काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन र महँगीको चापलाई सम्बोधन गर्न तलबमानमा उल्लेख्य वृद्धि गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट भाषणका क्रममा कर्मचारीहरूको सुरु तलब स्केलमा १० प्रतिशतले वृद्धि गरिएको जानकारी दिए । पछिल्लो चार वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थालाई मध्यनजर गर्दै हाल कायम रहेको महँगी भत्तालाई समेत निरन्तरता दिई यो नयाँ व्यवस्था लागू गरिएको उनले बताए ।
बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको र कार्यसम्पादनका आधारमा पारिश्रमिक दिने पद्धतिको सुरुवात गर्न थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताए ।
कार्यसम्पादनमा आधारित यो नयाँ प्रोत्साहन भत्ताले सार्वजनिक सेवालाई थप नतिजामुखी र व्यावसायिक बनाउने सरकारको विश्वास छ । यस नयाँ व्यवस्थाबाट कर्मचारीहरूले हाल खाइपाइ आएको पारिश्रमिकमा कुल करिब २१ प्रतिशतको वृद्धि हुने उनले बताए ।
यस तलब वृद्धिसँगै अब निजामती, जंगी र शिक्षकहरूको ग्रेडसहितको न्यूनतम तलब करिब ४० हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँभन्दा माथिसम्म कायम हुने भएको छ । अर्थात् तत्लो तहका कर्मचारीको न्यूनतम ४० हजार र उच्च ओहोदामा १ लाखभन्दा बढी हुनेछ । नयाँ तलब साउन १ देखि लागू हुनेछ ।