• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

रोट पकाएर परम्परा र दैनिकी धानेका डम्बर

  • असोज १३, २०८२

बागलुङ । विहान सबेरै उठ्छन नुहाई धुवाई गर्छन र आफ्नो दैनिकीमा लाग्छन डम्बर मल्ल । उनको दैनिकी नै गण्डकी प्रदेशकै ऐतिहासिक शक्तिपिठ बागलुङ कालिका मन्दिरको गेट नजिकै वित्ने गर्छ । उनले दैनिक गर्ने कर्मले यहाँको परम्परालाई धानेको छ भने उनकै जिवनशैली र दैनिकीमा नयाँ आयाम थपिएको छ । मन्दिरको मुख्य गेटको दायाँपट्टि टिनले छाएको सानो छाप्रोमा आगोको रापसँग आफ्नो जिवशैली चलाएका छन बागलुङ नगरपालिका–१, भगवती रोडका डम्बर मल्लले । 
बडादसैँको नवरात्र सुरु भएपछि मल्ल बिहानैदेखि अगेनामा रोट पकाउन व्यस्त हुन्छन । मन्दिरमा परम्परागत रुपमा चढाउँने गरिएको रोटको बारेमा धेरैलाई त थाहा छ तर थाहा नभएकालाई उनले यसको महिमा सुनाउँछन । आफुले बनाएका रोट पुजा तथा प्रसादको रुपमा  बिक्री गर्नु उनको दैनिकी बनेको छ ।  
रोट बनाउने व्यवसायले फेरिएको जिवनशैली
कालिका मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी उनले बनाएका रोट चढाउने गर्छन । विगतमा विभिन्न पेशा व्यवसाय गर्दै आएका मल्ल जब मन्दिर गेटमा रोट बनाउने काम गर्न थाले अहिले उनको जिवनशैलीमा नै परिवर्तन आएको छ । यहाँ रोट बनाउने उनि एक्लो व्यवसायी समेत हुन । ‘कहिले फुल प्रसादको व्यापार गरेँ कहिले गाडी एम्बुलेन्स चलाएँ धेरै  काम गरियो तर यहाँ रोट बनाएर विक्रि गर्न थालेपछि यसैले धानिएको छु डम्बरले भने,– ‘२०७६ सालदेखि मन्दिर गेटमा कालिका मातालाई चढाउने रोट बनाउन थालेको हुँ यस पछि मेरो दैनिकी जीवनशैली र बोलिचालीमा ठुलो परिवर्तन आएको छ कालिका माताको आर्शिवाद प्राप्त भएको छ ।’ उनले अहिले यसमै सन्तुष्टि पाएको बताए । 
नैबेतका सामग्री मिसाएर पकाइने रोट कालिकालाई चढाउन उत्तम
तत्कालिन कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्को प्रेरणा र उहाँको सुझावले आफुले रोट बनाउन लागेको मल्ल बताउँछन । उनले रोट बनाउनका निम्ती पाल्पा भैरवस्थान मन्दिर पुगेर सिकेका थिए ।  ‘त्यो बेला मलाई रोट कसरी बनाउने भन्ने बारे केही पनि थाहा  थिएन । संयोगवश परिवारसहित घुम्न पाल्पा भैरवस्थान पुग्यौँ । त्यहाँ तीन दिन बस्दा मैले रोट बनाउनेबारे थाहा पाएँ र यहाँ आएर त्यही कामले मेरो जीवन गुजारा चलेको छ यसैले परिवार धानेको छु मल्लले भने ।’

