चिल्ड्रेन लाइफ कपको फाइनलमा आदर्श विद्यामन्दिर र अमर आदर्श

  • माघ ११, २०८२

बागलुङ  - बागलुङमा संचालित चौथो संस्करणको ‘चिल्ड्रेन लाइफ कप’ फुटबल प्रतियोगितामा आदर्श विद्यामन्दिर  र अमर आदर्श आवासिय मावि  फाइनलमा प्रवेश गरेका छन । आइतबार सम्पन्न सेमीफाइनल खेल जित्दै   र आदर्श र अमर फाइनलको यात्रा पक्का गरेका हुन् । सदरमुकाम बागलुङ बजारस्थित बाङेचौर खेल मैदानमा जारी प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा न्यु ओयसिस एकेडेमीलाई ०–२ गोलले पराजित गर्दै अमर आदर्शले फाइनलमा प्रवेश गरेको हो । ओयसिसमाथि हाबी बनेको अमर आदर्शको जितका लागि करन नेपालीले पहिलो हाफको ३२ औं मिनेट र प्रदिप परियारले खेलको ६८ औं मिनेटमा गोल गरे ।

यस्तै आइतबारै भएको दोस्रो सेमीफाइनल खेलमा बलियो प्रतिद्वन्दी आयोजक चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुल ‘निलो’लाई ट्राइबेकरमा पराजित गर्दै आदर्श विद्यामन्दिरले फाइनलको यात्रा तय गरेको छ । खेलको निर्धारित समय बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

ट्राइबेकरमा चिल्ड्रेनका कप्तान वरदान थापा र आयुस पौडेल गोल गर्न असफल भए । थापा र पौडलको प्रहार आदर्श विद्यामन्दिरका गोलरक्षकले निष्तेज पारेका थिए । आदर्शको जितका लागि कप्तान सुझाव बानियाँ, एन्जल घर्ति, अमन थापा र साजन विकले गोल गर्दा चिल्ड्रेनका लागि रिडिस क्षेत्री, सुलभ रोका र सक्षम श्रेष्ठले गोल गरे ।

फाइनल खेल भोलि सोमबार दिउँसो १ बजे हुने आयोजक चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले जनाएको छ । प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ र द्वितिय हुनेले ३३ हजार ३ सय ३३ रुपियाँ नगद पुरस्कार, ट्रफी र मेडल पाउने प्राप्त गर्ने खेलका संयोजक जीवन रोका क्षेत्रीले जानकारी दिए । 

रोकाका अनुसार, खेलमा सेमीफाइनल यात्रा गर्नेले १० हजार रुपियाँका दरले यातायात खर्च पनि पाउने छन् । खेलका विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई सम्मान गरिने छ । फाईनल खेलमा अखिल नेपाल फुटबल संघको केन्द्रीय उपाध्यक्ष विशेष उपस्थित हुनेछ।

 
 
 

प्रतिक्रिया