बागलुङ - आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदै छ । निर्वाचनको मिति नजिकिए सँगै सत्ता गठबन्धन पक्षका उम्मेदवारहरु मत माग्दै जिल्ला दौडाहामा लागेका छन् । गण्डकी प्रदेशबाट गठबन्धनका साझा उम्मेदवारको रुपमा रहेका काँग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा माओबादी केन्द्रका मनरुपा शर्मा र काँग्रेसकै पदम बहादुर परिवार आफ्नो पक्षमा मत माग्दै जिल्ला दौडाहमा रहेका छन । उनिहरुले यतिबेला जिल्ला—जिल्लामा पुगेर स्थानीय तहको सरकार प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्यहरुबीच भेटघाट र परिचय कार्यक्रम गरिएको हो । गठबन्धनका साझा उम्मेदवारको रुपमा रहेका तिन जना उम्मेदवार सहित निर्वाचन प्रचार प्रसार समितिको टिमले शनिबार म्याग्दी र बागलुङ जिल्लाका विभिन्न पालिकाका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष तथा यहाँबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सत्तापक्षीय प्रदेश सभा सदस्यहरु सँग भेटघाट गरेका छन । उनिहरुले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पक्षमा भोट माग्दै आफ्ना प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
सत्ता गठबन्धनले संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर चुनाव प्रचारप्रसारमा लागेको हो । नवलपरासीबाट सुरु भएको चुनावी कार्यक्रम गोरखा, तनहुँ, म्याग्दी, बागलुङ ।लमजुङ लगायतका जिल्लामा मतदाता सँग भेटघाट गरी प्रचार प्रसारको अभियानलाई तिब्रता दिईएको नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछानेले जानकारी दिए । निर्वाचनका लागि काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । संविधानको रक्षा गर्ने स्थायित्व शान्ति र विकासको पैरवी गर्ने राजनितिक शक्तिहरु एकै ठाउमा रहेर थप गति दिन का लागि साझा गठबन्धन भएको लामिछानेले बताए ।
गठबन्धन राष्ट्रिय आवश्यकता हो
मतदाता सँग अन्तरक्रिया गर्दै राष्ट्रिय सभा सदस्य उम्मेदवार किरणबाबु श्रेष्ठले गठबन्धनको औचित्य र आवश्यकता अझै बाँकी रहेकाले आफुहरु अहिले पनि गठबन्धनको तर्फबाट उम्मेदवार बनेको बताए । ‘संविधान र व्यवस्था माथि नै प्रहार भएपछि बनेको गठबन्धनको आवश्यकता अहिले पनि छ,’ उनले भने,‘त्यसैले हामीले अहिले पनि गठबन्धन नै गरेर निर्वाचनमा जाँदैछौं । जनतामा आशा जगाउनेगरी काम गर्नका लागि सरकारलाई सघाउने र जनताको प्रतिनिधिको रुपमा सरकारलाई सही मार्गमा हिँडाउनका लागि निरन्तर प्रयत्न गछौं ।’
अर्का राष्ट्रियसभा सदस्य उम्मेदवार मनरुपा शर्माले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नका लागि आफुलाई राष्ट्रिय सभामा भूमिका खेल्ने बताईन् । राष्ट्रिय सभा सदस्यका उम्मेदवार पदमबहादुर परियारले हरेक क्षेत्रलाई समावेशी बनाउन, स्थानीय तहलाई बलियो बनाउन भूमिका खेल्ने बताए । कार्यक्रममा सहभागी गठबन्धन दलका नेताले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मर्म अनुसार अगाडि बढेर उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्ने प्रतिवद्धता जाहेर गरेका थिए । कार्यक्रममा गठबन्धनको पक्षधर बागलुङका स्थानियका प्रमुख तथा उपप्रमुख र जिल्ला बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यले गठबन्धनको पक्षमा मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
गण्डकी प्रदेशमा सत्ता गठबन्धनको तर्फबाट खुल्ला तर्फ नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री समेत रहेको किरणबाबु श्रेष्ठ रहेका छन भने नेकपा एमालेबाट चक्रबहादुर पराजुली र राप्रपाबाट रोमबहादुर भण्डारी रहेका छन । त्यसैगरी महिला तर्फ सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओबादी केन्द्रका मनरुपा शर्मा, नेकपा एमालेका सम्झना देवकोटा, र राप्रपाका गौमाया श्रेष्ठ रहेका छन । गण्डकी प्रदेशबाट अपाङ्गगता भएका व्यक्ति वा अल्पसंख्यामा सत्ता गठबन्धनका साझा उम्मेदवार काँग्रेसका पदबहादुर परियार र नेकपा एमालेका हेमन्द्र शेरचन रहेका छन ।
गण्डकीमा ३ सिटमा प्रतिस्पर्धा
