पत्रकार महासंघद्वारा शुभकामना आदान प्रदान

  • असोज १४, २०७९

बागलुङ-  नेपाल पत्रकार महासंघ बागलुङद्वारा विजया दशमी शुभ दिपावली, छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । जिल्लामा क्रियाशिल पत्रकार जनप्रतिनिधि सँग महासंघले शुभकामना आदान प्रदान गरेको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक अमर थापाले पत्रकारले निर्धक्कसँग कलम चलाउनु पर्नेमा जोड दिएका थिए । उनले बागलुङमा उठाउनु पर्ने महत्वपूर्ण थुप्रै मुद्धाहरु भए पनि सञ्चार माध्यममा त्यस्ता विषयहरु कम आएको बताए । उनले मध्यपहाडी लोकमार्ग अतिक्रमण परेको विषय उदाहरण दिँदै त्यस्तो विषय समाचारमा सुन्न, पढ्न तथा देख्न नपाईनु दुःखद रहेको बताए ।

‘मध्य पहाडी लोकमार्ग अतिक्रमण गरि हाईड्रोपावरको लागि पाईप राखिएको छ, त्यसले गर्दा मध्यपहाडी लोकमार्ग साँघुरिएको छ’ उनले भने–‘राष्ट्रिय राजमार्ग साँघुरिएको विषयमा समाचारहरु खासै आएका छैनन्, किन त्यस्तो भईरहेको छ ? हामीले थाहा पाउन पनि सक्दैनौँ यो दुःखद विषय हो ।’ जिल्लामा उठाउनै पर्ने थुप्रै विषय भएको तर सञ्चार माध्यममा कम आएको उनको बुझाई छ ।

बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले पत्रकारले सत्य लेख्नु पर्ने बताए । विकास निर्माणमा पत्रकारको महत्वपूर्ण भूमिका हुने बताउँदै आफ्ना योजना तथा कार्यक्रमका विषयलाई सकरात्मक रुपमा संप्रेषण गर्न उनले आग्रह गरे ।

उनले बागलुङ नगरपालिकाले हालसम्म अन्य पालिकाको तुलनामा सबैभन्दा बढि योजना सम्झौता गरि कार्यन्वयनमा लागेको बताए । उनले जनताको सहभागिता बिना विकास सम्भव नहुने बताउँदै विकास निर्माणमा जनसहभागिता, समन्वय र सहकार्य गरि अघि बढ्ने बताए ।

बागलुङ नगरपालिका वडा न. ११का वडा अध्यक्ष तथा नेपाल पत्रकार महासँघ बागलुङका पूर्व सल्लाहकार ज्ञानेन्द्र गौतमले महासंघले व्यक्तित्व निर्माण तथा समाज रुपान्तरणको लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा सहभागिहरुद्वारा शुभकामना आदानप्रदान गरिएको थियो । नेपाल पत्रकार महास‌ंघ बागलुङका कार्यबाहक अध्यक्ष नविन शिसिर बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सहसचिव सृजना पन्त र सञ्चालन सचिव विजय रानाले गरेका थिए ।

प्रतिक्रिया