बागलुङ ! अविरल वर्षा र त्यसबाट हुन सक्ने बाढी, पहिरो तथा डुबानको विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका केही स्थानमा असोज ८ गतेदेखि ११ गतेसम्म अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको बुलेटिन जारी गरेपछि बागलुङ पनि जोखिममा रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम हुन सक्ने भन्दै सुरक्षा सचेतनाका लागि सूचना जारी गर्ने तथा सबै सुरक्षा निकायले खोज तथा उद्धार सामग्रीसहित सुरक्षा जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
जोखिमयुक्त बस्तीमा पूर्व सतर्कता अपनाउन सबै स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने, नदीतटीय क्षेत्रका वासिन्दालाई सतर्क गराई सुरक्षित अवस्थामा रहन अनुरोध गर्ने, खोला किनारका बस्तीमा सूचना प्रवाह गर्ने, जोखिम बस्तीका वासिन्दालाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन बैठकले स्थानीय तहलाई अनुरोध गरेको छ ।
बैठकले अस्पताल, नर्सिङ होम, स्वास्थ्य संस्था, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने, स्थानीय तहलाई विपद् उद्धार सामग्री र सडक अवरोध हटाउने उपकरण निर्माण व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय गरी तयारी गर्न अनुरोध गर्ने समेत निर्णय गरेको छ ।