बागलुङ — बागलुङ प्रहरीले ठूलो परिमाणमा गाँजा र चरेससहित एक जना महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार म्याग्दीको धौलागिरी गाउँपालिका–२ स्थायी ठेगाना भई हाल बागलुङको ढोरपाटन नगरपालिका–९, बुर्तिबाङस्थित मिना होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएकी मिना थापा भन्ने रामकुमारी थापालाई प्रतिबन्धित लागूऔषध गाँजा तथा चरेससहित पक्राउ गरिएको हो।
प्रहरीले प्राप्त सूचनाका आधारमा होटल एण्ड रेष्टुरेन्टमा चेकजाँच गर्दा १ हजार ५०० ग्राम गाँजा र ३८० ग्राम चरेस फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । बरामद लागूऔषधसहित पक्राउ परेकी उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न आरोपमा पक्राउ परेका व्यक्तिलाई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धानका लागि बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र अनुसन्धानलाई निरन्तरता दिइरहेको जनाएको छ।