काठेखोला गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न

  • माघ ९, २०८०

बागलुङ- जिल्लाको काठेखोला गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको सभाहल सुल्डाँडामा सम्पन्न गाउँसभामा अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले जनताको चाहाना अनुसार काम गर्नका लागि स्रोत अभाव भए पनि केही प्रयासहरु अवश्य भएको बताए । ‘जनताको असिमित चाहाना र आवश्यकता छ तर स्रोत साधन सिमित छन् त्यही सिमित स्रोत साधनले केही प्रयासहरु अवश्य भएका छन्,’ उनले भने,‘अधिकतम जनतालाई लाभ पुग्नेगरी काम गर्नका लागि हामी हरदम पर्यत्न गरिरहेका छौं ।’
 उनले गाउँपालिकामा गौरवको योजना मार्फत प्रत्येक वडामा पुग्ने सडक स्तरोन्नतीका कामलाई अगाडि बढाएको, काठेखोला—६ सुलडाँडा लेखानी सेतीचौर हुँदै ठूलढुङ्गासम्म सडक स्तरोन्नती भैरहेको, रेश बौर सडकको काम तिब्र गतिमा अगाडि बढिरहेको र त्यसलाई निर्माण सम्पन्न गर्नका लागि गाउँपालिकाले दायित्व बहन गर्ने बताए । प्रदेश सरकारको सशर्त काफलबोट धम्जा बेलढुङ्गा सडक स्तरोन्नतीका लागि सम्झौता भएको, डुडियाँघाट पुल १८ महिना भित्र निर्माण सक्नेगरी काम सुरु भैसकेको उनले अर्धवार्षिक समीक्षामा प्रस्तुत गरेका छन् । सवारी भाडादरमा समस्यामा देखिएपछि कतिपय वडामा भाडादर निर्धारण गरेर लागू गरिएको कतिपय वडामा छलफल भैरहेको उनले जानकारी दिए । 
विद्यालयहरुमा विद्युतीय हाजिरी जडान गरिएको, भिएसओ र विवाईसी बागलुङसंगको सहकार्यमा सिकाई परियोजना मार्फत २७ वटा विद्यालयमा सिकाई परियोजना लागू भएको, अहिलेसम्म कक्षा १—३ को स्थानीय पाठ्यक्रम अनुसारको पुस्तक छपाई भएर पठन पाठन सुरु भएको र आगामी शैक्षिक सत्रदेखि कक्षा १—८ सम्मकै स्थानीय पाठ्यक्रमको पुस्तक छपाई गरी विद्यालयमा पठन पाठन गराउने तयारी रहेको उनले जानकारी गराए । अध्यक्ष थापाले स्वास्थ्य संस्थाहरुमा विद्युतीय सफ्टवेयर मार्फत काम अगाडि बढेको, गर्भवती र सुत्केरी महिलाका लागि पोषण सामग्री वितरण, ३९ जना मृगौला प्रत्यारोपण, क्यान्सर र स्पाईनल इन्ज्युरी भएका नागरिकलाई मासिक पाँच हजार रुपैयाँ दरले जीवन निर्वाह खर्च पनि दिन सुरु भैसकेको जानकारी दिए ।
 गाउँपालिका भित्रका विपन्न दुई सय परिवार नागरिकको स्वास्थ्य बीमा गाउँपालिकाले गरिदिएको छ । काठेखाला गाउँपालिकाका महिला, दलित जनजाति र विपन्न परिवारका २२ जना विद्यार्थीलाई गाउँपालिकाको खर्चमा प्राविधिक शिक्षा पढ्न मुस्ताङ लेते पठाईएको पनि गाउँपालिकाले जनाएको छ । भिमसेन माविमा प्राविधिक विषय अध्ययन गर्ने ३२ जना विद्यार्थीलाई पनि गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको छ । गाउँपालिका भित्रका १०४ जना युवालाई निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिका भित्रको दलित समुदायका तथ्याङ्क संकलन गर्ने कार्य सम्पन्न गरिएको र त्यसबाट एक हजार एक सय ८४ जना दलित जनसंख्या रहेको उल्लेख गरिएको छ । 
यसबाट आगामी दिनमा योजना बनाउँदा दलित समुदायको हितलाई ध्यानमा राखेर काम गरिने पनि अर्धवार्षिक समीक्षामा उल्लेख गरिएको छ । चट्याङबाट हुने क्षति न्युनिकरण गर्न ४४ वटा संस्थाको ११३ वटा भवनमा २४१ सिस्टम जडान गरिएको छ । घुम्ती शिविर मार्फत गाउँपालिका भित्रका ९७८ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, २६ जनालाई अपाङ्ग परिचयपत्र र ८४५ जना नगारिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । यो शिविरको क्रममा ५७ वटा योजना सम्झौता भएका छन् । तीमध्ये ४७ योजनाको काम सम्पन्न भैसकेको छ । बैंकसंगको सहकार्यमा विभिन्न वडाहरुमा पुगेर सामाजिक सुरक्षा वितरण गरिएको, ८ वटा कार्यविधि निर्माण गरी लागू गरिएको र ३ वटा ऐन संशोधन गरिएको जनाईएको छ ।
 कृषि उद्यमीलाई प्रवद्र्धनका लागि ५०÷५० प्रतिशत अनुदानको व्यवस्था गरिएको, ५२ जना कृषकमा प्रतिस्पर्धा गराई उत्कृष्ट ८ किसालाई गाउँसभामा सम्मान समेत गरिएको छ । अध्यक्ष थापाले प्रस्तुत गरेका अर्धवार्षिक समीक्षामा गाउँपालिकाको कुल ५६ करोड १२ लाख ३४ हजार रुपैयाँ कुल बजेटमा १९ करोड ३४ लाख २७ हजार ८ सय ३७ रुपैयाँ बजेट खर्च भएको छ । यो कुल बजेटको ३४.४६ प्रतिशत हो । विनीयोजित बजेटमध्ये चालुतर्फ ४३.३ प्रतिशत र पुँजीगततर्फ १६.८६ प्रतिशत मात्रै बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको आधा समयमा गाउँपालिकाले कुल ३५ लाख २१ हजार ९ सय ५६ रुपैयाँ राजस्व संकलन गरेको छ । गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष तेजबहादुर थापा तिलकले बजेट रकमान्तर गर्न मिल्नेगरी आर्थिक ऐन संशोधन प्रस्ताव पेश गरे ।
 पूर्वाधार विकास समिति संयोजक लक्ष्मण पुनले कृषि विकास विद्येयक पेश गरे भने सामाजिक विकास समिति संयोजक खडक थापाले गाउँपालिका भित्रका अस्थाीय अनुदान र करारका शिक्षकहरुलाई समेत सरुवा गर्नेगरी शिक्षा एने संशोधन प्रस्ताव गरे । उक्त प्रस्तावहरु गाउँसभाले पारित गरेको छ । गाउँसभाको सञ्चालन सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत खगराज गौतमले गरेका थिए । 
 

प्रतिक्रिया