बागलुङ- बागलुङ नगरपालिकाको १० औं नगरसभाले कोरोना महामारी भएका कारण चालु आर्थिक वर्षमा व्यवसाय करमा २५ प्रतिशत छुट दिने प्रस्ताव पारित गरेको छ । नगरसभाबाट न्यायिक समितिको प्रतिवेदन, लेखा समितिले प्रस्तुत गरेको वेरुजु नियमित गर्ने प्रस्ताव, अन्तरवस्तु बजेट संशोधन, नगर प्रहरी ऐन संशोधन प्रस्ताव पारित गरेको छ । अमलाचौरको ढापेखोलादेखि भैरवस्थानसम्मको मोटरबाटोको नाम खेमप्रकाश पाठकको स्मृतिमा नामाकरण गर्ने र दुई वटा सडक मापदण्ड पनि नगरसभाबाट परिवर्तन भएका छन् ।
बागलुङमा नगरपालिकामा देखिएको १८ करोड ५९ लाख ७२ हजार बेरुजु नियमित गर्नेगरी लेखा समिति संयोजक कमल खड्काले प्रस्ताव गरेको प्रस्ताव ध्वनी मतले पारित गरेको हो । उक्त प्रस्ताव प्रस्तुत गर्दै लेखा समिति संयोजक खड्काले गत आर्थिक वर्षमा कोभिडका कारण व्यवसायीलाई दिने भनिएको २५ प्रतिशत कर छुट दिने निर्णय कार्यान्वयनमा नगएको, नगरपालिका भित्रका सामग्री खरिद गर्दा ऐन कानुन अनुसार नभएको, समयमै ठेक्का लगाउने काम नभएको, ठेक्का लगाएका योजनाहरुमा लाहपरबाही भएको उल्लेख गरेको छन् । उनले प्राविधिक कर्मचारीलाई जिम्मेवार बनाउन माग गर्दै प्राविधिक कर्मचारीको गल्तीका कारण ठूलो रकम बेरुजु देखिएको समेत बताएका छन् । खड्काले समयमै काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्नुको सट्टा फेरी त्यही निर्माण व्यवसायीलाई ठेक्का दिएको देखिएको खड्काले जनाएका छन् ।
बेरुजुको विषयमा उठेको प्रश्नको जवाफ दिँदै बागलुङ नगरप्रमुख जनकराज पौडेलले व्यक्ति संस्थाबाट असुल उपर गर्नुपर्ने रकम असुलीको प्रक्रियामा गएको भन्दै प्रक्रिया नपुगेर बेरुजु देखिएको र नगरपालिकालाई क्षति नहुने बेरुजु नियमित गर्न सभामा प्रस्तुत गरिएको बताए । ‘अहिले यहाँ पेश गरिएको बेरुजु प्राविधिक कुरा नमिलेर भएको समस्या हो,’ उनले भने,‘व्यक्तिबाट असुल उपर गर्नुपर्ने बेरुजु नगरपालिकाले दिने सेवा सुविधाबाट कटौती गर्ने र उपभोक्ता संस्थाहरुलाई पनि पत्राचार गरी असुल गर्ने प्रक्रिया थालिएको छ ।’ नगर सभामा नगर उपप्रमुख सुरेन्द्र खड्काले विभीन्न शिर्षमा रहेको बजेट रकमान्तरण गर्ने बजेट संशोधन प्रस्ताप पेश गरेका छन् । एक करोड ९८ नब्बे लाखको बजेट संशोधन प्रस्तावमा कतिपय शिर्षकबाट बजेट कटाएर अर्को कार्यक्रममा थप गरिएको छ । विद्यालय कर्मचारीको तलब न्यूनतम १३ हजार पाँच सय पु¥याउनका लागि ५४ लाख बजेट थप गरिएको छ । कोरोना कोषमा ८६ लाख बजेट रहेकोमा त्यसबाट ६० लाख घटाएर २६ लाख मात्रै राखिएको छ । खेलकुद तथा विविध कार्यक्रका लागि पाँच लाखमा २ लाख बजेट थपी ७ लाख बजेट व्यवस्था गरिएको छ । रेडक्र सोसाईटीको सामग्री व्यवस्थापन अनुदानका लागि दुई लाख, विभीन्न पुरस्कार सम्मानका लागि पाँच लाख, वीरेन्द्र ऐश्वर्य पार्क निर्माणका लागि ४० लाख बजेट थप गरिएको छ । नगरपालिकाले सवारी साधन खरिदका लागि विनीयोजन गरेको ७० लाखमा ५८ लाख घटाएर १२ लाख मात्रै राखिएको छ । एकिृकृत शहरी विकास कार्यक्रमको बजेट आठ लाख रुपैयाँ घटाईएको छ । विपद व्यवस्थापन कोषमा ७४ लाख रुपैयाँ रहेकोमा ३० लाख घटाएर ४४ लाख मात्रै राखिएको छ । नगरसभामा बानपा—२ का वडा सदस्य अर्जुन घिमिरेले कोरोनाको तेस्रो लहर आउन थालेकाले कोरोना कोषको बजेट नघटाउन माग गरे । उनले गाडी खरिदका लागि १२ लाख बजेट विनीयोजन गरेकोमा पनि आपत्ती जनाए । बागलुङ बजारमा सडकबत्ती सीसी क्यामेरा नभएको विषयमा पनि नगरसभाको ध्यानाकर्षण गराएका थिए । बानपा—३ का वडासदस्य कमल खड्काले टेन्डर लगाएर काम सुरु भैसकेको ऐश्वर्य पार्कका लागि बजेट छुट्याएको विषयमा गम्भीर असहमति राखेका थिए । उनले कोरोना कोषको रकम नघटाउन र बसपार्क निर्माण भएर पनि सञ्चालन हुन नसकेकोप्रति नगरसभाको ध्यानाकर्षण गराए । बानपा—११ का वडा सदस्य दुर्गाबहादुर थापाले पहिरोले अवरुद्ध सडक अझै सुचारु नभएको गुनासो राखे । उठेका प्रश्नहरुको जवाफ दिँदै नगरप्रमुख जनकराज पौडेलले विपद् व्यवस्थापन कोष र कोरोना कोष दुबैलाई कोभिड व्यवस्थापनमा खर्च गर्नेगरी व्यवस्थापन गरिएको जानकारी गराए । उनले पछिल्लो समय निर्माण व्यवसायीहरु प्रतिस्पर्धा गर्ने भन्दा पनि मिलेर टेन्डर हाल्ने गरेकाले ऐश्वर्य पार्कका लागि विनीयोजन गरिएको बजेटले नपुगेकाले थप गरिएको जानकारी गराए । नगरसभामा न्यायिक समिति सदस्य लक्ष्मी बास्कोटाले प्रगति प्रतिवेदन र नगर प्रहरी ऐन संशोधन प्रस्वात पेश गरेका थिए ।