बागलुङ - “स्थानिय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप वडा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित जैमिनी नगरपालिका वडा नं. २ लाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । दमेक स्वास्थ्य चौकीको आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा वडा अध्यक्ष तथा वडा खोप समन्वय समितिका अध्यक्ष प्रेम सापकोटाले घोषणा गरेका हुन ।
कार्यक्रममा बोल्दै कार्यक्रममा बोल्दै वडा अध्यक्ष सापकोटाले पूर्ण खोप सुनिश्चितता घोषणा केवल उपलब्धि मात्र नभई जिम्मेवारी पनि भएको बताए । “हामीले आज पूर्ण खोप वडा घोषणा गरेका छौं, यो हाम्रो सामूहिक प्रयासको परिणाम हो। अब यो उपलब्धिलाई दिगो बनाउँदै एक जना पनि बालबालिका खोपबाट वञ्चित नहुने सुनिश्चितता गर्नु हाम्रो मुख्य जिम्मेवारी हो,” उनले भने ।
उनले स्थानीय स्रोत, जनसहभागिता र समन्वयको माध्यमबाट स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता समेत व्यक्त गरे ।
स्वास्थ्य चौकीका अनुसार वडा नं. २ मा १६ देखि ५९ महिनासम्मका ७५ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेका छन् भने ० देखि १५ महिनासम्मका २३ जना बालबालिका नियमित खोप कार्यक्रममा आबद्ध रहेको स्वास्थ्य चौकी प्रमुख हेमकुमार क्षेत्री आचार्यले जानकारी दिए ।
कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका विमला जिसी, स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष एवं जैमिनी नगरपालिका वडा सदस्य भगवती सापकोटा, नारायणप्रसाद सापकोटा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा खोप समन्वय समितिका पदाधिकारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यालयका प्रतिनिधि, टोल विकास समिति तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सौगात पौडेलले गरेका थिए ।