• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र

  • फाल्गुण २६, २०७८

बागलुङ-   तिन दशक अगाडी जिल्लाको नारायणस्थानमा रहेको बलेवा विमानस्थलमा नियमित जाहाज चल्थ्यो । त्यो बेला यस क्षेत्रबाट देशको विभिन्न ठाउँमा पुग्ने एउटै यहाँबाट संचालन हुने हवाई सेवा मात्रै थियो । हवाइ यात्रा गर्न नसक्नेहरु कैयौं दिन लगायर पैदल यात्रा गर्नुपथ्र्यो । पञ्चायतकालमा जनश्रमदानबाट बागलुङ नगरपालिका—१४को नारायणस्थानमा एयरपोर्ट निर्माण गरिएपछि त्यहाँ देशका विभिन्न ठाउँहरुमा हवाई सेवा सञ्चालन भएको थियो । काठमाडौ,ं पोखरा, भैरहवा लगायतका ठाउँमा बलेवाबाट जहाज जान्थ्यो । यातायातको अरु सुविधा नभएका कारण हवाइ सेवाले सजिलो र छिटो छरितो पनि बनाएको थियो । 
२६ वर्षसम्म उक्त विमानस्थल गौचरणको रुपमा रह्यो 
२०४८ सालपछि बागलुङ—पोखरा जोड्ने गरी सडक सञ्जाल निर्माण भयो । नियमित  सवारी साधन चल्न थालेपछि मानिसहरु बलेवा एयरपोर्ट पुग्न छाडे । हवाइ सेवाको तुलनामा सस्तो यात्रा हुने भएपछि धेरैजसो सवारी साधनबाटै यात्रा गर्न थाले । आर्थिक स्थिति सामान्य भएकाहरुका लागि यातायात वरदान भयो । हवाइ सेवा उपभोग गर्न सक्नेहरु पनि यातायातको सहज व्यवस्थापन नभएपछि बलेवा विमानस्थल पुग्न छाडे । बलेवा विमानस्थलको हवाइ सेवा प्रभावित हुँदै गयो । हवाइ यात्रा गर्ने यात्रुहरु कम हुँदै जाँदा नेपाल वायु सेवा निगमले बलेवामा जहाज पठाउन छोड्यो । जहाज चल्न छाडेपछि विमानस्थल घाँसे मैदानमा परिणत भयो । २६ वर्षसम्म उक्त विमानस्थल गौचरणको रुपमा रह्यो ।
 संघीयताको मर्मअनुसार मुलुकमा तीन तहको सरकार बनेर स्थानीय निर्वाचनपछि बागलुङ नगरपालिकाले विमानस्थल सञ्चालनको अगुवाइ ग¥यो । बागलुङ नगरपालिकाले यात्रुको सुनिश्चिता गर्ने गरी धरौटीसमेत राखेपछि नेपाल एयरलाईन्स र तारा एयरलाइन्सले २०७४ चैत ९ गतेबाट केही समय हवाइ सेवा सञ्चालन गरे । नगरपालिका आफैले एयरपोर्ट सञ्चालनको पहल थालेपछि नेपाल सरकारले विमानस्थल कालोपत्र गर्ने गरी बजेटको व्यवस्थान प¥यो । 
कालेपत्रेको कामलाई कोरोनाको प्रभाव 
सरकारको योजना र ठेक्का अनुसार २०७७ फागुनमै कालोपत्र  गर्नुपर्ने विमानस्थलको धावनमार्ग कालोपत्र गर्नुपर्ने थियो । कोरोना महामारी र विभिन्न कारणले पटक—पटक काम प्रभावित बन्दै आएकोमा अहिले भने बलेवा विमानस्थल कालोपत्र  गर्ने कार्य सुरु भएको छ ।
 नयाँ प्रविधिको प्रयोग गरेर फागुनको पहिलो सातादेखि नै एयरपोर्टको धावनमार्ग कालोपत्रको काम सुरु भएको हो । फागुन १ गतेबाट सुरु भएको धावनमार्ग कालोपत्रको काम फागुन मसान्तभित्रै सक्नेगरी अगाडि बढेको निर्माण कम्पनीका प्रतिनिधि बासु थापाले जानकारी दिए । ‘विभिन्न समस्याका बाबजुद पनि धावनमार्गको निर्माणको काम अगाडि बढको छ,’ उनले भने,‘फागुन १ गतेबाटै सुरु गरेका थियौं । यो महिनाभित्रै निर्माण पूरा गर्ने हाम्रो योजना रहेको छ ।’ नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७७ फागुन महिना भित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र  गरी सक्ने गरी काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुसँग सात करोड रुपैयाँमा ठेक्का सम्झौता गरे पनि विभिन्न बहाना बनाउँदै निर्माण कम्पनीले काममा ढिलाइ गर्दै आएको थियो । 
कोरोना महामारी तथा खराब मौसम लगायतका कारणले गर्दा काम पटक पटक प्रभावित हुँदा आफूहरु समेत अप्ठ्यारोमा परेको कम्पनी प्रतिनिधि थापा बताउँछन् । ‘कहिले कोरोनाले गर्दा काम गर्न सकिएन, त्यसपछि मौसम पनि अनुकुल रहेन,’ उनले भने,‘मौसम सुधार आउँदा बित्तिकै काम अगाडि बढेको छ । हामी पनि छिटो काम सक्ने पक्षमा थियौं । भैपरी आउने समस्याले गर्दा अप्ठ्यारो भयो ।’ धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रका लागि तयार भएको विमानस्थल सडक र कोरोनाका कारण धावनमार्गको ग्राभेल समेत भइसक्दा समेत कालोपत्रको काम हुन सकेको थिएन । 
कालोपत्रका लागि आस्फाल प्रविधिको प्रयोग
विमानस्थल कालोपत्रका लागि आस्फाल प्रविधिको प्रयोग गरिएको छ । मौसम र प्रविधिले दुःख नदिए अबको केही दिनमै कालोपत्रको काम सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सत्यराम दुवालले जानकारी दिए । ‘मौसममा सुधार भएपछि कालोपत्रको काम अगाडि बढेको छ, नयाँ प्रविधिको प्रयोग भएका कारण प्रविधि र मौसम अनुकुल भएर चाँडै काम सकिन्छ,’ उनले भने । विमानस्थल कालोपत्रको ठेक्का चैत्र मसान्तसम्ममात्रै रहेकोे प्राधिकरणले जनाएको छ । कोरोना महामारीका कारण प्रभावित आयोजनाहरुको म्याद सरकारले चैत मसान्तसम्म थप गरेको थियो । कालोपत्र  निर्माणसंगै विमानस्थलको काम सम्पन्न हुनेछ । विमानस्थल कालोपत्र  भएपछि पुनः हवाइ सेवा सञ्चालन हुने बागलुङ नगरप्रमुख जनकराज पौडेल बताउँछन् ।
‘विगतमा बागलुङ नगरपालिकाले जिम्मेवारी लिएर एयरपोर्ट सञ्चालनमा ल्याएको थियो, त्यही कारणले पनि सरकारले एयरपोर्ट कालोपत्र गर्ने योजना ल्यायो,’ उनी भन्छन्,‘अब हवाइ सेवा सञ्चालनका लागि थप सहज हुनेछ । यसले यहाँको आन्तरिक तथा बाह्य पर्यटनको सम्भावनालाई थप उजागर गर्नेछ ।’ हवाइ सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै, पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ । अहिले पनि बलेवा विमानस्थलसम्म पुग्ने सडक कच्ची भएका कारण समस्या भएको उनको भनाइ छ । ‘हवाइ यात्रा गर्न चाहानेहरु पनि पोखरा गएर त्यहाँबाट जहाजमा यात्रा गर्ने गरेका छन्,’ उनले भने,‘बलेवा एयरपोर्ट पुग्न र पोखरा पुग्न उस्तैउस्तै समय लाग्ने भएपछि त्यस्तो हुनु स्वभाविक हो । हामी कालिगण्डकी करिडोरको कालोपत्रका लागि पहल गरिरहेका छौं ।’ 

प्रतिक्रिया