बागलुङ- घर—घरमा धारा छन, तर धारामा नियमित पानि आउँदैन । आए पनि धमिलो आउँछ, आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड भएको छ । नगरवासीले शुद्ध खानेपानीको सहज कहिले हुन्छ ? हामीले ढलको धमिलो पानी कहिले सम्म खाने ? यि प्रश्न शनिबार बागलुङ नगरपालिका—३ का कमल खड्काले एक सार्जजनिक कार्यक्रममा सरोकारवालाई गरेका थिए । खड्का मात्र हैन कार्यक्रममा सहभागी अधिकाश नागरिकले खानेपानीकै विषयमा प्रश्न दोहोराई रहे ।
बागलुङ नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा संचालित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरिकका अधिकाशं गुनासो नगरखानेपानी उपभोक्ता संस्था प्रति नै लक्षित थिए । सहभागी नागरिकले नगरखानेपानीले पछिल्लो समयमा खानेपानीको शुल्क बृद्धिका लागि गरेको निर्णय प्रति त आक्रोस नै पोखे । ‘धारामा शुद्ध खानेपानी आउँदैन । आए पनि हावाकै कारण मिटरमा बढि विल चढ्ने समस्या छ । अझै शुल्क बृद्धि गरेर के तमसा देखाएको सहभागी एक नागरिकले भने,—‘पहिले धारामा शुद्ध पानी दिएर शुल्क बृद्धिका काम गरौं नत्र नगरवासीले यो सहन सक्दैनन् ।’ सहभागि अधिकांसले नगरको खानेपानीमा भएको समस्या तत्काल समाधान गर्न सुझाव दिएका छन । उनीहरुले नगरपालिकाले खानेपानीको अभिभावकत्व लिनुपर्ने समेत सुझाए । खानेपानीको विषयमा नगरखानेपानी उपभोक्ता संस्थाका कार्यबहाक अध्यक्ष हरिबहादुर जिसी सन्तोषले नगरखानेपानीका विषयमा उठेका प्रश्नको जवाफ दिएका थिए । उनले खानेपानी संस्थाले शुल्क बृद्धिको प्रस्ताव मात्र राखेको र बृद्धि गरि नसकेको बताए । उनले टिडिएफको १६ करोड ऋणका कारण यसको चुक्ता प्रक्रियालाई अगाडी बढाउँदा २०६८ सालमा तत्कालिन अध्यक्ष केविराना हुँदै गरेका सम्झौता बमोजिम महशुल बढ्ने प्रक्रियामा रहेको बताए । उनले यस वर्ष पनि झण्डै २ करोड १८ लाख ऋण तिर्नुपर्ने अवस्था रहेको र सम्झौता गरेको संस्थाले बढाउनुपर्ने भनेपछि महशुल बृद्धिको लागि प्रस्ताव ल्याईएको बताए ।
कार्यक्रममा नगरपालिकाले संचालन गरेका पूर्वाधारहरु गुणस्तरहिन भएको केहीले टिप्पणी समेत गरेका थिए भने केहीले ग्रामिण क्षेत्रमा भएको जिर्ण सडकको बारेमा प्रश्न गरेका थिए । बागलुङ बसपार्क संचालन, फोहोर व्यवस्थापन, औद्योगिक ग्राम संचालन र बलेवा विमानस्थान संचालनका बारेमा पनि नागरिकका प्रश्न आएका थिए ।
कार्यक्रममा बजार क्षेत्रको पहिलो समस्या भनेको खानेपानी र ढल निकास रहेको हुँदा यसको समस्या समाधानका लागि नगरपालिका जिम्मेवार बन्नुपर्ने सुझाएका थिए । सहभागीले बजार क्षेत्र भित्र बनेको सरकारी भवनले नक्सा पास नगरी बनाएको हुँदा यसलाई तत्काल रोक्नका लागि समेत आग्रह गरेका थिए ।
सहभागीले सदरमुकाम देखि वडा तहमा जोड्ने सडकहरु वर्षाले रोकिएका हुँदा तत्काल खोल्नका लागि नगरपालिकालाई आग्रह गरेका थिए । कार्यक्रममा रुद्र महतले नगरपालिकाका प्राविधिकले योजनाको काम सम्पन्न गरे पश्चात भुक्तानी प्रक्रियामा दुःख दिने गरेको गुनासो गरे । निरज शाक्यले सडक मापदण्डको कुरा उठाए भने नारायण प्रसाद शर्माले जनप्रतिनिधिको सेवा सुविधाको बारेमा पनि नागरिकले थाहापाउनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा रणसिंह बोहोराले नालिमा पानी जमेको छ यसको व्यवस्थापन गर्न जरुरी रहेको कुरालाई जोडे भने, सुमन बोहोराले अपराधिक गतिविधि नियन्त्रणका लागि भावी योजना के छ भन्ने विषयमा नगरप्रमुखलाई प्रश्न गरेका थिए ।
