संगम घर्तीमगर - बागलुङ नगरपालिका—१ रामरेखा । धौलागिरि अस्पतालको पछाडिपट्टि सानो घर छ बोमबहादुर विकको । उमरले उनी ६२ वर्षका भए ।
सरकारी जागिरे हुन्थे भने उमेर हदका कारण अनिवार्य अवकाश पाउँथे उनले । उमेरले ६२ वर्ष पार गर्दा पनि हातमा ठूलो घन र छिनाको सहाराले फलाम पिट्ने काम गरिरहका हुन्छन् । अहिले पनि उनको परिवारको मुख्य आम्दानीको स्रोत भनेकै पुख्र्यौली पेशा आरन नै हो । उनले यही पेशाबाट गरेको आम्दानीले आफ्नो जीवन गुजारा गरे । छोरोछारीको लालनपालन गरे ।
उमेरले नेटो काटेर घरले जाजा र वनले आइजाआइजा भन्ने बेलामा पनि उनका पाखुरा रोकिएका छैनन् । फलामको कुटो, कोदालो, फरुवा, हँसिया, बन्चरो लगायतका घरेलु प्रयोगका सामान बनाउने उनले ठिकठाकै आम्दानी गर्दै आएका छन् । पर्वतको कुस्मा नगरपालिका—१ पाङ साविकको पाङ गाविस वडा नम्बर ७ मा पुख्र्यौली घर भएका विकले विगत ४० वर्षदेखि बानपा—१ रामरेखामा बसेर आरन पेशा अंगाल्दै आएका छन् । विकले यसै पेशाबाट कमाएको रकमले घरपरिवारको आवश्यकता टार्दै आएका छन् । विक भन्छन्, ‘दैनिक दुई हजारदेखि पच्चीस सय रुपैयाँसम्म कमाउँछु, घर घडेरी जोड्न नसके पनि परिवारको सबै आवश्कता पूरा गर्न सकेको छु, मलाई यसैमा ढुक्क छ ।’
उनले आरन पेशाबाटै छोराछोरीको पालन पोषण र विवाह समेत गर्न भ्याएका छन् । ‘मैले जानेको काम यही हो, यही कामले छोराछोरीलाई पढाएँ,’ विकले भने,‘छोरीको विहे पनि एक पैसा सापटी नलिई यसैको आम्दानीले उम्काएँ ।’ उनी भन्छ्न,‘कामप्रति इमान्दार हुने हो भने जून काम गरे पनि राम्रै हुन्छ, मलाई सबै चिज पुगेकै छ ।’ उनले नयाँ सामान निर्माण गरेको एक हजार देखि दुई हजार रुपैयाँसम्म लिने गरेका छन् भने पुराना सामान मर्मत गरेको एक सयदेखि तीन सय रुपैयाँसम्म लिने गरेका छन् । विक भन्छन्, ‘आम्दानी जोगाएर यत्ति राखेको छु भनेर देखाउने केही छैन, यो महङ्गो ठाउँमा सबै किनेर खानुपर्छ ।’
आफ्नो कामबाटै आफु सन्तुष्ट भएको उनले बताए । ‘अहिले मलाई कुनै चिन्ता छैन, बुढाबुढी मात्रै छौं,’ विकले भने,‘छोरीलाई विवाह गरे पठाएँ, कान्छो विदेश गईहाल्यो ।’ विगतमा पेशालाई विस्तार गरेर उद्योगको रुप दिने सोंच आए पनि कहाँ जाने के गर्ने केही थाहा नहुँदा विस्तार गर्न नसकेको उनले सुनाए । ‘एक पटक उद्योगको रुपमा विकास गर्छु भन्ने सोंच आएको थियो, तर कहाँ गएर के—के गर्नुपर्ने हो भन्ने केही थाहा नहुँदा त्यत्तीकै खुम्चिएर बसें,’ उनले भने,‘अब त बुढेसकाल पनि लाग्यो रहर पनि सकियो ।’ आफूले परम्परागत पेशाको संरक्षण गरे पनि कतैबाट सहयोग नपाएको विकको गुनासो छ ।
‘मलाई कसैले केही देला भन्ने त छैन, यही कामसम्बन्धी अलि राम्रो तालिम लिन पाए हुन्थ्यो भन्ने आश हो, उनले भने ।’ विकले आरनबाट राम्रै आम्दानी गरे पनि उनका छोराहरुले भने यो पेशा अँगालेका छैनन् । ‘उबेला पढ्ने लेख्ने जमाना पनि थिएन, पढ्न सक्ने अवस्था पनि थिएन, त्यसैले यही पेशमा रमाइयो,’ विक भन्छन्,‘अहिले छोराहरुले पढे लेखेपछि यो काम गर्न छाडे ।’ उनका एक छोरीको विवाह भैसकेको छ । दुई छोरामध्ये कान्छो छोरा वैदशिक रोजगारीमा युएइमा छन्, जेठोले पोखरा पृथ्वीनारायण क्याम्पसबाट पढाइ सकेर अहिले यत्तिकै बसेका छन् । जागिरमा लाग्न नसके पनि उनले बाबुको पुख्र्यौली पेशा भने अंगालेका छैनन् ।
‘अहिले युवाहरु दुःख गर्न चाहन्नन् मैले त सानैदेखि यही पेशा गरें, जहाँ मैले जान्ने भएदेखि नै कुनै बाटोको कुनामा बसेर आरन थापेर खानसक्छु भन्ने हिम्मत आउँथ्यो, अहिले ४० वर्ष भयो,’ विकले भने । उनी आफुले अझै १० वर्ष यो पेशा गर्ने सोंचमा छन् । पहिले पहिले कोइलाका लागि गोल पोल्ने चलन थियो । अहिले अरुले नै आगो बाल्न प्रयोग गरेको दाउराबाट बचेको कोइला किनेर काम चलाउँछन् । उनले ४० वर्ष आरनमा गुजार्दै गर्दा केही व्यक्तिहरु काम सिक्न भनेर आए । यद्यपि उनीहरु आरन चलाउन सक्ने गरी सीप नसिकेका कारण अब यो पेशा लोप हुनेमा विक चिन्तित छन् ।