ष पनि सकिनै लागेकोले वैधानिकताको प्रश्नले महाधिवेसन गर्नैपर्ने अनिवार्यता आइलागेको हो ।
महाधिवेसन हुने भएपछि जिल्लामा कार्यकर्ताहरुको चहलपहल शुरु भएको छ । दशवटै स्थानीय तहमा निर्वाचन अधिकृत खटाउने, वडा तहसम्मको अधिवेसन गर्ने र क्षेत्रीय प्रतिनिधि छनौट गर्ने कामले सबै कार्यकर्तामा उत्साह पनि थपेको छ ।
यद्यपी फरक कित्ताका कतिपय नेताहरु एकै ठाउँमा नआएका कारण कार्यकर्तामा अन्यौल छ । तर यसअघि देउवा पक्षमा खुलेका कतिपय नेता कार्यकर्ताहरु असोज ३ र ४ गतेको वडा अधिवेसनका लागि जान तयार भैसकेपछि कार्यकर्तामा उत्साह थपिएको हो ।
यसअघिको निर्वाचनमा देउवा पक्षबाट सभापति लडेका प्रदेश सभाका सदस्य द्रोण कुँवर समेत थापाको पक्षमा खुलेर लागिसकेका छन् । देउवा पक्षले खटाएको पूर्व सभापती मणीभद्र शर्मा कंडेल र पूर्व केन्द्रीय सदस्य किरणराज पौडेल छन् । पौडेल मुस्ताङ र कँडेल तनहुँमा प्रतिनिधिको रुपमा खटिएका छन ।
नेपाली कांग्रेसले यो पटक वडा, गाउँ तथा नगरको अधिवेसनसँगै क्षेत्रीय र प्रदेश अधिवेसन गर्नेछ । त्यसबाट नयाँ नेतृत्व छनौट भइ महाधिवेसनका लागि प्रतिनिधि समेत निर्वाचित बन्नेछन् । क्षेत्रीय अधिवेसनबाट आउने महाधिवेशन प्रतिनिधिले १५ औं महाधिवेसनमा भाग लिने भएकोले तत्कालका लागि कांग्रेसले जिल्ला अधिवेसन नगर्ने निर्णय गरेको छ । महाधिवेसनपछि जिल्लाको नेतृत्व फेरिने बताइएको छ ।
कांग्रेसको विधान अनुसार प्रत्येक संघिय निर्वाचन क्षेत्रबाट १० जना खुलासहित विभिन्न क्षेत्रगत गरी २४ जना महाधिवेसन प्रतिनिधि छनौट हुनेछन् । क्षेत्रीय सभापति पदेन सदस्य रहेर महाधिवेसन प्रतिनिधि बन्दा एक निर्वाचन क्षेत्रबाट २५ जनाले महाधिवेसनमा भाग लिन पाउने व्यवस्था छ । यो पटक ३० वर्ष उमेर समूहबाट पनि प्रतिनिधि बन्ने गरी व्यवस्था गरिएको छ । वडादेखि पालिका तहसम्म पनि यो विधि रहेकोले हजारौं युवाले पहिलो पटक नेतृत्वमा जाने अवसर पाउने भएका हुन् ।