जैमिनीको पाहाकोटबाट टेलिकमको फोरजी सेवा

  • फाल्गुण ३, २०७९

थम्मन थापा, बागलुङ - नेपाल टेलिकमले जैमिनी नगरपालिकाको वडा नं ७ जैदी पाहाकोटमा चौंथो पुस्ताको मोवाईल सेवा फोरजी सञ्चालनमा ल्याएको छ । टेलिकमले जैमिनी नगर र स्थानिय सँगको समन्वयमा टावर निर्माण गरि टुजी र फोरजी मोवाईल सेवा सञ्चालन गरिएको नेपाल टेलिकमले जनाएको छ ।

 

मोवाईल सेवा नहुँदा यस भन्दा पहिले त्यस  क्षेत्रमा कुराकानी गर्न र ईन्टरनेट चलाउन समस्या रहेकोमा मोवाईल सेवा शुभारम्भ सँगै समस्या हल भएको छ  । टावर सञ्चालनमा भएपछि जैमिनी नगरपालिकाको जैदी, छिस्ती र अर्जेवाको ठुलो भू-भागमा टेलिकमको सिग्नल कभरेज पहुँच बढेको छ ।

 

पहिले यहाँका मानिसहरू सूचना आदान प्रदान गर्न कि त कटुवालको भर पर्नु पर्थ्यो की त सम्बन्धित ठाउँमै धाउनु पर्ने वाध्यता थियो । मोवाइल फोन बोक्ने सेवाग्राहीहरु डाँडा काँडामा पुगेर मुस्किलले कुराकानी गर्ने र मोवाईल डेटा मार्फत ईन्टरनेट चलाउनु पर्दा सेवा ग्राहीले निकै सास्ती खेप्नु परेको थियो । 

 

बागलुङ बजार देखि दक्षिणमा अवस्थित यस क्षेत्रमा टेलिकमले पहिलो पटक मोवाइल सेवा विस्तार गरेको हो । पाहाकोट डाँडामा १४ मिटर अग्लो टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङले जनाएको छ । 

 

सेवा सुचारु भएपछि अहिले स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस र मोवाईल डेटा मार्फत ईन्टरनेट सेवा पाएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए । यस अघि ती दुवै गाउँमा मोबाइल सेवा थिएन । भौगोलिक विकटताका कारण अन्यत्रका टावरबाट सिग्नल पहुँच पुग्दैनथ्यो । मोबाइलमा कुराकानी गर्न अग्लो ठाउँ भएतिर जानुपर्ने बाध्यता थियो । टावर सञ्चालनमा आएपछि त्यहाँका ७ सय घर धुरी लाभान्वित भएको शर्माको भनाई छ । जैदी सँगै छिस्ती र अर्जेवाको अधिकांश बस्तीका नागरिकले भ्वाईस र डेटा सेवा उपयोग गर्न थालेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए 

। उनले भनें हामीले नागरिकको सञ्चार समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकम सँग समन्वय गरि सेवा सञ्चालनमा ल्याउन सफल भएको नगर उपप्रमुख शर्माले उल्लेख गरे ।

 

त्यसको लागि नगरपालिकाले पाहाकोटमा भौतिक पूर्वाधार निर्माण र स्थानिय केन्द्रिय विधुत सँग समन्वय गरि टावर सम्म केन्द्रिय विद्युत पुराईएको छ । टेलिकमले भौगोलिक विकटता र ईन्टरनेट सेवा नपुगेका ठाउँमा टेलिकमले मोवाईल प्रयोगकर्ताको माग र डाटाको खपत बढी हुने ठाउँमा फोरजी सेवा मार्फत डेटा र गुणस्तरिय भ्वाईस सेवालाई समेत विस्तार गर्ने तयारी गरिरहेको छ । 

 

नेपाल टेलिकमले धौलागिरीका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी हालसम्म १ सय २० बढि ठाउँमा टावर निर्माण गरि फोरजी सेवा सञ्चालनमा ल्याई सकेको छ । फोरजी सेवा नपुगेको र सिग्नल कभरेजको पहुँच बाहिर रहेका स्थानमा क्रमश स्थानिय तह र नागरिक सँगको समन्वयमा बिटियस टावर निर्माण गरि सेवा सञ्चालनको तयारी भइरहेको छ टेलिकमले जनाएको छ ।

प्रतिक्रिया