कालिका भगवतीलाई प्रसाद स्वरूप नैबेतका सामग्री मिसाएर पकाइने रोट चढाउने प्रचलन पुरानो हो । बलि चढाउन नसक्ने र नरिवल फूलप्रसादको चलन सुरु नुहँदासम्म भक्तजनले घरमै रोट बनाएर चढाउने गर्थे । घरमै बनाउने चलन हराउँदै गएपछि मल्लले मन्दिर गेटमै भक्तजनलाई सजिलै उपलब्ध गराउन थालेका हुन । भक्तजन कालिकामा चढाउन र प्रसादका लागि रोट किनेर लैजाने गरेको मल्लले बताए । 
रोट बनाउन भ्याई न भ्याई छ 
एउटा रोट बनाउन एक माना चामलको पिठो, ल्वाङ, नरिवल, चिनी, अन्य नैबेतका सामग्री र करिब २ सय देखी ३ सय ग्राम स्थानीय घिउ प्रयोग हुने गर्दछ । ‘एउटै रोट पकाउन करिब ३५ देखी ४५ मिनेट लाग्ने  गर्दछ । ‘हामीले राम्रो र स्वादिलो बनाउनका निम्ती दाउरा नै प्रयोग गर्ने गछौं मल्ले भने,– अहिले चार वटा अगेनामा एकै पटक पकाउँदा सवा एक घण्टामा आठ वटा सम्म बनाउन भ्याईएको छ नवदुर्गामा दर्शनार्थीको भाग बढ्दो भएका कारण रोट बनाउन भ्याई न भ्याई छ । ’उनले धोरै बनाउँदा  नैबेतका सामाग्री र घिउ धेरै खर्च हुने र धेरै बनाउँदा राम्रै फाईदा हुने बताए । 
एउटा रोटको ४ सय रुपैयाँ
मल्लले एउटा रोटको चार सय रुपैयाँका दरले दर्शनार्थीलाई दिने गरेको सुनाउँछन । उनले सामान्य दिनमा भन्दा बडादसैँ र चैतेदसैँमा पाँच÷छ गुणाले बढिले माग हुँदा व्यापार पनि राम्रै हुने बताउँछन । ‘अरु दिन भन्दा वडा दशैं र चैत्राष्टमीको समयमा बढि मात्रामा नै विक्रि हुने गर्दछ नवदुर्गाको समयमा सप्तमी सम्म दैनिक ३० देखी ३५ सम्म विक्रि हुने गरेता पनि फुलपातीको दिन झण्डै ६० जती विक्रि हुने अनुमान गरिएको छ । नवरात्रको समयमा देशभरिबाट पूजाआजाका लागि दर्शनार्थी  बढेपछि रोटको माग पनि बढ्दै गएको उनले बताए । यही व्यवसायबाट मासिक करिब ५० हजार रुपियाँ आम्दानी हुने गरेको उनि बताउँछन । 
सुतक वा जुठो परे चुलो बल्दैन
मन्दिरमा रोट चढाउन विशेष गरी पुराना पुस्ताले नै रोज्ने गरेको मल्ल बताउँछन । ‘ पुरानो पुस्ताले मात्र रोटको महत्व र महिमा बुझेका छन नयाँ पुस्ताले पनि हाम्रो परम्परा र संस्कृति बुझन भन्ने उद्देश्यले यो व्यवसाय रोजेको हुँ डम्बरले भने– ‘मैले रोटको महत्व बुझे हाम्रा छोराछोरीलाई के हो भन्ने थाहा थिएन तर मैले बनाउन थालेपछि उनीहरूले पनि बुझ्न थालेका छन ।  मल्ले घरमा सुतक वा जुठो परे चुलो बल्दैन, नुहाएर चोखो नभएसम्म रोट पकाउँदैनन पनि आस्था र विश्वाससँग जोडिएको काम भएकाले व्यवसायसँगै धर्म र कर्तव्य निभाउनु उनले आफ्नो कर्तव्य ठानेका छन । 
परिवारमा श्रीमती र तीन सन्तान रहेका उनका  एक छोरा जापान र अर्काे बेलायतमा र छोरी अस्ट्रेलियामा छन् । मन्दिर गेटमा मासिक पाँच हजार रुपियाँ भाडा तिरेर सानो सटर लिएर व्यवसाय सञ्चालन गरेका मल्लले रोटसँगै परेवाको दाना र अन्य पूजा सामग्री पनि  विक्री गरेका छन । 
 

 
 

प्रतिक्रिया