बागलुङ - क्षयरोगको दर पत्ता लगाई उपचार तथा रोकथाममा थप सहयोग पुगोस भन्ने उद्देश्यले शुक्रबार देखी जिल्लाको गलकोटमा स्वास्थ्यकर्मीहरुका लागि क्षयरोग सम्बन्धी आधारभुत तालिम सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा तिन दिन सम्म संचालन हुने तालिममा जिल्लाका दश वटै स्थानिय तहमा कार्यरत २२ जना स्वास्थ्यकर्मी सहभागि रहेका छन ।
पछिल्लो समयमा जिल्लामा क्षयरोगको दर बढ्दै गएको हुँदा यसको रोगथामका लागि अझै प्रभावकारी बनाउनका निम्ती तालिमको आयोजना गरिएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । तालिम उद्घाटन सत्रमा बोल्दै गलकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत सुशिल पौडेलले क्षयरोग निको हुने रोग भएका कारण यो लागेपछि विरामीलाई नियमित औषधी सेवनमा स्वास्थ्य कर्मीले थप प्रेरित गर्नुपर्ने बताए । उनले गाउँगाउँमा अझै पनि यसका लक्षण देखिएका व्यक्तिहरुले लुकाउने चलन भएको हुँदा स्वास्थ्यकर्मी खोजी कार्यक्रम सक्रिय हुनुपर्ने बताए ।
नेपाल सरकारले सन २०५० सम्म नेपालमा क्षयरोगको दर शुन्य बनाउने लक्ष्य अनुरुप हरेक गाउँघरमा क्षयरोगका विरामी खोज पडताल अभियान संचालन गरको छ । तालिम पश्चात स्वास्थ्यकर्मीहरुले क्षयरोगका विरामी खोज्ने र उपचारमा गर्नका लागि थप मद्धत पुग्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिए । जिल्लामा अघिल्लो वर्ष १८० जनता क्षयरोगका विरामी रहेका थिए भने यस वर्षको हाल सम्म ७९ जना विरामी रहेका छन । तालिमको सहजीकरण स्वास्थ्य कार्यालय बागलुङ क्षयकुष्ठ निरिक्षक घिमिरे र ल्याब टेक्नीसीयन डिल्लीप्रसाद आचार्यले गर्ने छन । कार्यक्रम स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माको अध्यक्षता र खोप सुपरभाईजर राजु खत्रीको संचालनमा सम्पन्न भएको थियो ।