राष्ट्रिय सभाका लागि गण्डकीमा ३ सिटमा प्रतिस्पर्धा हुँदैछ । गण्डकीमा राष्ट्रियसभाका अध्यक्ष समेत रहेका एमालेका गणेशप्रसाद तिमल्सिना, एमालेकै दीपा गुरुङ र कांग्रेसका प्रकाश पन्थको कार्यकाल सकिन लागेका हो । सोही पदमा अहिले निर्वाचन हुँदै छ र उम्मेदवारहरु जिल्ला दौडाहमा निश्किएका हुन । राष्ट्रिय सभामा यसपटक प्रदेश सभा सदस्यको ५३ र स्थानीय तह प्रमुख÷उपप्रमुखको १९ मतभार तोकिएको छ । १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका रहेको गण्डकी प्रदेशबाट १ सय ७० जना मतदाता छन् । जसको मतभार ३ हजार २३० हुन आउँछ । प्रदेश सभातर्फ ६० जना सदस्य छन् । जसको ३ हजार १८० मतभार हुन आउँछ । स्थानीय तह र प्रदेश सभा सदस्यको गरी गण्डकीमा कुल ६ हजार ४१० कुल मतभार हुन आउँछ ।
गण्डकीमा कसको मत कती
गण्डकी प्रदेशमा स्थानिय तहतर्फ नेपाली काँग्रेसबाट कांग्रेसबाट नगर प्रमुख १५, उपप्रमुख ११, गाउँपालिका अध्यक्ष २१ र उपाध्यक्ष २० गरी ६७ जना निर्वाचित छन् । राष्ट्रिय सभामा तिनको मतभार १९ का दरले जोड्दा १ हजार २७३ हुन आउँछ । प्रदेश सभातर्फ सबैभन्दा ठूलो दल पनि नेपाली कांग्रेस हो जसमा २७ सदस्य छन् । जसको मतभार ५३ का दरले १ हजार ४३१ हुन आउँछ । स्थानीय प्रदेशको जोड्दा कांग्रेस एक्लैको २ हजार ७०४ मतभार छ ।
दोस्रो ठूलो दल नेकपा एमालेबाट गण्डकी प्रदेश सभामा २२ जना सदस्य छन् । जसको मतभार १ हजार १६६ हुन्छ । स्थानीय तहतर्फत एमालेले नगर प्रमुख ८, उपप्रमुख ९ र गाउँपालिका अध्यक्ष २७, उपाध्यक्ष २४ गरी ६८ जना निर्वाचित छन् । जसको मतभार १ हजार २९२ हुन आउँछ । प्रदेश सभा सदस्य र स्थानीय तहको कुल मतभार २ हजार ४५८ छ । एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली सहकारी काण्डमा फरार रहेका छन भने पाटीले पनि निलम्बन गरेको छ । उनीबाट प्राप्त हुने १९ मतभार घटाउँदा एमालेको पक्षमा २ हजार ४३९ मतभार हुने छ ।
नेकपा माओवादीले गण्डकी प्रदेश सभामा ८ सिट जितेको छ । जसको मतभार ४२४ हुन आउँछ । स्थानीय तहतर्फ माओवादीबाट नगर प्रमुख २, उपप्रमुख ७, गाउँपालिका अध्यक्ष ९, उपाध्यक्ष १२ गरी ३० जना निर्वाचित छन् । जसको मतभार ५७० हुन आउँछ । प्रदेश सभा सदस्य र स्थानीय तहका गरी माओवादीसँग ९९४ मतभार छ ।
राष्ट्रिय जनमोर्चाको यसपटक गण्डकी प्रदेश सभामा उपस्थिति छैन । तर, स्थानीय तहतर्फ भने नगर प्रमुख १, गाउँपालिका अध्यक्ष १ र उपाध्यक्ष १ जना गरी ३ जना निर्वाचित छन् । जसको मतभार ५७ छ ।
एकीकृत समाजवादीबाट गण्डकी प्रदेश सभामा पहिले शून्य उपस्थिति थियो । तर, स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) प्रवेश गरेपछि प्रदेश सभातर्फ पनि एकीकृत समाजवादीको उपस्थिति छ । यस्तै स्थानीय तहतर्फ पोखरा महानगरमा एकीकृत समाजवादीले जितेकोे छ । राष्ट्रिय सभामा उसको मतभार प्रदेश सभातर्फ ५३ र स्थानीय तहतर्फबाट १९ गरी ७२ छ । राष्ट्रिय प्रजातन्त्र पार्टी –राप्रपा)बाट गण्डकी प्रदेश सभामा २ जनाले जितेका छन् भने स्थानीय तहतर्फ शून्य छ । राप्रपाको मतभार राष्ट्रिय सभामा १ सय ६ हुने छ । गण्डकीमा मनाङ निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्र जितेका छन् ।
अहिले सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको उपस्थिति छ । यसरी मिलेर राष्ट्रिय सभाको चुनावमा मतदान हुँदा नेपाली कांग्रेसको २ हजार ७०४, नेकपा माओवादीको ९९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ गरी ३ हजार ८२७ मतभार गठबन्धनको पक्षमा आउने छ ।
गठबन्धनको प्रतिस्पर्धीको रुपमा उत्रिएको नेकपा एमालेको एमालेको २ हजार ४३९ र राप्रपाको १०६ रहेको छ । यि दुवै दल छुट्टाछुट्टै चुनावी मैदानमा आफ्ना उम्मेदवार लिएर उत्रिएका छन । गण्डकीमा नेकपा एमाले भन्दा गठबन्धनका दलहरुको मत १ हजार ३८८ मत बढि रहेको छ । यसले निर्वाचनको नतिजा गठबन्धनको पक्षमा आउने पक्का भएको छ ।
नेपाली काँग्रेस बागलुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य जीतबहादुर शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाईली, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य बलावती शर्मा, समाजबादी पार्टीका जिल्ला अध्यक्ष चित्र सापकोटा नेकपा एकिकृत समावबादीका जिल्ला अध्यक्ष लालबहादुर थापा लगायतले बालेका थिए । कार्यक्रम नेकपा माओबादी केन्द्रका कार्यालय सचिव चन्द्रबहादुर थापा शिखरको संचालन र राष्ट्रिय जनमोर्चाका अध्यक्ष तेजबहादुर थापा तिलकको स्वागतमा सम्पन्न भएको थियो ।