दुर्गम गाउँमा ‘बर्थिङ सेन्टर’ संचालन

  • ब‌ैशाख १३, २०८०

हरि चालिसे एबिसी - गलकोट । दुर्गम गाउँ पाण्डवखानीको रमुवा केही वर्ष पहिले न यहाँ न सडक पुगेको थियो न स्वास्थ्य सेवाका लागि कुनै स्वास्थ्य संस्था नै नजिक थियो । स्वास्थ्य सेवा लिनका लागि घण्टौं हिँडेर पाण्डवखानी पुग्नुपर्ने बाध्यता थियो ।  ४ वर्ष पहिले गलकोट नगरपालिका र स्थानियको पहलमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर स्वास्थ्य सेवा प्रदान गर्न लागे सँगै यहाँका जनतालाई सहज भएको छ । अहिले गाउँमै सडक पनि पुगेको छ स्वास्थ्य र शिक्षामा पनि सहज भएको छ । दुर्गम गाउँका जनताको स्वास्थ्य सेवालाई मध्यनजर गरि स्थापना गरिएको शहरी स्वास्थ्य केन्द्रबाट सुरक्षित प्रसुति सेवा (बर्थिङ सेन्टर) पनि संचालन गरिएको छ ।  जिल्लाको गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीको रमुवामा रहेको स्वास्थ्य संस्थामा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे प्रसुति गृहको उद्घाटन गरेका छन । औपचारीक रुपमा सेवा संचालन भएको जानकारी गराउँदै नगरप्रमुख गैरेले पहिले सिटामोल लिन समेत घण्टौं हिँडेर र महंगो मूल्य तिरेर पाण्डवखानी तथा हटिया बजार जानु पर्ने बाध्यता हटेको बताए । उनले बर्थिङ सेन्टर स्थापना सँगै यस क्षेत्रका गर्भवती र सुत्केरी महिलालाई सहज हुने बताए । गाउँमै बर्थिङ सेन्टर छ भनेपछि गर्भवती महिलालाई पनि ढुक्क हुन्छ । समय समयमा स्वास्थ्य जाँच गर्न पनि सहज हुन्छ, नगरप्रमुख गैरेले भने आफ्नै गाउँमा सेवा पाउँदा यहाँका जनता दंग छन । हामीले भविश्यमा अन्य सेवा पनि थप्दै जानेछौं ।’ नगरप्रमुख गैरेले रमुवा भुगोलबाट टाढा रहेपनि नगरपालिकाबाट सेवा सुविधा प्रवाह गर्ने क्रममा सदैव उच्च प्राथमिकतामा रहेको र भुगोलकै कारण संवैधानिक अधिकारबाट आम नागरिक वञ्चित हुनु हुँदैंन भन्ने मान्यता अनुसार यहाँ प्रसुति गृहको सञ्चालन गरिएको बताए । 
दुर्गम ठाउँमा प्रसुति गृह स्थापना भई स्वास्थ्य सुविधा उपलव्ध हुने कुराले यहाँका जनतामा खुशि र उत्साह थपिएको निवर्तमान वडा अध्यक्ष तिलक घर्तीले बताउँछन । बर्थिक सेन्टर स्थापना भए सँगै गर्भवती महिलाले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा समयमै थाहा पाउने गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलको भनाई छ । अझै पनि गर्भवस्थामा नियमित जाँच गर्नुपर्ने र स्वास्थ्य संस्थामा नै सुरक्षित सुत्केरी सेवा लिनुपर्ने बारेमा गाउँका महिलालाई कमै थाहा छ  डा. पौडेलले भने, गाउँमै बर्थिङ सेन्टर भए पछि समय समयमा जाँच भेट गर्नका लागि सहज हुन्छ । गर्भवती महिलालाई ढुक्क सँग प्रसुति गृहमा सुत्केरी हुन सक्ने राम्रो अवसर प्राप्त भएको छ । यसमा केही जटिलता आएमा अस्पतालमा रेफर आउनुभयो भने हामी हेछौं ।’ उनले घरमै सुत्केरी हुने अवस्थालाई शून्य बनाउनु पर्ने कुरामा जोड दिएका थिए । 
प्रसुति गृहका लागि आवश्यक उपकरण विवाईसी बागलुङले सहयोग गरेको छ । दुर्गम गाउँका हरेक स्वास्थ्य संस्थालाई संस्थाको नियमित सहयोग गर्दै आएको संस्थाका अध्यक्ष मणिभद्र शर्माले बताए । 
२०७५ सालमा गलकोट नगरपालिकाको सहयोग र स्थानीयको श्रमदानमा भवन निर्माण गरि स्वास्थ्य सेवा प्रवाह हुँदै आएको यस शहरी स्वास्थ्य केन्द्रमा १ अ.हे.ब. र १ अ.न.मी. को व्यवस्थापन नगरपालिकाले गरेको र हालसम्म नगरपालिकामा ९ वटा प्रसुति गृह सञ्चालन गरेको सामाजिक विकास समितिका संयोजक हिम ब. भण्डारी हेमन्तले जानकारी दिए । 
 

प्रतिक्रिया