ढोरपाटन सिकार आरक्षमा पहिलो यामको सिकार सुरु

  • कार्तिक १, २०७८

मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस साता नाउर र पाँचवटा झारलको सिकार हुने भएको छ ।  सिकारका लागी विदेशका व्यावसायिक सिकारी आरक्षमा आउन थालेका छन् । सिकारी आउन थालेपछि आरक्षले आवश्यक बन्दोबस्त र मार्ग निर्देशनका लागी आफ्ना कर्मचारी र शिकारीका भरिया सम्बधित ब्लक खटाएको छ ।  
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार यामको लागि सात नाउर र पाँच वटा झारलको सिकार अनुपति दिएको छ । २ कात्तिकदेखि मंसिरसम्म सिकार पर्यटन जारी रहनेछ ।
अनुमति लिएका सिकारीले तोकिएको समय र क्षेत्रमा निश्चित वन्यजन्तुको सिकार गर्न पाउँछन्। 
ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्याक एण्ड ट्रेल्स कम्पनीमार्फत फेन्च, युक्रेन, मेक्सिकन र रुसी सिकारको लागि आउनेछन् ।
पहिलोयाममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार हुनेछ । ढोरपाटन क्षेत्रमा बर्षेनी (असोज–मंसिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । पेसेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गरेका छन् । 
 गत वर्षको दुई सिजनमा १८ नाउर र नौ झारलको सिकार भएको थियो । आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा सिकार खेल्ने गरिएको थियो ।
सिकारीसहितको टोलीले १५ दिन जंगलमै समय बिताउँछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । विश्वभरका साहसिक शिकारीका लागि प्रख्यात मानिएको यस आरक्षमा शिकार गर्नका लागि अमेरिका, रसिया, स्पेनलगायतका विकसित मुलुकका शिकारी आउने गर्दछन् । ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको शिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि शिकारी आउने गरेको आरक्ष कार्यालयले जनाएको छ।सरकारले विसं २०४२ सालमा शिकार आरक्ष स्थापना गरेपछि बर्षेनि शिकारका लागि अनुमति प्रदान गरिँदै आइएको छ ।
पश्चिम नेपालका तीन जिल्ला रुकुम, बाग्लुङ र म्याग्दीको १,३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ढोरपाटन सिकार आरक्षमा ३२ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् ।
 

प्रतिक्रिया