कांग्रेस संस्थापन इतर पक्षको बागलुङका लागि संयोजक सागर छन्त्याल

  • असोज १, २०८३

बागलुङ : नेपाली कांग्रेसको संस्थापन इतर पक्षले बागलुङ जिल्ला संयोजकमा सागर छन्त्याललाई तोकेको छ । आगामी मंसिरमा तय गरिएको १५ औँ अधिवेशनका लागि छन्त्याललाई संयोजक तोकेको हो । छन्त्याल जिल्ला उपसभापति हुन् ।

इतर पक्षका संयोजक शशांक कोराइलाले छन्त्याललाई संयोजक तोकेको पत्र पठाएको छन् । पत्र आज सार्वजनिक भएता पनि भदौ २५ गते जिम्मेवारी तोकिएको छ ।  १४ औँ अधिवशेनबाट निर्वाचित जिल्ला सभापती जितबहादुर शेरचन हुन् । उनी पनि इतर पक्षमै देखिएका छन् । शेरचन हाल गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीसमेत रहेका छन् । सभापति शेरचननै इतर पक्षमा हुँदै किन उपसभापतिलाई संयोजक तोकियो भन्ने प्रश्न उठ्न थालेको छ ।

इतर पक्षले गत साउन २९, ३० ३१ गते राष्ट्रिय भेला गरेको थियो । केन्द्रीय महाधिवेशन तयारी समितिको भादौ १७ र १८ गते बसेको बैठकले केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । बैठकले असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, कार्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशनहरु गर्ने निर्णय गरेको थियो ।

‘अधिवेशन सम्पन्न गर्नका लागि जिल्लाका साथीहरूको राय सुझाव र केन्द्रीय प्रतिनिधिको सिफारिसमा तपाईलाई बागलुङ जिल्लाको जिल्ला संयोजक मनोनयन गरिएको छ । जिल्ला संयोजकको रुपमा नेपाली काग्रेसको स्थापित मूल्यमान्यताको आत्मसात गरी जिल्लाको संगठन मजबुत बनाउनुहुनेछ भन्ने विश्वास लिइएको छ ।’ संयोजक कोइरालाले छन्त्याललाई पठाएको पत्रमा उल्लेख छ ।

उता संस्थापन पक्षले अर्का उपसभापति तारानाथ पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । संस्थापन पक्षले यही असोज ३ र ४ गते हुने वडा अधिवेशन गर्दैछ । संयोजकको जिम्मेवारी पाएका छन्त्यालले नेतृत्वलाई पार्टी मिलाउन दबाव दिने र पार्टीगत गतिविधि गर्दै जाने बताए । उनेले पार्टीका सिनियर नेताहरुले अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी सम्हाल्न आग्रह गरेपछि आफू तयार भएको उनको भनाइ छ ।

छन्त्यालले भने ‘अहिले दुई वटा पक्षले दुई वटा अधिवेशन गर्दैछ, हाम्रो मुख्य भूमिका भनेको पार्टीलाई मिलाएर लैजानु पर्छ भन्ने हो, एक थरि साथीहरुले यही २ र ३ गते वडा अधिवेशन गर्दै हुनुहुन्छ, हामीहरुले १५ गतेदेखि गर्दै छौँ, सुरुमा हुने अधिवेशनमा जाने साथीहरुलाई नजान पनि भन्दैनौँ र १५ गते हामीहरुले गर्ने अधिवेशनमा पनि कुनै करकाप गर्ने छैनौँ ।”

प्रतिक्रिया