बागलुङ - एचआईभी एड्सको क्षेत्रमा काम गर्ने सामाजिक संस्था धौलागिरी पोजेटिभ समुह बागलुङले जिल्लाका तिन स्थानिय तहमा रहेको एचआईभी संक्रमितका लागि पोषण तथा सरसफाईका सामाग्री वितरण गरेको छ ।
जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा रहेका संक्रमितका लागि खाद्य तथा पोषणका सामाग्री र सरसफाईका सामाग्री हस्तान्तरण गरेको हो ।
तिनवटै पालिकाको आर्थिक सहयोगमा संस्थाले संक्रमितहरुका लागि दैनिक रुपमा भान्सामा प्रयोगहुने खाद्यान्नका सामाग्री तथा सरसफाईका सामाग्री हस्तान्तरण गरेको धौलागिरी पोजेटिभ समुहका अध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिए ।
खत्रीका अनुसार बागलुङ नगरपालिकाबाट १ लाख ५० हजार रुपैयाँ जैमिनी नगरपालिकाबाट ५० हजार रुपैयाँ र काठेखोला गाउँपालिकाबाट ५० हजार रुपैयाँ गरी कुल २ लाख ५० हजार रुपैयाँ सहयोग भएको थियो ।
सहयोग रकमबाट ३४ जनाको परिवारलाई पोषण तथा सरसफाईका सामाग्री हस्तान्तरण गरिएको छ भने केही रकमबाट एचआईभी संक्रमित बालबालिकाका लागि सहयोग गर्नुका साथै धौलागिरी अस्पतालमा एआरटी सेवा लिन आउने जाने संक्रमितका लागि सहयोग गरिएको संस्थाले जनाएको छ ।
उक्त सामाग्री विहिबार बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले अध्यक्ष खत्री मार्फत हस्तान्तरण गरेका छन ।
सहयोग रकमबाट संक्रमितहरुलाई राहत स्वरुप खाद्यान्न र सरसफाईका सामाग्री प्रदान गरिएको अध्यक्ष खत्रीले जानकारी दिए । ‘यहाँका संक्रमितहरु सवैको आर्थिक अवस्था कमजोर नै छ, उनिहलाई केही राहत होस भन्ने उद्देश्यले पालिकाहरुले सहयोग गरेको रकमबाट खाद्यान्न तथा सरसफाईका सामाग्री हस्तान्तरण गरेका छौं अध्यक्ष खत्रीले भने,–‘यसले केही समय भएता पनि उनिहरुको घरमा पोषणयुक्त खानेकुराहरु हुनेछ । यसले संक्रमितलाई रोगसँग लड्नका लागि थप हौसला पनि प्रदान गर्नेछ ।’ पालिकाहरुबाट प्राप्त सहयोगले यहाँका संक्रमितका लागि पोषण र सरसफाईमा मात्र नभएर अस्पतालमा औषधी लिन आउँदा जाँदाका लागि पनि थप टेवा पुगेको उनले बताए ।
खाद्यान्न सामाग्रीमा प्रत्यक व्यक्तिलाई १ बोरा चामल, तोरीको तेल, चिनी, आटा, चना, लुगा धुने नुहाउने साबुन लगायतको झण्डौ ५ हजार बराबरको सामाग्रीहरु हस्तान्तण गरिएको छ । पालिकाहरुको सहयोगमा दैनिक उपभोग्य सामाग्री प्राप्त गर्दा आफुहरुलाई ठुलो राहत भएको संक्रमितहरु बताउँछन ।
पोषणका सामाग्री बागलुङ नगरपालिकाका २० जना, काठेखोलामा ७ जना, जैमिनी नगरपालिकाका ७ जना गरी ३४ जना संक्रमितलाई हस्तान्तण गरिएको संस्थाका कार्यक्रम संयोजक सुवास कंडेलले जानकारी दिए । उनले तिनवटा पालिकाबाट प्राप्त कुल रकम मध्ये झण्डै १ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको र अन्य रकमबाट संक्रमित बालबालिकाको खातामा संक्रमितकै लागि अस्पताल आउन जानका लागि खर्च गरिएको बताए ।
संस्थाले ७ जना बालबालिकालाई ३ हजार रुपैयाँका दरले पोषण खर्च उपलब्ध गराएको कंडेलले बताए ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले एचआईभी संक्रमण एउटा अवस्था भएको हुँदा यो रोगसँग लड्ने क्षमता बढाउनका निम्ती नगरपालिकाले पोषणको कार्यक्रमलाई जोड दिएको बताए । उनले खानपानमा ख्याल गरियो भने र थप अन्य रोग संक्रमणलाई रोकियो भने एचआईभीले कसैलाई केही गर्न नसक्ने बताए ।
कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले संक्रमितहरुले नियमित औषधी सेवनमा कत्ति पनि कञ्जुसाँई गर्न नहुने बताए । उनले आफ्नो स्वास्थ्यको ख्याल आफैबाट हुने हुँदा औषधी सेवन खानपान र सरसफाईमा ध्यान दिन आग्रह गरे ।
बागलुङको धौलागिरी अस्पतालमा रहेको एआरटी सेन्टरबाट नियमित औषधी सेवन गर्ने २१७ जना एचआईभी संक्रमित रहेका छन । उनिहरुले अस्पतालमा आएर नियमित औषधी लिने गरेको संस्थाले जनाएको छ । कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रबहादुर खत्रीको अध्यक्षता कार्यक्रम संयोजक सुवास कंडेललको संचालनमा सम्पन्न भएको थियो ।