बागलुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा गाँजा खेतीलाई बैधानीकता दिनका लागि ऐन नै ड्राफ्ट भएको बताएका छन । बागलुङको जैमिनी नगरपालिकाको कुश्मिसेरामा लाग्ने ऐतिहासिक माघेसंक्रान्ती मेला तथा जैमिनी महोत्सवको उद्घाटन गर्दै मुख्य मन्त्री पाण्डेले आउँदो हिउँदे अधिबेशन मार्फत गाँजालाई बैधानिक बनाउने कानुन ल्याउने बताए । पाण्डेले गाँजा खेती लागु पदार्थ मात्र नभएर आर्युवेदको औषधी पनि भएको कारण यसलाई औषधी जन्य पदार्थको प्रयोगका लागि बैधानिकता बनाउनुपर्ने बताए । उनले गाँजामा रहेको औषधिय गुणको प्रयोगका लागि गाँजा खेती गर्न बैधानिकता दिनेगरी प्रदेश सरकारले ऐन ल्याउने तयारी गरेको बताए । ‘प्रदेश सरकारले कानुनी रुपमा नै यसको खेती गर्न ऐन डाफ्ट गरेका छौं बैधानिकता दिने केवल औषधी जन्य उत्पादन र उद्योग जन्य पदार्थको उत्पादन गर्नेका लागि हो । मुख्यमन्त्री पाण्डेले भने,‘यसको दुरुपयोग हुनबाट रोक्नका लागि हामी कसरी प्रयास गर्ने त्यो सोचेका छौं । यदी यसको बैधानिकता दिन सकियो भने गाउँमा रहेको बाँझा बारी पनि त्यसै छाड्नुपर्ने छैन ।
उनेल गाँजालाई गण्डकी प्रदेशको आम्दानीको मुख्य स्रोत बनाउन सकिने भएको हुँदा कानूनी अड्चन फुकाउन सरकारले बैधानिकता दिन खोजेको बताए ।
“हामिले औषधी प्रयोजनका लागि उपयोग गर्नेगरी गाँजा खेती गर्न मिल्ने कानून ल्याउँदै छौं, आउँदो हिउँदे अधिबेशनले ऐन ल्याउँछ” उनले भने “दुरुपयोग रोक्ने चुनौती छ, सरकार त्यसको तयारी गरिरहेको छ ।” उनले प्रतिबन्धित घरेलु मदिरालाई समेत बैधानिक बनाईने बताए । सानो पुँजी र परिश्रमले स–सानो आम्दानी गरेर गुजारा गरेकाका लागि स्थानीय मदिरा बैध बनाउन आवश्यक रहेको उनले बताए ।
“अहिले लुकाएर बनाउने देखाएर खाने मदिरालाई स्थानीय मदिरा भनिन्छ” पाण्डेले भने “हामिले देखाएरै बनाएर खाने गरी स्थानीय मदिरालाई बैध गर्ने र ब्राण्डीङ गर्ने योजनामा छौं ।” मुख्यमन्त्री पाण्डेले स्थानीय मदिरा र गाँजा खेतीले गण्डकी प्रदेशको आयस्रोतमा बृद्धि गर्ने बताए ।
पाण्डेले गाउँमा उत्पादन हुने हरेक वस्तुको सही तरिकाले उत्पादनमा जोड दिन सकियो भने बसाईसराई पनि कम हुने बताए । उनले जैमिनी क्षेत्रमा बसाईसराईको बढ्दो समस्या रहेको हुँदा यसलाई रोक्नका लागि पनि यस्ता खेती आवश्यक रहेको बताए ।
पाण्डेले गाउँमा रोजगारी सिर्जना नहुँदा बसाईसराई बढेको बताउँदै गाउँमा पूर्वाधार पुग्ने तर गाउँ पलायन हुनेक्रम नरोकिएको बताए । “हिजो हामिले गाउँमा बिकास भएन, त्यसैले बसाईसराई छ भन्यौं, तर गाउँमा विकास पुग्दा पनि बसाईसराई रोकिएन्” पाण्डेले भने “बसाईसराईको मुख्य कारक रोजगारी हो, गाउँमा रोजगारी सिर्जना नभएसम्म यो क्रम रोकिन्न ।” स्रोत साधन र बिकासको चाहनाका बीचमा तारतम्य नमिलेका कारण जनचाहना अनुसार बिकासका का मगर्न नसकेको बताए । गाउँमा रोजगारी सिर्जना नगरेसम्म बसाईसराई रोक्न सकिँदैन । गाउँका घरहरु रित्तो छन । जमिनहरु बाँझै छन । बाँदरले सताएको छ । समाधानका बाटोहोरु खोज्न सकेका छैनौ । हामीले सोच्न सकेका छैनौं ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वतावरण मन्त्री दिपेन्द्र बहादुर थापा, गण्डकी प्रदेश सभा सदस्यहरु कुशुम बुढा मगर चम्पादेवी खड्का, डिल्लिराम सुवेदी र लिल बहादुर थापाले गाउँमा रहेको उत्पादनलाई बसरी बजार सम्म पु¥याउन सकिन्छ त्यसको बारेमा स्थानिय र प्रदेश सरकारले साच्नुपर्ने बताए । उनिहरुले पछिल्लो समयमा जैमिनी क्षेत्रमा बाँदर आतंककै कारण बसाईसराई बढ्दै गएको हुँदा यसलाई रोक्ने उचित उपायको खोजी गर्न जरुरी रहेको बताए ।
माघ ५ गते सम्म संचालन हुने मेला यस क्षेत्रकै ऐतिहासिक मेलाको रुपमा रहेको छ । मेलामा विभिन्न स्थानिय उत्पादनको प्रचार प्रसार विक्रि वितरण गर्नुका साथै परम्परागन संस्कृति झल्कने सालैजो, झाउरे लगायतका गित गाउने रमाईलो गर्ने गरिन्छ । जैमिनी ऋषिले तपस्या गरेको भुमिको रुपमा लिएको यस क्षेत्रमा हरेक वर्ष माघे संक्रान्तीको अवसरमा मेला लाउने गरेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए । केही वर्ष पहिले कालिगण्डकीको तिर जैमिनी घाटमा नै लाग्ने गरेको मेला हाल कुश्मिसेरा बजारमा लाउँदै आइएको छ ।