काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बागलुङ क्षेत्र नम्बर १ बाट खुल्लातर्फ महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन्।
पौडेल विगत दुई दशकदेखि कांग्रेस सभापति थापाको राजनीतिक तथा नीतिगत टिमको नेतृत्व गर्दै आएका छन्। नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि गठन गरेको केन्द्रीय निर्देशन समिति र विधान मस्यौदा समितिमा पनि पौडेल सदस्य-सचिवको जिम्मेवारीमा छन्।
लामो समयदेखि सार्वजनिक नीति विश्लेषण तथा राजनीतिक गतिविधिमा सक्रिय उनी बागलुङमा पार्टीको स्थानीय संगठनात्मक आधारसँग पनि जोडिँदै आएका छन्। अंग्रेजी साहित्य, राजनीति शास्त्र र कानुनमा स्नातकोत्तर गरेका पौडेलले थापासँग विभिन्न पुस्तकहरूको सहलेखनसमेत गरेका छन्।
बागलुङ नगरपालिका वडा नं. १३ पैयुँपाटाका पौडेलले स्कुले जीवनबाटै राजनीति सुरु गरेका थिए। उनले धौलागिरि बहुमुखी क्याम्पस बागलुङको नेतृत्वदायी भूमिका, नेपाल विद्यार्थी संघ (नेविसंघ) बागलुङको जिल्ला सचिव हुँदै त्रिभुवन विश्वविद्यालयमा नेविसंघको राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
२०६४ सालको संविधानसभा निर्वाचनका क्रममा गगन थापासहितको सहलेखनमा ‘संविधानसभा र नेपाली कांग्रेस’ पुस्तक प्रकाशन गरेका पौडेलसँग संविधान र संसदीय मामिला विज्ञका रूपमा कार्य गरेको अनुभव छ। २०७३ सालमा थापा स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा पौडेल उनका प्रमुख सल्लाहकार थिए। तत्कालीन समयमा स्वास्थ्य मन्त्रालयमा थापाको कार्यशैली र नीति निर्माणमा सल्लाहकार तथा स्वयंसेवकहरूको टिमले महत्त्वपूर्ण भूमिका खेलेको थियो, जसको नेतृत्व पौडेलले नै गरेका थिए।
थापा मन्त्री हुँदा पौडेलले स्वास्थ्य नीति, स्वास्थ्य प्रणाली, स्वास्थ्य बीमा, जनशक्ति व्यवस्थापन र स्वास्थ्यसम्बन्धी कानुन निर्माणमा नीतिगत टिमको नेतृत्व गरेका थिए। कांग्रेसका २०७०, २०७४ र २०७९ का निर्वाचन घोषणापत्र निर्माण समितिमा रहेर काम गरेका पौडेलले थापाको नेतृत्वमा अघि बढाइएको ‘प्रोजेक्ट गभर्नमेन्ट’ को संयोजनसमेत गरेका थिए। यसका साथै उनी विभिन्न संसदीय समिति र सरकारको नीति तथा कानुन तर्जुमा कार्यदलमा विज्ञका रूपमा कार्यरत छन्।
जनस्वास्थ्य ऐनको प्रारम्भिक मस्यौदा निर्माणदेखि स्वास्थ्य बीमा, एकीकृत स्वास्थ्य पूर्वाधार, विद्यालय नर्सिङ कार्यक्रम र स्वास्थ्य अनुसन्धान रणनीतिका विषयमा उनको उल्लेखनीय योगदान छ।
विचार, इमान्दारिता र निष्ठाको राजनीतिमा विश्वास राख्ने पौडेल नेपाली कांग्रेसमा रामचन्द्र पौडेल र पूर्णबहादुर खड्काले नीति प्रतिष्ठानको नेतृत्व गर्दा प्रतिष्ठानको सदस्य थिए। हाल उनी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रमुख राजनीतिक सल्लाहकार तथा १५औँ महाधिवेशन केन्द्रीय निर्देशन समिति र विधान मस्यौदा समितिको सदस्य-सचिवका रूपमा क्रियाशील छन्।