सहभागिको प्रश्नमा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले जवाफ दिँदै नगरबासीलाई स्वच्छ र सफा खानेपानी नियमित खुवाउनका लागि नगरपालिका सधै प्रतिवद्ध रहेको बताए । उनले निर्माणाधिन अवस्थामा रहेको लिफ्टिङको योजना सम्पन्न भए पश्चात नगरवासीको धारामा नियमित पानी खस्नेमा आफु विश्वस्त रहेको बताए । श्रेष्ठले खानेपानीको शुल्कबृद्धि लगायतका विषयमा नगरपालिकाले खानेपानी उपभोक्ता संस्थासँग लिखित जवाफ मागेको बताए ।
उनले नगरपालिकाको बजार क्षेत्रका सवै सडक आगामी वर्ष भित्र थप व्यवस्थित हुने र सवै ठाउँमा अनिवार्य मापदण्ड लागु हुने बताए । ग्रामिण भेगमा नयाँ सडक खन्ने काम रोकिएको र हाल भएका सडकलाई स्तरोन्नती गरी थप व्यवस्थित गरिने श्रेष्ठको भनाई थियो । ‘नगरपालिकाले कृषिमा आत्मनिर्भर नगर बनाउने र अण्डा, मासु, फलफूल र दूधमा आत्मनिर्भर बनाउने उद्देश्य लिईएको छ श्रेष्ठले भने,‘ नगरपालिका पत्रका ४ हजार पाँच सय किसानहरु सुचिकृत गरिएको छ । उनिहरुलाई उत्पादनमा आधारित अनुदान प्रदान गरेर बागलुङ नगरपालिकालाई कृषिमा आत्मनिर्भर गराउने छौं । उनले बजार क्षेत्र भित्र मात्र नभएर बाहिरी क्षेत्रका नागरिकलाई पनि कुनै पनि समस्या परेमा सिधै सम्पर्क गरी आफ्नो समस्या बताउनका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले चालु आर्थिक वर्षमा भएको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । नगरपालिकामा चालु आर्थिक वर्षमा ८६ प्रतिशत प्रगती भएको कंडेलले जानकारी दिए ।
कार्यक्रममा शिक्षा शाखा संयोजक धनप्रसाद पोखरेल, लेखा अधिकृत डिल्ली प्रसाद शर्मा, इञ्जीनियर त्रिलोचन गिरी, स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले नागरिकका जिज्ञासालाई थप प्रष्ट पारेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य महेन्द्र आचार्य, राजमोका नगर अध्यक्ष थानेश्वर सुवेदी, नागरिकहरु कृष्ण शर्मा, कुन्ती सापकोटा, शालिकराम सापकोटा, सुमित्रा शर्मा, देवी प्रसाद पाठक, जगन्नाथ कंडेल, ससबहादुर क्षेत्री, अनन्त खड्का लगायतका व्यक्तिले नगरपालिकाका काम र खानेपानीको विषयमा जिज्ञासा राख्नुका साथै सुझाव दिएका थिए । नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको संचालन नगरपालिकाका प्रशासन शाखा प्रमुख भिसेन पन्तले गरेका थिए भने सार्वजनिक सुनुवाईको सहजीकरण पत्रकार महासंघका सचिव विजय रानाले गरेका थिए । कार्यक्रममा पत्रकार नारायण रिजालले नागरिक सञ्तुष्टी प्रतिवेदन प्रस्तुत गरेका थिए भने पत्रकार खेमराज गौतम सुवासले सार्वजनिक सुनुवाईको आचारसंहिता प्रस्तुत गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको टिप्पणी पत्रकार प्रकाश बरालले गरेका थिए ।