बागलुङ- जिल्लाको काठेखोला गाउँपालिका—८ लेखानीका लक्ष्मण पुन । अहिले उनको उमेर ६० वर्ष पुगेको छ । उनले जीवनको उर्जाशील धेरै वर्ष कोरियामा बिताए । १४ वर्ष कोरियामा बसेका उनले त्यहाँ बस्दा मेहनत र परिश्रम के हो भन्ने कुरा जान्ने मौका पाए । विदेशको भूमिमा कठिनपूर्ण काम दैनिक १२÷१४ घण्टासम्म खटिनुपर्दा उनलाई लाग्थ्यो, यसरी नै खटिने हो भने त नेपालमै पनि केही सकिन्छ होला । १४ वर्ष कोरियामा बिताएर स्वदेश फर्केपछि उनले निधो गरे । अब आफ्नो परिवारबाट अरु कोही पनि विदेशमा गएर दुःख गर्नु नपरोस् ।
त्यसपछि उनले नेपालमै केही उद्यम गर्ने निधो गरे । बागलुङ नगरपालिका—४ निरयघाटमा माछा तथा कृषि फर्म सञ्चालन गर्ने निर्णयमा पुगे । सुरुमा साझेदारीमा सुरुवात गरेको उद्यमले खासै प्रगति नहुने देखेपछि अहिले उनले एक्लै त्यसको जिम्मा लिएका छन् । निरयघाटमा कालीगण्डकी माछा पालन तथा कृषि फर्म दर्ता गरी उनले व्यावसायिक उद्यम सुरु गरेका हुन् । ६० वर्षे उमेरमा पनि उनी बिहानदेखि रातिसम्म आफ्नै फार्ममा व्यस्त हुन्छन् । करिब ४५ लाख रुपैयाँ लगानीमा उक्त फार्म सञ्चालनमा ल्याएको उनले बताए ।
‘४५ लाख रुपैयाँ लगानी गरेर यो फार्म सञ्चालनमा ल्याएको छु,’ उनले भने,‘अहिले तीन वटा पोखरीमा माछा पालेको छु । १४ रोपनी जग्जा भाडामा लिई ४ वर्ष अगाडि सामूहिक रुपमा सञ्चालनमा ल्याइएको उक्त फार्म अहिले पुनः एक्लैले सञ्चालन गरिरहेका छन् । ‘चार वर्ष अगाडि हामीले सामूहिक रुपमा यसको सञ्चालन गरेका थियौं,’ उनले भने,‘समूहमा भने जस्तो भएन । त्यसले गर्दा मैले एक्लै जिम्मा लिएको छु ।’ समूहमा काम गर्दा सोंच र शैली नमिल्ने भएका कारण पनि आफैले एक्लै सञ्चालन गर्ने निधोमा पुगेको उनी बताउँछन् ।
‘समूहमा काम गर्दा सहज हुँदैन, सबैको फरक फरक सोचाइ हुन्छ,’ उनी भन्छन्,‘आफ्नै मात्र भए आफ्नो सोंच र योजना अनुसार अगाडि बढ्न पाइन्छ । नाफा घाटामा पनि आफ्नै मात्र हिस्सेदारी हुन्छ ।’ कोरियामा बस्दा पाएको दुःख र गरेको मेहनतले आफूलाई स्वदेशमै केही गरांैै भन्ने जोस र जाँगर दिएको उनी बताउँछन् । ‘उमेर त ६० पुगिसक्यो अब कति समय काम गर्न सकिन्छ थाहा छैन तर कोरियामा बस्दा कडा मेहनत गर्नुपथ्र्यो, कोरियनहरुको मेहनत र उनीहरुलाई पाएको समृद्धि देख्दा स्वदेशमै हामीले पनि यो खालको मेहनत गर्न सकियो भने विदेश जानै पर्दैन भन्ने मलाई मनमा लागेको थियो,’ उनले भने ।
फर्मबाटै राम्रो आम्दानी गरेर स्वदेशमै उद्यमी बन्ने उनको योजना छ । ‘अब म यही उद्यमी बन्छु भनेर नै यसमा लागेको हुँ,’ उनले भने,‘यसबाट राम्रै गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । त्यसले गर्दा समूहमा सुरु गरेको काम म एक्लैले जिम्मा लिएको हुँ ।’ अब आफ्नो परिवारबाट कोही पनि विदेश जान नपरोस् भनेर सबैलाई व्यावसायिक उद्यममा लागेको उनी बताउँछन् । ‘मैले जे जति विदेशमा दुःख गरें गरिहालें अब मेरा छोराछोरी कसैले पनि विदेशमा मैले जस्तो दुःख गर्न नपरोस् भनेर मेले यही व्यावसायिक काम थालेको हुँ,’ उनले भने,‘अहिले परिवार र छोराछोरीले पनि साथ दिएका छन् । म पनि खुसी छु ।’
उनले तीन वटा माछा पोखरीमा ग्रास, काब कमन, सिल्भर काब जस्ता ५ किसिमका माछा पालेका छन् । उनले हालै मात्रै ५० हजार माछाका भूरा पोखरीमा हालेको बताए । राम्रो आम्दानी हुन थाल्दै गर्दा कोरोना महामारीले गर्दा केही समस्या भएको उनको भनाइ छ । ‘निकै राम्रो हुन थालेको थियो, दुइ वर्षयता कोरोनाको महामारी सुरु भएपछि समस्या भयो,’ उनले भने,‘महिनामा ५० हजारको त माछा बेचिन्थ्यो । कोरोनाको बेलामा दाना नपाउँदा माछा थप्न नसकेर केही घट्यो ।’
उनले केवल माछा मात्रै पालेका छैनन् । उनीसंग लोकल कुखुरा, बट्टाई, हाँस समेत पालेका छन् । गाई फर्म पनि विकास गर्दै गएका छन् । आफ्नो फर्ममा पुग्नेलाई अर्गानिक माछा तथा हाँस कुखुराको परिकार खुवाउने उनको योजना छ । त्यसका लागि रिसोर्ट पनि सञ्चालनमा ल्याउने उनको तयारी छ । ‘यहाँ माछा पालन हुन्छ भनेपछि मानिसहरु आउन थालेका छन्, यहाँ आउने पाहुनाहरुलाई व्यवस्थित रुपमा राखेर लोकल स्वाद चखाउने गरी रिसोर्ट पनि सञ्चालन गर्ने योजना बनाएको छु,’ उनले भने,‘बजारमा बस्दाबस्दै थकित भएकाहरु फ्रेस हुन आउने ठाउँ हुन्छ भन्ने विश्वास छ ।’
अहिले पनि पुनको फर्मका माछा, लोकल हाँस तथा कुखुरा खानका लागि मान्छे पुग्ने गरेका छन् । त्यसैबाट आम्दानीको स्रोत बढ्दै गएका कारण दुई अढाइ लाख रुपैयाँ कमाउन विदेश जानु नपर्ने उनी बताउँछन् । उनले छोरालाई पनि यसैमा आवद्ध गराउने योजना बनाएका छन् । ‘महिनमा एक दुई लाख रुपैयाँ कमाउन विदेश जानु पर्दैन, यही कमाइ हुन्छ, भन्ने विश्वास जागेको छ,’ उनी भन्छन् । स्वेदशमै आफ्नो परिवारसंगै बसेर राम्रो गर्नका लागि व्यावसायिक सोंच र काम गर्ने जाँगर हुनुपर्ने उनको भनाइ छ ।