बागलुङ- प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिए सँगै बागलुङमा क्रियाशिल पत्रकार सँग निर्वाचन आचरसहिता सम्बन्धी अन्तरक्रिया गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जिल्ला निर्वाचन कार्यालयको आयोजनामा शुक्रबार भएको पत्रकार अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा संचारमाध्यम र संचारकर्मिको भुमिकाको विषयमा छलफल गरिनुका साथै निर्वाचन सम्बन्धी आचरसंहिताको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले प्रस्तुतिकरण गर्दै निर्वाचन आयोगको निर्देशन, आयोग र कार्यालयले अहिले सम्म गरेका काम कारवाही समेतको जानकारी गराएका थिए । बागलुङका २ प्रतिनिधिसभा र ४ प्रदेश सभाका लागि कुल ३१ उम्मेदवारले प्रतिष्पर्धा गर्ने समेत जानकारी दिए ।
उनले पत्रकार र संचारमाध्यमले पस्कने समाचार सामाग्रीले आम नागरिक सुसुचित बन्ने भएकोले कसैको पक्षमा नलागी स्वच्छ र स्वतन्त्र भएर समाचार प्रशारण गर्न सुझाए । साथै पत्रकार र संचार माध्यमले पैसा लिएर गरिने बिज्ञापनमा पनि सिमित समय र स्थान खर्चन पाउने बारे जानकारी दिए ।
राजनीतिक दलले पनि तोकिएको समय र स्थानमा प्रचार गर्न पाउने, निर्वाचन अवधिभर तोकिएको शुल्कभन्दा धेरै खर्चन नपाउने व्यवस्था समेत गरिएको हो । जस अन्र्तगत संघिय संसदकालागि बागलुङ क्षेत्र नंं १ र २ मा उम्मेदवार बनेकाहरुले बढीमा २९ लाख रुपैयाँ मात्रै खर्चन पाउने व्यवस्था छ । प्रदेश सभातर्फ बढीमा १७ लाख रुपैयाँ खर्चन पाउने कानूनी प्रावधानबारे उनले जानकारी गराएका थिए ।
ती खर्च व्यवस्थापनदेखि आचारसंहिता पालनाको अवस्थाबारे अनुगमन र मूल्यांकन गरिदिन समेत उनले पत्रकारलाई आग्रह गरेका थिए । उक्त अवसरमा संचार माध्यमको भूमिका र पत्रकारले पालना गर्ने आचारसंहितालाई सहज बनाउन सकिने आधार बारे पत्रकार महासंघका कावा अध्यक्ष नबिन शिशिर बिकले पनि प्रस्तुतीकरण गरेका थिए । पत्रकारले निर्वाचनको बेला सहज रुपमा तस्वीर खिच्न नपाएको, सूचना समयमा नपाएको लगायतका टिप्प्णी समेत गरेका थिए ।
जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालको अध्यक्षता, कार्यालयका सूचना अधिकारी गोकुल शर्माको संचालन र क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । गत स्थानीय निर्वाचनमा आयोग र कार्यालयले संचार क्षेत्रसँग अन्तरक्रिया समेत नगरेको टिप्प्णी भएको थियो । यो पटक भने आचारसंहिताबारे जानकारी गर्न अभिमूखिकरण भएको रिजालले जानकारी दिए ।