नारायण रिजाल,-बागलुङ । गत बुधबार बागलुङमा जिल्लालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रमको सभाको आयोजना गरिएको थियो । सभाको प्रमुख अतिथि थिए गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रि विन्दुकुमार थापा । कार्यक्रममा मन्त्रि देखी गण्डकी प्रदेश सभाका सांसदहरु, स्थानिय तहका प्रमुख उपप्रुख र स्वास्थ्यकर्मीहरु साथै अन्य सरोेकारवालाको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी सवैले खोप र स्वास्थ्य सम्बन्धी नै कुरा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथतिको रुपमा रहेका मन्त्रि थापाले आफ्नो मन्तव्य भ्याए । उनि प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक भएका कारण सभाबाट विदा मागे । सवै सामु विदा माग्दै गर्दा कार्यक्रम सञ्चालकले मन्त्रि थापालाई जिल्ला खोप समन्वय समितिको तर्फबाट मायाँको चिनो प्रदान गर्ने उद्घोष गरे । तर मायाँको चिनो कुनै सिसाको फ्रेममा राखेको आर्कषण तश्विर तथा अन्य कुनै वस्तु थिएन ।
थियो केबल चोयाले बुनेको डाली र डाली भित्र स्थानिय उत्पादनको रुपमा रहेको भाँगो । कार्यक्रम संचालक घनश्याम सापकोटा सभाका अध्यक्ष एवं जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापालाई मायाँको चिनो हस्तान्तरण गर्न आग्रह गर्दै भने ‘चोयाले बुनेको डाली, डाली भित्र मायाँको कोशेली’ यो भनिरहँदा सभामा रहेका सवैको गडगडाउ तालि बज्यो । उनले मायाँको चिनो कुनै आयातियत वस्तु नभएको र स्थानिय रुपमा नै उत्पादन भएको निगालोको चोयाले बुनेको डाली र डालीमा बागलुङमा उत्पादन हुने भाँगो रहेको जानकारी गराए । मन्त्रिलाई मात्र हैन गण्डकी प्रदेशका उपसभामुख विना थापा, स्वास्थ्य मन्त्रालयका सचिव विनोनविन्दु शर्मा लागतयतलाई डाली भरी भाँगो मायाँको चिनोको रुपमा प्रदान गरिएको थियो । मन्त्रि थापाले स्थानिय उत्पादनमा जोड दिएकोमा आयोजकलाई धन्यबाद दिए ।
यसरी पाहुनालाई मायाँको चिनो स्थानिय उत्पादन प्रदान गर्न लागिएको बागलुङमा पहिलो भने हैन । जिल्लामा हुने अधिकाशं सभा सम्मेलनमा आउने पाहुनालाई मायाँको चिनोको रुपमा भाँगो र गुन्द्रुक लगायतका बस्तुहरु प्रदान गर्ने गरिएको छ । विषेश गरी अचार र चट्नीका लागि स्वादिलो हुने भाङ्गो अहिले बागलुङ आउने पाहुनाका उपहार प्रदान गरिन लागिएको हो ।
विभिन्न सभा सम्मेलन र कार्यक्रममा आउने पाहुनालाई जिल्लामा उत्पादन हुने बस्तुलाई नै मायाँको चिनोको रुपमा प्रदान गर्दा स्थानिय उत्पादनलाई प्रोत्साहन गर्नुका साथै बागलुङको छुट्टै पहिचान गराएको किराना तथा खुद्रा व्यवसायी संघ बागलुङका सचिव गणेश लम्साल बताउँछन ।
लम्सालले पछिल्लो समयमा बागलुङमा उत्पादन हुने भाँगो र गुन्द्रकका माग बढ्दै गएको बताए ।
‘चटनी र अचारका लागि यहाँको भाङ्गो निकै रुचाउने गरेको पाइन्छ, सार्वजनिक समारोहमा मायाँकै चिनोको रुपमा डालीभरी भाँगो र गुन्द्रुक दिने गरिएको छ । यसले भाङ्गोको प्रचार प्रसार र ब्राण्डिङ पनि होस् भन्ने हाम्रो चाहाना हो, ।’ उनले यहाँ उत्पादन हुने भाँगो र गुन्द्रुक सँगै आलु, भटमास, लगायतबा बस्तु पनि कोशेलीको रुपमा बारिह लाने गरेको बताए ।
बागलुङको ताराखोला, काठेखोला, जैमिनी, गलकोट, बडिगाड निसीखोला लगायतका क्षेत्रमा भाँगो र गुन्द्रक उत्पादन हुने गर्दछ । त्यसैगरी बडिगाड र ताराखोलामा चोयाले बुनेको डाली उत्पादन गर्ने गरिएको छ । यहाँकै किसानको बारीमा उत्पादन हुने बस्तुलाई यसरी प्रयोगमा ल्याउँदा सजिलै बजार पाउनुका साथै स्थानिय उत्पादनको प्रर्वद्धन हुने विश्वास लिईएको छ ।